लोकेन्द्र प्रसाद जोशीदार्चुला । महाकाली नगरपालिका–७ धापकी १२ वर्षीया ममता खत्री अज्ञात समूहको अपहरण प्रयासमा परिन् । कात्तिक २१ गते साँझ भान्छामा चिया पकाउन लागेकी खत्रीलाइ भान्साबाटै अपहरणकारीले उठाएर लगे ।
बेलुकीको साढे छ बजे ७५ वर्षीया धरणी विष्ट (आमा) दूध दुहुन गोठमा पसेको मौका छोपेर घरभित्र एक्लै रहेकी बालिकाको मुख छोपेर अपहरणकारीले उठाए । गोठमा छिरेका आमा चिच्याइन् । तर अपहरणकारीले छाडेनन् । नजिकै प्रहरीमा खबर भयो । प्रहरी तत्काल घरमा आए । जिल्लाबाट प्रहरी नायव उपरीक्षक नवराज अधिकारी स्वयम् घटनास्थल पुगे । स्थानीयको सहयोगमा खोजी थालियो ।
अपहरण शैलीमा हराएकी खत्री घरनजिकै बेहोस भेटिइन् । बालिका बोल्ने अवस्था थिएन, एकातिर चप्पल अर्कोतिर मोबाइल फालिएको थियो । स्थानीयको सहयोगमा बालिकालाई जिल्ला अस्पतालमा उपचार भयो । अहिले बालिका बोल्न सक्छिन् ।
अपहरणमा परेकी खत्रीका अनुसार आफू चिया पकाउन गएका बेला एक जना अपरिचित मानिस भित्र आएर सिधै कपडाले पुरै टाउकोसहित मुख बन्द गरे । दुई जना ढोकामा उभिएका थिए । को हुन् भनेर चिन्न सकिनन् । कालो पोशाक थियो । चिच्याउन सकिनन् । डिएसपी नवराज अधिकारी बालिका बेहोस् भएपछि अपहरणकारीले छाडेको हुन सक्ने बताउनु हुन्छ । अपहरणमा को थिए भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन ।
जिल्ला सदरमुकाम खलंगामै छ महिनाअघि घटना भएको थियो । त्यो बेला बालक आफैँ अपहरणकारीबाट छुटेका थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हालसम्म २१ बालबालिका हराएकोमा १५ फेला परेका छन् । छ जना अझै बेपत्ता छन् ।
इन्सेक दार्चुलाले महाकाली नगरपालिका ७ धापका १२ वर्षीया ममता खत्रीलाई सहयोग हस्तान्तरण गरेको छ । बुवाको मृत्युपछि अर्काको घरमा धर्मपुत्री बसेकी खत्रीलाई इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरे ।
दुःखैदुःखको कथा
मालिकार्जुन मावि धापमा कक्षा ६ मा अध्ययनरत खत्रीका बुवा गजी खत्रीको ११ वर्षअघि गाडी दुर्घटनामा मृत्यु भएको थियो । आमा देवकी खत्री मानसिक रुपमा अस्वस्थ छन् ।
बुवाको मृत्युपछि वेसहारा बनेकी खत्रीलाई ७५ वर्षीया धरणी विष्टले धर्मपुत्रीका रुपमा पालनपोषण गर्दै आएकी छन् । ‘आमा मानसिक रुपमा ठीक छैनन् । बुवाको मृत्यु भयो, तीन छोराछोरी सडकमै बेसहारा भएपछि दुई छोरी मैले घरमा राखेको छु,’ विष्टले भन्नुभयो, ‘जेठी छोरी आनन्दी खत्रीको विवाह गराइदिएँ । कान्छी छोरीलाई विद्यालय पठाएको छु ।’ खत्रीका जेठा दाई जयराज खत्रीलाई धापका पूर्व शिक्षक जयराज विष्टले राखेका छन् । खत्री पनि मानसिक असन्तुलनमा छन् ।