सिरहा । वैदेशिक रोजगारीमा रहेका पतिले दोस्रो विवाह गरेपछि एक महिलाको बिचल्ली भएको छ । मलेशियामा रोजगारीमा रहेका कर्जन्हा नगरपालिका बडा नम्बर ११ का किसुनलाल महतोले उही दोस्रो विवाह गरेका हुन् । १५ बर्षदेखि मलेसियामा रहेका ३८ वर्षीय महतोले इन्डोनेसियाकी युवतीसँग विवाह गरेपछि उनकी पहिलो पत्नी ३५ बर्षीय अरहुलिया महतो समस्यामा परेकी छन् ।
किसुनलाल र अरहुलिया १७ बर्षअघि वैवाहिक बन्धनमा बाँधिएका थिए । विवाह भएको २ नबित्दै किसुनलाल धन कमाउन भनेर मलेशिया गए । अरहुलिया पतिले धन कमाएर आउने आशमा बसिन् । पति र धनको पर्खाइमा १ वर्ष, २ वर्ष हुँदै १५ औ वसन्त पार भयो, तर किसुनलाल घर फर्केनन् ।
अरहुलियाले त्यसको कारण अहिले बल्ल थाहा पाइन्, उनको पतिले १५ वर्षअघि नै मलेशिया त अर्कै सँगम विहे गरिसकेका रहेछन् । पतिले पहिले नै दोस्रो विवाह गरेको खबर सुनेपछि अरहुलिया अहिले छाँगोबाट खसे झै भएकी छन् ।
‘बिवाहको २ वर्षपछि उहाँ मलेसिया जानुभयो, गएको २/३ वर्षसम्म केहि पैसा पनि पठाउनुभयो’ गहभरी आँशु पार्दै उनले बिलौना सुनाइन्, ‘त्यसपछि न पैसा आयो न त फोन नै । उहाँले त उतै अर्को विवाह गर्नुभएछ ।’ विवाहसँगै हामीले सँगै जिउने, सँगै मर्ने कसम खाएका थियौ तर अहिले...' उनी निशब्द भइन ।
अरहुलियाको विवाह दर्ता समेत भएको छैन । सासु ससुराको निधन भईसकेको छ । विवाह दर्ता नभएको र सासु ससुराको निधन भएको कारण उनले नागरिकता बनाउन सकेकी छैनन् । नागरिकता नहुँदा अंश समेत लिन पाएकी छैनन् । पैतृक सम्पति सबै किसुनलालका दाजुभाईले लिएका छन् । पतिले विदेशमा अर्को विवाह गरेर बिचल्लीमा पारेपछि अरहुलिय अहिले माइतीकै सहारामा जीवन गुजार्दै आएकी छन् । यसबारे जिल्ला प्रहरी कार्यालयको महिला सेलमा निवेदन दिदाँ पनि सुनुवाई नभएको उनको गुनासो छ ।
अरहुलिया समस्यामा जेलिँदै गएपछि अहिले स्थानीय सरोज रायसहितका केही व्यक्ति समाधानको लागि जुटेका छन् । अरहुलियाको नागरिकताको लागि आफुले पहल सुरु गरिसकेको रायले बताए । अरहुलियालाई वडाअध्यक्ष कपिल यादवले नागरिकता लागि सिफारिस दिन नमानेको तर यस बिषयमा कर्जन्हाका मेयर गंगा पासवास समक्ष कुरा भइसकेको जानकारी गराए । रायका अनुसार मेयर पासवानले भने नागरिकताको लागि सहयोग गर्ने बताएका छन् ।