काठमाडौं । चलचित्र ‘दाल भात तरकारी’को शुभसाइत गरिएको छ । काठमाण्डौको कमलादिस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो । चलचित्रको मुहुर्त समारोहमा मुख्य कलाकार नायक पुष्पल खड्का र नायिका आँचल शर्माले चलचित्रको एक संवाद बोलेका थिए । चलचित्रले दाल भात तरकारी खानकै लागि मानिसले गर्ने संघर्षलाई हाँस्यरसमा देखाउने छ ।
मह संचारको प्रस्तुतिमा किरण केसीको निर्माणमा यो चलचित्र बन्न लागेको हो । मंसिर १ गतेबाट चलचित्रको छायांकन सुरु हुनेछ । चलचित्रलाई करिब ५० दिन लगाएर खिच्ने निर्माता किरण केसीले जानकारी दिए । चलचित्रलाई किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्न लागेका हुन् ।
चलचित्रलाई वि.सं २०७६ साल वैशाख १३ गतेबाट रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । चलचित्रमा समावेश ३ वटा गीतमा शम्भुजित बास्कोटाले संगीत भरेका छन् । ज्योतिषले दिएको साइत अनुसार आज बिहान ८ बजेर ३१ मिनेटमा चलचित्रको शुभसाइत गरिएको थियो ।
चलचित्र ‘दाल भात तरकारी’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, सन्तोष पन्त, शिवहरि पौडेल, निरुता सिंह, किरण केसी, राजाराम पौडेल, प्रियंका कार्की, बर्षा राउत, पुष्पल खड्का, आँचल शर्मा, शिशिर वाङ्देन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।