प्रमोदकुमार शाह जनकपुर । धनुषामा पुनः एक महिलामाथि बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ । सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुर निवासी ३७ वर्षीया जुलेखा खातुनले बोक्सीको आरोपमा आफुमाथि कुटपिट गरी क्रुर अमानविय व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटना बाहिरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित खातुनले आफूमाथि ६ जना स्थानीयले बोक्सीको आरोप लगाउँदै निर्मम रुपमा कुटपिट गरेको भन्दै जाहेरी दिएकी छन् । स्थानीय रहिमन कवारीको श्रीमती खैतुन खातुन,जुमरात राईनको श्रीमती अजिमा खातुन, ओकराहाबाला भन्ने जुमरत राईन, मो.हविव राईन, मो.समिम राईन र अैलुन राईनलगायतका व्यक्तिहरुले बोक्सी भन्दै आफूमाथि अनाहकमा कुटपिट गरेको पिडित खातुनले बताइन् । ‘अनाहकमा म माथि कुटपिट भयो, मलाई लछारपछार पारियो, कपाल समातेर सार्वजनिक रुपमै बदनाम गरियो,’– खातुनले रुँदै भनिन् ‘ म एउटी महिलामाथि पर पुरुषले लछार पछार गरे, कुटपिट गरे, मेरो सामाजिक अपमान गरियो र मैले न्याय पाउनुपर्छ ।’
उनले आफुले स्थानीय नेताहरुलाई गुहार माग्दा समेत उनीहरुले कुनै सुनुवाई नगरेको दुःखेसो पोखिन । कार्तिक १३ गते मंगलवार दिउँसो आफ्नै घरमा खाना खाएर आराम गरिरहेको समयमा घरमै प्रवेश गरी विभिन्न प्रकारका गाली वेईज्जत दिंदै आफुलाई बोक्सी भन्दै निर्घात कुटपिट गरेको भन्दै पिडितले जाहेरी दिएकी छन् । पीडित खातुनले विपक्षीहरुको डरले आफुलाई गाउँलेहरुले समेत साथ दिन छोडेको र ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी सहायक निरिक्षकले समेत उल्टै आफुलाई नै धम्काएर पठाएको बताइन् । पीडितकी सासु गुब्दी खातुन र ससुरा इस्लाम कवारीले उनीहरुले आफ्नो बुहारीलाई अनाहकमा कुटपिट गरेको र गाउँमा बोलाईएको पञ्चायतमा समेत उल्टै आफुहरुलाई नै गलत साबित गर्ने प्रपञ्च रचिएको दुःखेसो सुनाए ।
पीडित महिलाका पति वैदेशिक रोजगारको क्रममा साउदीमा कार्यरत छन । धनुषामा विगत केहिदिनदेखि महिला हिंसाको घटनामा ह्वातै बृद्धि भएको देखिएको छ । यसअघि गत एकसाता पहिले मात्रै धनुषाको धनौजी गाउँपालिकामा समेत एक दलित महिलालाई गाउँका कथित पञ्चहरुले जर्वजस्ती बोक्सी रहेको स्वीकार गर्न लगाई सार्वजनिक रुपमा वेईज्जत गरेको थियो भने पिडित महिलालाई १ लाखको जरिवानाको बोझ पनि लादिएको थियो । धनुषामा यतिका महिला हिंसाका घटनाहरुमा बृद्धि हुँदापनि प्रशासन मौन रहेको देखिएको छ ।