काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ भन्नेबित्तिकै अहिले दुईजना व्यक्तिको नाम सुनिन्छ । तीमध्ये एक हुन् कांग्रेसका संस्थापक नेता गणेशमान सिंह । उनीसँगै उत्तिकै चर्चामा रहेका अर्का व्यक्ति हुन्, बीबीसी नेपाली सेवाका प्रर्वप्रमुख तथा विवेकशील–साझा पार्टीका रवीन्द्र मिश्र ।यी दुई हेभीवेट उम्मेदवारबीच ३५ वर्षीय युवा अनिल शर्मा पनि नेकपा एमाले र माओवादी केन्द्रको साथ पाएपछि चुनावी दौडमा छन् । विद्यार्थी राजनीतिमै रहेका शर्मा त्यति चर्चामा छैनन् तर उनीसँग नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बलियो साथ छ । केही महिना अघि भएको अखिल क्रान्तिकारीको सम्मेलनमाख रञ्जीत तामाङसँग अध्यक्षमा पराजित शर्मा लोडसेडिङ हटाउन निर्णायक भूमिका खेलेका माओवादी नेता तथा पूर्व ऊर्जामन्त्री जनार्दन शर्माका भाइ पनि हुन् ।जनार्दन माओवादीको उद्गमथलो रुकुमबाट चुनावी प्रतिस्पर्धामा उत्रिरहँदा भाइ अनिल भने राजधानीबासीको विश्वास जित्न चुनावी मैदानमा उत्रिएका छन् । यस्तोमा उनका प्रतिस्पर्धी प्रकाशमानलाई नेवार तथा काठमाडौँका रैथानेको बलियो साथ छ भने रवीन्द्र मिश्रलाई तन्नेरी वैकल्पिक शक्ति स्थापित भएको देख्न चहानेहरुले सघाइरहेका छन् ।माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका नेता शर्मा भन्छन्, ‘विकास गर्न बिरासत र ठूलो प्रोफाइल चाहिँदैन, योजना चाहिने हो । त्यो म राम्रोसँग गर्न सक्छु, ।’उनले टिकट पाएको काठमाडौँ क्षेत्र नम्बर १ मा कांग्रेसका नेता सिंह, विवेकशील साझा पार्टीका संयोजक मिश्र, नेपाली कांग्रेस बिपीका नेता हरिबोल भट्टराई र नयाँ शक्ति पार्टीका नारायाण ढकाल पनि चुनावी मैदानमा छन् ।अनिलको नजरमा रवीन्द्रको खासै सङ्गठन छैन । ‘केही मतदाताहरु उनीप्रति आकर्षित छन्’, अनिल भन्छन्, ‘पटक–पटक यहाँबाट चुनाव जितेर पार्टी र संसदमा राज गरे पनि प्रकाशमानले यहाँ विकासको काम पटक्कै गरेका छैनन् ।’
‘विकास गर्न बिरासत र ठूलो प्रोफाइल चाहिँदैन, योजना चाहिने हो । त्यो म राम्रोसँग गर्न सक्छु’
प्रकाशमानप्रति लक्षित गर्दै शर्माले जनमतले विजयी भएकाहरु जनतामाझ जान नसकेकाले जनताको समस्या समाधान हुन नसकेको बताए । ‘जनताले चुनेर पठाएका प्रतिनिधिहरु जनताको समस्याप्रति बेखवर हुँदा मतदाताहरुमा निरासा छाएको छ’, उनी भन्छन्, ‘म युवा पनि छु, जनताको साथमा रहेर काम गर्ने प्रतिवद्धता पनि बोकेको छु ।’
युवालाई स्वदेशमै रोजागरीशर्मासँग विदेश पलायन भएका लाखौं युवालाई दीर्घकालिन योजना बनाएर रोजगारी दिने योजना पनि छ । ‘युवालाई स्वदेशमै रोजगारी दिन सक्नुपर्छ’, उनी भन्छन्, ‘रोजगारीको अवसर सिर्जना गर्ने योजना म सँग छ, अहिलेबाटै त्यसमा सक्रिय छु ।’शर्मा धेरै बोल्नेभन्दा काम गरेर जनतालाई खुसी पार्न सकिन्छ भन्नेतर्फ आफू सक्रिय रहेको बताउँछन् । यसअघि तत्कालिन ऊजामन्त्री जनार्दन शर्मासँग समन्वय गरेर आफूले काठमाडौं क्षेत्र नम्बर १ का सुकुम्वासी बस्तीका लालपुर्जा नभएका घरमा बिजुली जोडिदिएको पनि दाबी गर्छन् ।गत सोमबार सुकुम्वासी बस्ती पुगेका शर्माले बागमती र रुद्रमती किनारका स्थानीयलाई लालपुर्जाको ग्यारेन्टी र एक घर एक रोजगारीको सुनिश्चित गर्ने प्रतिबद्वता समेत जनाएका छन् ।
काठमाडौँ क्षेत्र नम्बर १ मा कुन कुन ठाउँ ? काठमाडौंको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ नम्बर वडा पर्छन् ।यो क्षेत्रमा दुई पटक कांग्रेस नेता प्रकाशमानले यसअघि ठुलो मतान्तरले जित्दै आएका छन् । स्थानीय तह निर्वाचनमा वडा नम्बर १०, ११ र २९ कांग्रेसले जितेको थियो भने एमालेले वडा नम्बर ३१ जितेको थियो ।