पुष्पराज अधिकारीहेटौंडा । ३ नम्बर प्रदेश सरकारले मदिरा नियन्त्रण गर्न आवश्यक कानून निर्माणको लागि छलफल अघि बढाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मदिराजन्य वस्तुको उत्पादन, विक्री वितरण, प्रयोय र सेवनलाई व्यवस्थिन गर्न ऐन निर्माणको लागि जिल्लातहबाट सुझाव संकलन थालेको हो । त्यसको लागि मन्त्रालयले आज हेटौंडामा मकवानपुर, चिवतवन, धादिङ, नुवाकोट र सिन्धुलीका सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा सहभागिहरुले मदिरालाई पूर्ण निषेध भन्दा पनि बिक्री बितरणलाई ब्यवस्थित बनाईनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमा बोल्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो चरणमा मदिरा बिक्रीको लागि बितरण गरिँदै आएको इजाजतमा कडाई गरिने बताउनुभयो । मदिरा नियन्त्रणलाई पूर्ण व्यवस्थित गर्न ऐन कार्यान्वयनसँगै स्थानीयहरुको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । मदिरा उत्पादन, बिक्रिवितरण र प्रयोगले समाजमा बढ्दो विकृति र विसङ्तीलाई नियन्त्रणको लागि प्रदेश सरकार कठोर बन्न समेत तयार रहेको बताउनुभयो । मदिरा उत्पादन उद्योगमा हजारौंले रोजगारी पाईरहेकाछन् र व्यवसायीहरुले राज्यलाई कर तिरेका छौं भन्ने व्यवसायीहरुलाई लक्षित गर्दै मुख्यमन्त्री पौडेलले केही रोजगारी दियौं भन्दैमा अनधिकृत रुपले उत्पादन र बिक्री गर्न छुट नरहेको बताउनुभयो । प्रदेश सरकारले मदिराजन्य वस्तुको उत्पादन, बिक्रि वितरण, प्रयोग र सेवनलाई व्यवस्थित गर्न कानुन निर्माणको चरणमा रहेको बताउनुभयो ।
आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले दुई महिना भित्र मदिरा नियन्त्रण सम्बन्धी ऐन निर्माण गरी कार्यान्वयन गरिने बताउनुभयो । सरोकारवालाहरुसँग छलफल सकेपछि ऐन निर्माण गरी मदिराको उत्पादनेखि बिक्री र सेवनमा पनि कडाई गरिने उहाँले बताउनुभयो । ३ नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा मदिराजन्य वस्तुको उत्पाद, बिक्री वितरण तथा सेवनमा नियन्त्रण गर्ने उल्लेख छ ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले मदिरा र मदिराको असर, मदिराको नकरात्मक असर, मदिरासंग सम्बन्धित विद्यमान ऐन, कानुन, राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति २०७३ जस्ता विषयहरुमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । भने मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुली र चितवनका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले आफ्ना जिल्लामा भएका मदिराजन्य विषयमा तयार पारिएको कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।