बालकृष्ण सुवेदीबागलुङ । बागलुङको ताराखोलामा उत्पादित नेपाली कागजले देश विदेशमा चर्चा कमाउँन थालेपछि स्थानीय उद्यमीहरु व्यवसायीक बन्न थालेका छन् । स्थानीय जंगलमा पाइने बरुवाको लोत्ताबाट निर्माण गरिएको नेपाली कागजको माग बढ्न थालेपछि स्थानीय उद्यमीहरु व्यवसायीक रुपमा अगाडि बढेका हुन् ।
अड्डा अदालत लगायतका सरकारी कार्यालयहरुमा हुने लिखतहरु तयार गर्नका लागि बढी प्रयोग गरिने नेपाली कागजको प्रयोग आजभोली अन्य प्रयोजनका लागि समेत हुन थालेपछि ताराखोलावासी उद्यमीहरु व्यवसायीक रुपमा यसको उत्पादनमा लागेको उद्यमीहरु बताउँछन् । उचित प्रशोधनको अभावमा जंगलमा खेर गइरहेको बरुवा संकलन तथा प्रशोधन गरी अड्डा अदालतमा प्रयोग गरिने कागज, प्रिन्टका लागि प्रयोग गरिने कागज तथा विभिन्न डिजाइनका डायरीहरु निर्माणका लागि समूहनै बनाएर लागेका छन् ।
आफ्नो गाउँ नजिकैको जंगलमा पाइने बरुवाका लोक्ताहरु कच्चा पदार्थकोरुपमा बाहिर लगेर नेपाली कागज उत्पादन गरिरहेको थाहा पाएपछि आफूहरुले समूह बनाएर यहाँको उत्पादन यही प्रयोग गर्ने योजना सहित अगाडि बढेको ताराखोला गाउँपालिका वडा नं. ५ का उद्यमी हर्कबहादुर घर्तीले बताउनुभयो । घर्तीसँगै प्रेमबहादुर रोका, केशव घर्ती, खिमबहादुर घर्ती, तिलबहादुर रोका, तुलसी घर्ती लगायतका उद्यमीले समूह बनाएर नेपाली कागज उत्पादन तथा बजारीकरणको काम गरिरहेकाछन् ।
यस्तै सोही ठाउँमा खिमलाल कँडेल नेतृत्वमा अर्को समूहले पनि नेपाली कागज उत्पादन तथा बजारीकरणको काम गरिरहेको छ । नेपाली कागजको प्रवद्र्धनका लागि ताराखोला गाउँपालिका तथा बागलुङ उद्योग बाणिज्य संघले आधुनिक प्रकारका मेसिनहरु सहयोग गरेपछि उत्पादनमा सहजता आएको स्थानीय प्रेमबहादुर रोकाले बताउनुभयो ।
बागलुङको ताराखोलामा दुई दशकदेखि घरेलु प्रविधीबाट ब्यक्तिगत रुपमा हाते कागज उत्पादन हुदै आएकोमा दुई वर्ष यता विभिन्न समूह गठन गरेर नेपाली कागज उत्पादन गरिरहेको छ । केहि समय अघि भक्तपुर हस्तकला केन्द्रले गाउँमै आएर कागज उत्पादन सम्बन्धी तालिम दिएको थियो । कागज बनाउने परम्परागत शैलीलाई आधुनिकरण गरेसँगै बजार विस्तार भएको र काजगबाट उत्पादित विभिन्न सामानहरु उत्पादन भएको कंडेलले बताउनुभयो । परम्परागत शैलीबाट जंगलबाट लोक्ता लिएर मुङ्ग्रोले थिचेर उत्पादन हुदै आएकोमा अहिले आधुनिक प्रविधि अपनाईएको हो । पुरानो प्रविधिबाट दैनिक एक सय थान कागज उत्पादन हुने गरेकोमा अहिले आधुनिक उपकरणको प्रयोग गरेसंगै चार सय थान कागज उत्पादन हुन थालेको बताईएको छ ।
जंगलमा गएर लोक्ता संकलन गरी यसलाई प्रशोधन गरी कागज निर्माण गरिन्छ । गाउँमा उत्पादन भएको कागज प्रतिग्राम एक रुपैयाँमा बिक्री हुँदै आएको छ । पहिले सरकारी कामकाजमा नेपाली कागजको प्रयोग हुँदा परम्परागत रुपमा उत्पादन भएका कागजहरुको बिक्री राम्रै हुने गरेपनि अहिले आयातित कागजको प्रयोगले सरकारी कामकाजमा आप्नो कागजले उचित स्थान नपाउँने अवस्था आएकाले आयातित कागजसँग प्रतिस्पर्धा गर्नेगरी आधुनिक प्रविधिको प्रयोग गर्न थालिएको उद्यमीहरु बताउँछन् । ताराखोलाका प्राय जंगलमा बरुवा प्रयाप्त मात्रामा पाइने भएकाले यसको प्रशोधन गरी नेपाली कागज उत्पादनमा बृद्धि गर्नका लागि ताराखोला गाउँपालिकाले विस्तृत अध्ययन सुरु गरेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । लामो समयसम्म राख्दा समेत किराले नखाने, नफाट्ने भएकाले नेपाली कागजको माग अत्याधिक देखिएकाले यहाँका उद्यमीहरुलाई अझ व्यवसायीक बनाउँन तथा उत्पादिन कागजले सहज बजार पाउँने वातावरण बनाउँनका लागि गाउँपालिकाका तर्फबाट उद्यमीहरुलाई मेसिनरी सामाग्री सहयोग, तालिम तथा अन्य क्षेत्रमा लगानी गर्नेगरी योजना बनाइएको घर्तीले बताउनुभयो ।