बाल्यकालसाकार दाहाल ‘प्रकाश’को जन्म विसं २०३८ साल असार १७ गते (सन् १९८१ जुलाई १) बुधबार चितवनको शिवनगर, भीमसेननगरमा भएको हो । पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माता सीता दाहालको कोखबाट जन्मिएका प्रकाश परिवारको कान्छो सन्तान थिए । तीन छोरी ज्ञानु दाहाल, रेनु दाहाल र गङ्गा दाहालपछि कान्छो सन्तानका रुपमा जन्मिएका कारण साकार ‘प्रकाश’ सानै उमेरदेखि सबैका प्रिय थिए ।
हजुरबुवा मुक्तिरामको परिवार विसं २०१९ मा कास्कीको ढिकुरपोखरीको लेवाडेबाट बसाइँ सरी शिवनगर आएको थियो, जतिबेला प्रकाशका पिता प्रचण्ड जम्मा ८ वर्षका थिए । प्रचण्ड परिवारको निम्न मध्यमवर्गीय आर्थिक धरातल थियो । चितवनमा भएको अढाई बिघा जमीनमा कृषि गरेर परिवार पालिन्थ्यो ।
जतिबेला प्रकाश दाहालको जन्म भयो, त्यतिबेला पिता प्रचण्ड तात्कालीन चौथो महाधिवेशनको ‘होल्टाइमर’को रुपमा भूमिगत राजनीतिमा हेलिएका थिए । आर्थिक अवस्था दयनीय थियो । राजनीतिक र आर्थिक असुरक्षाका बीच २०३८ मा प्रकाशको जन्म भयो । बुवाको भूमिगत राजनीतिका कारण तीन छोरी र एक छोरा प्रकाशको लालनपालन र शिक्षादीक्षा आमा सीताकै जिम्मेवारीमा आयो ।
प्रकाश दाहाल सानैदेखि निर्भिक र हक्की स्वाभावका थिए । आफूलाई जे कुरा लाग्थ्यो, त्यो फ्याट्टै भन्थे, मनमा लोभ र कसैप्रति ईश्र्या बिल्कुलै थिएन । नयाँ कुरा देख्नेबित्तिकै सिक्नुपर्ने स्वभाव प्रत्येक बालकमा हुन्छ, प्रकाशमा पनि त्यो स्वाभाव थियो, तर सरदरभन्दा ज्यादा । हरेक नयाँ कुरा सिक्न उनी उत्सुक भइहाल्थे । त्यही उत्सुकताका कारण बाल्यकालमा पनि सबैका प्रिय थिए प्रकाश ।
प्रकाश जन्मेको करिब पाँच वर्षपछि प्रचण्ड परिवार चितवनकै नारायणगढको क्षेत्रपुरमा बसाई स¥यो । विसं २०४३ मा प्रकाश नारायणगढको बालकुमारी प्राथमिक विद्यालयमा भर्ना भए । उनीसँगै पढ्थिन् दिदी गङ्गा दाहाल । प्रकाशको पढाइ मध्यमस्तरको थियो । तर, स्मरण शक्ति चाहिँ बेजोड । सानोमा नयाँ कपडा लगाउनै मान्दैनथे प्रकाश । दिदी गङ्गा भन्छिन्, ‘नयाँ लुगा लगाइदियो कि निकालेर फालिहाल्थ्यो । भाइ कहिले ठूलो होला र नयाँ लुगा लगाउला भन्ने कल्पना गर्थें म ।’
सानोमा छिमेककीकृष्णकुमारी पौडेलले प्रकाशको हेरचाह गरेकी थिइन् । विसं २०२६ मा बाग्लुङबाट शिवनगर झरेको कृष्णकुमारीको परिवार नजिकका छिमेकी थिए । श्रीमान् भूमिगत राजनीतिमा भएको र तीन साना छोरी भएका कारण सीता एक्लैलाई प्रकाशको स्याहार गर्न मुस्किल पथ्र्यो । नजिक हुँदै जाँदा प्रचण्ड परिवारले आफ्नी सानिमासँग कृष्णकुमारीलाई ‘सैनी’ लगाइदिएका थिए । सानिमासँग ‘सैनी’ लगाएका कारण प्रचण्ड, सीता, प्रकाश सबैले कृष्णकुमारीलाई ‘सानीआमा’ भन्थे ।
