विमल खड्काकाठमाडौं । बालाजु, नेपालटारका एक व्यक्तिको प्रहरी हिरासतमा शंकास्पद मृत्यु भएको छ । मृतकका आफन्तले प्रहरीको कुटाइबाट मृत्यु भएको बताएका छन् भने प्रहरीले अस्वीकार गरेको छ ।
संखुवासभा घर भई नेपालटार बस्ने ५२ वर्षीय रविन्द्रकुमार ढुंगानाको सोमबार दिउँसो १२ बजे वीर अस्पतालमा मृत्यु भएको आफन्तले बताए । आइतबार बिहान घरमै बसिरहेका बेला विनाजानकारी प्रहरीले ढुंगानालाई पक्रेको थियो ।‘आर्थिक कारोबारको विषय छ भन्दै श्रीमानलार्ई २-३ जनाको समूहले पक्राउ गरी लछारपछार गर्दै प्रहरी पोष्ट बालाजुमा लगेका थिए,’ पत्नी अन्नपूर्ण थापाले भनिन्, ‘कात्तिक १८ गते बिहान १० बजे घरबाट लगियो हामीलाई खबर पनि गरिएन किन लगेको भन्ने र साँझ घर आउनुहोला भन्ने लागेको थियो । तर एक्कासी अर्को दिन बिहान ८ बजे तिम्रो श्रीमानलाई भेट्न वीर अस्पताल आऊ भन्दै प्रहरीको फोन आयो ।’
असई वीरेन्द्र कार्की बताउने प्रहरीले ढुंगानासँगै घरको नक्सा र लालपूर्जा समेत लगेर गएका अन्नपूर्णले बताइन् । ‘बिनाकारण श्रीमानको हत्या प्रहरीले ग¥यो,’ अन्नपूर्णले भनिन्, ‘श्रीमानलाई मरणासन्न हुने गरी कुटेर मारिएपछि अस्पतालको इमर्जेन्सी वार्डमा राखेर हामीलाई खबर गरियो ।’
मृतकका दाजु शेरबहादुरले जनतासमाचारसँग भने, ‘भाइलाई बिनाकारण समातेर प्रहरीले हत्या ग¥यो, हामीले मानवअधिकार आयोगमा उजुरी दिएका छौँ ।’
ढुंगाना रोगी थिएः एसएसपी लामा
काठमाडौं प्रहरी पसिर प्रमुख एसएसपी बसन्त लामाले रविन्द्रकुमार ढुंगानाको शरीरमा रोग देखिएकाले मृत्यु भएको बताए । असईसँग ढुंगानाले गाडी किन्छु भन्दै ५ लाख रुपैयाँ ऋण लिएको र चेक बाउन्स भपछि बैंकिङ कसुर देखिएकाले बालाजु प्रहरीले आइतबार दिउँसो ४ः३० पक्राउ गरेको लामाले स्वीकारे ।
‘बालाजुबाट टेकु ल्याइएयो र प्रकिया पूरा गरेर हिरासतमा राखियो,’ लामाले भने, ‘त्यो रात हिरासतमा राखियो अर्को बिहान ६ः३० बजे उनको स्वास्थ्यमा समस्या देखियो र ७ः३० बजे वीर अस्पताल पठाइयो । उपचारमा संलग्न डाक्टरहरुले छारेरोग देखिएको र उपचार भएको तर फेरि दिउँसो उही समस्या देखिएर अस्पताल लैजाँदा मृत्यु भयो ।’