शब्द/तस्बिरः पुष्पराज अधिकारी
हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल । तर यही ठाउँ अहिले नेपालकै पवित्र धार्मिक स्थल बनेको छ । कुष्माण्ड सरोवर त्रिवेणीधाम हेटौंडाको मात्र परिचय होइन, देशकै परिचय बनिरहँदा हेटौंडाको सहिद स्मारक अवलोकन गर्न आउने ९० प्रतिशत आन्तरिक एवम् बाहय पर्यटक कुष्माण्ड धाम पनि पुग्छन् ।
साढे सात बिघा जमिनमा फैलिएको धार्मिक स्थलमा कुष्माण्ड भगवतीको मन्दिर, गणेश मन्दिर, ब्रह्मकुण्ड, विष्णुपादुका, १०८ गौमुखी धारा, कुष्माण्ड भगवतीबीचमा रहेको सरोवर, शिवालय, राधाकृष्ण मन्दिर, हवन कुण्डलगायत सुन्दर बगैँचा बनाइएका छन् । प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएपछि धार्मिक स्थलमा आवश्यक भौतिक पूर्वाधार एवम् मठमन्दिर निर्माण भइरहेको छ ।
माघे संक्रान्ति र कुष्माण्ड नवमीका दिन नुहाएर कुभिण्डो दान गर्न यहाँ भीड लाग्ने गर्दछ । मंसिर १ गते कुष्माण्ड नवमीका दिन जनकपुरदेखि काठमाडौंसमेतका हजारौँ भक्तजन आएर नुवाइधुवाइ गरी कुभिण्डो दान गरेका छन् । त्रिवेणीधामको रूपमा परिचित यो धार्मिक क्षेत्रमा दैनिक सरदर २ सय जना गौमुखी धारा नुहाउन, कुष्माण्ड सरोवरमा डुंगा चढ्न र पूजाआजसहित अवलोकन गर्न आउने गरेको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले बताउनुभयो ।
कुष्माण्ड सरोवरमा अवलोकनकर्ता एवम् भक्तजन सरोवरमा सयर गर्न र सरोवरको मध्ये भागमा रहेको कुष्माण्ड भगवतीको पूजा गर्न २ वटा डुंगा राखिएका छन् । सरोवरमा डुङ्गा सञ्चालन भएपछि यस क्षेत्रको आकर्षण झनै बढदै गएको छ ।
पौराणिक मान्यताअनुसार रत्नावती (राप्ती) कर्णावती (कर्रा) र कौशबाही (कुखरेनी) नदीको संगमस्थललाई स्कन्दपुराणमा नवदुर्गामध्येकी कुष्माण्ड भगवतीको सिद्धिक्षेत्र तथा क्रीडास्थलका रूपमा वर्णन गरिएकाले यो क्षेत्रको ऐतिहासिक धार्मिक महत्व रहेको पण्डित गोपालप्रसाद चालिसेले बताउनुभयो । २०६७ बाट धार्मिक क्षेत्र निर्माण अभियानका रुपमा थालिएको बगर अहिले धार्मिकस्थलमा परिणत हुनुका साथै पर्यटकीय स्थलका रूपमा देशभर परिचित बनेको छ ।