सुखिलाल चौधरी उदयपुर । रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एलिजा खड्काको बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले सोमबार पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा गएको टोलीले स्थानीय पाँच जना युवालाई नियन्त्रणमा लिएको हो ।
स्थानीयबासीले नै बालिकाको हत्यामा यी व्यक्तिहरुको हात हुनसक्ने अनुमान गरेकाले नियन्त्रणमा लिइएको उदयपुरका एसपी चन्द्रदेव राईले बताउनुभयो । ‘शंकास्पद पाँच जनालाई नियन्त्रणमा लिई तालिम प्राप्त कुकुरसहित टोली फर्कदै छ,’ एसपी राईले भन्नुभयो, ‘शवको पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ ।’ पक्राउ परेका व्यक्तिको नाम गोप्य राखेर अनुसन्धान अघि बढाएको एसपी राईको जानकारी दिनुभयो ।
एसपी राईले शवको पोष्टमार्टमबाट मात्र बलात्कारपछि हत्या हो वा अन्य भन्ने खुल्ने बताउनुभयो । ‘डिएसपीको कमाण्डमा गएको टोलीले प्रारम्भिक अध्ययन गरेको छ, तर यसै हो भन्ने अवस्था छैन, पोष्टमार्टम र पक्राउ परेकाको व्यक्तिको बयानपछि घटनाको एकिन हुन्छ’, उहाँले भन्नुभयो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
अनुसन्धानका लागि लगिएको तालिम प्राप्त कुकुरले शवभन्दा केही पर खोल्सामा घटना भएको हुन सक्ने अनुमान गरेको छ । त्यही ठाउँमा बालिकाको चप्पलसमेत फेला परेको वडाध्यक्ष दुर्गाराज खड्काले बताउनुभयो । खोल्सामा बलात्कार गरेर हत्यापछि शव सडक नजिक ल्याएर फालेको हुन सक्ने अनुमान छ । उहाँले सबै प्रकृति हेर्दा बलात्कार गरेपछि पहिचान खुल्ने त्रासले समूहगत रुपमा बलात्कार गरी हत्या गरेको बताउनुभयो । प्रहरीले भने समुहगत नभई एकै व्यक्तिबाट यो घटना हुन सक्ने अनुमान गरेको छ । पक्राउ परेका युवाहरु पनि जंगलमा बाख्रा चराउन र कालिज मार्न गएका थिए । वडाध्यक्ष खड्काले मुख नेट पिनले टालिएको, मलद्वार च्यातिएको, योनीस्थल सामान्य अवस्थामा नरहेको, घाँटीमा नङ गाडिएको, अन्य ठाउँमा पनि चिथोरेको, घाँउ देखिएकाले बलात्कारपछि हत्या भएको दाबी गर्नुभयो । प्रहरीले पनि घाँटीमा निलडाम भएकाले डोरीले बाँधेको हुन सक्ने अनुमान गरेको छ ।
टोली घटनाको प्रकृति मुचुल्कासँगै केहीलाई नियन्त्रणमा लिई फर्किसकेको छ । शनिवार दिउँसो घरबाट बाख्रा चराउन हिँडेकी स्थानीय दुर्गाबहादुर खड्काकी छोरी आइतबार लाफागाउँको अमला भन्ने ठाउँमा मृत अवस्थामा फेला परेकी हुन् । साँझसम्म बालिका घर नफर्केपछि स्थानीयले खोजतलास गर्नेक्रममा आइतवार दिउँसो २ बजे बालिकाको शव फेला पारेको एसपी राईले जानकारी दिनुभयो । जनता मावि लाफागाउँको कक्षा ९ मा पढ्दै गरेकी एलिजा शनिबार दिउँसो २ बजे बाख्रा लिएर गाउँ नजिकैको खरबारीमा गएकी थिइन् । घटनास्थल सदरमुकाम गाईघाटबाट करिब ७५ किलोमिटर उत्तर विकट क्षेत्रमा पर्दछ ।