बिना श्रेष्ठकाठमाडौँ । नेपालकी पहिलो अभिनेत्री भुवन चन्दले चलचित्र निर्माण गर्ने भएकी छिन् । चन्द्र बिनायक फिल्मको प्रस्तुतीमा अभिनेत्री चन्दले चलचित्र “साईनो”बनाउन लागेकी हुन् । चलचित्र साईनो सामाजिक प्रेम कथामा आधारित हुने आईतबार राजधानीमा एक कार्यक्रमकाबीच जानकारी गराइएको छ ।
चलचित्रको छायाङ्कन काठमाण्डौं, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक लगायतका ठाउँमा गरिने छ । चलचित्र साईनो मंसिर ३ गतेबाट फिल्डमा जाने निर्माण समूहले जनाएको छ । चलचित्रको नाम पुरानो नामसँग मिले पनि उक्त फिल्मको सिक्वेल नभएको निर्देशक रमेश थापाले जानकारी दिए ।
चलचित्रमा अग्रज कलाकार स्वयम भुवन चन्दसँगै मदनदास श्रेष्ठ, बसुन्धरा भुसाल, चैत्यदेवीदेखि नायिका नीता ढुंगाना, मिरुना मगर र नवनायक राज कुमारको मुख्य अभिनय रहनेछ । अग्रज कलाकारको छत्रछाँयामा रहेर साईनो मा काम गर्न पाउँदा आफूलाई भाग्यमानी भएको नायिका मिरुना मगरले बताइन् ।
भारतमा नै हुर्के बढेको र उतै अभिनय सिकेर दुई वर्ष अगाडी मात्र नेपालमा आएका नायक राजकुमार यस फिल्म मार्फत नेपाली चलचित्रमा डेब्यु गर्दैछन् । यसअघि अन्य छ भाषाका चलचित्रमा काम गरिसकेकाले आफूले बोल्ने नेपाली भाषा राम्रो बाेल्न नअाए पनि अभिनयमा अप्ठयारो नपर्ने राजकुमार बताउँछन् । साथै अब आगामी दिनमा नेपालमा नै बसेर निरन्तर नेपाली चलचित्र क्षेत्रमा काम गर्ने नायक राज कुमारले बताए ।
अभिमन्यु “निरबी” को लेखन, भुवन थापा चन्दको निर्माण रहने चलचित्र “साईनो” लाई रमेश थापाले डेब्यु निर्देशन गर्दैछन् ।