काठमाडौं । चाम्स ईन्टरटेन्मेन्ट ले निर्माण गर्न लागेको चलचित्र ‘बिर बिक्रम २’बाट नायक आशा श्रेष्ठ बाहिरिएका छन् । निर्माता तथा निर्देशक मिलन चाम्सले प्रेस विज्ञप्ती जारी गर्दै चलचित्रबाट नायक आकाश श्रेष्ठ बाहिरिएको बताएका हुन् ।
जारी प्रेस बिज्ञप्तीमा आकाश श्रेष्ठका हजुरबुवाको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको र थप उपचारको लागी दिल्ली लानुपर्ने भएकाले नायक आकाश श्रेष्ठले चलचित्र बिर बिक्रम २ लाई समय दिन नसकेको उल्लेख गरिएको छ । नायक बाहिरिएसँगै चलचित्रको छायांकन मिति समेत फेरबदल भएको छ । यसअघि कार्तिक २६ गते छायांकनमा जाने भनिएको चलचित्र अब मंसिर ३ गतेबाट छायांकनमा जाने भएको छ ।
चलचित्रबाट आकाश बाहिरिएसँगै अर्का चकलेटी नायक पल शाहले ‘बिर बिक्रम २’मा अभिनय गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । बिज्ञेप्तीमा आकाशको हजुरबुवाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी चलचित्रमा आकाशसँग काम गर्न पाइयोस् भन्ने कामना समेत गरिएको छ ।
चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आइको प्रोडक्सनमा निर्माण हुने चलचित्रमा पलको साथमा बर्षा शिवकोटी, नजिर हुसेन, बुद्दि तामाङ, विनिषा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदी, मनोज केसी, बालकलाकार मनिष लिम्बु र चौरी गाईको पनि अभिनय हुनेछ ।
चलचित्रमा प्रदीप भारद्वाजको कथा र लेखन छ भने रंजित गजमेर, राजनराज सिवाकोटी र ताराप्रकाश लिम्बुको संगीत छ । सुदिप बरालको सिनेम्याटोग्राफी रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन रहनेछ ।