सानिआमा (कृष्णकुमारी) भन्छिन्, ‘हामी छिमेकी थियौँ । श्रीमान् भूमिगत, घरमा चारवटा बच्चा, खेती–किसानी, मेलापात, सीतालाई धेरै दुख थियो । अनि, प्रकाशलाई सानैदेखि मैले नै हुर्काएँ । गोरो अनुहार, सानैदेखि साह्रै प्यारो, निकै ‘शोभासिलो’ थियो प्रकाश । सानोमा एकदमै बिरामी हुन्थ्यो ऊ । सीता प्रकाशलाई बोकेर भरतपुरका अस्पतालमा दौडिरहनुहुन्थ्यो । म राति सधैँ सुत्न त्यही घरमा जान्थेँ । जतिसुकै रोएको भए पनि मलाई देखेपछि फुलिन्थ्यो ऊ ।’
प्रकाशलाई सानैदेखि नयाँ–नयाँ कुरामा रुचि हुन्थ्यो । त्यो बेला शिवनगरमा बयलगाडा चल्थ्यो । प्रकाशलाई बयलगाडा औधी मन पथ्र्यो । उनको साहस देखेर गाउँभरिका बच्चा प्रकाशको वरिपरि झुम्मिन्थे । साइकल चलाउन पनि उनी औधी मन पराउँथे । साइकल भेट्यो कि लिएर कुदिहाल्थे । बाल्यकाल सम्झँदै दिदी गङ्गा भन्छिन्, ‘भाइलाई साइकल एकदमै मन पथ्र्यो । बिडम्वना, हामीसँग भाइलाई साइकल किन्दिने औकात थिएन त्यति बेला ।’
प्रकाश मिजासिलो र दयालु मात्र थिएनन्, हठी पनि थिए । उनी जे बोल्थे, सत्य बोल्थे, कुनै पनि कुरा ढाँट्न जान्दैनथे । तर, आफूले भनेको कुरा जसरी पनि चाहिन्थ्यो ।
शिक्षा–दीक्षाबालकुमारी प्राविमा कक्षा ३ सम्म पढेपछि २०४७ चैतमा अध्ययनका लागि उनी काठमाडौं आए । उनको साथमा थिइन् दिदी गङ्गा दाहाल । प्रकाशले कक्षा ४ देखि ८ सम्म पाटनको शान्ति माध्यमिक विद्यालयमा अध्ययन गरे । त्यो बेला उनी निकै शान्त स्वभावका थिए । निम्न माध्यमिक तहको अध्ययनका क्रममा पनि उनी मध्यम खालकै विद्यार्थीमा गनिन्थे । तर, उनको कौतुहलता र इच्छाशक्ति चाहिँ बेजोड । उनले एकपटक पढेको कुरा कमै बिर्सन्थे ।
विसं २०५२ फागुन १ गते नेकपा (माओवादी) ले दीर्घकालीन जनयुद्ध घोषणा गर्यो, जतिबेला प्रकाश १४ वर्षका मात्र थिए । पिता प्रचण्ड पार्टीका महामन्त्री र जनयुद्धका कमाण्डर भएका कारण प्रकाश पनि राज्यको निगरानीमा थिए । त्यो बेला अध्ययन त परकै विषय रह्यो, प्रचण्ड परिवारको सामान्य सुरक्षाको विषय पनि निकै चुनौतिपूर्ण थियो । चितवन वा काठमाडौं बस्नु जानीजानी ‘मृत्युको गौंडो’ कुर्नु हुन्थ्यो ।
यसै सन्दर्भमा उनलाई चितवनकै नेता दीपेन्द्र (दण्डपाणि न्यौपाने) ले पञ्जाव पुर्याए । राजनीतिक र सामाजिक असुरक्षाका कारण त्यतिबेला दिदीहरुको विवाह भइसकेको थियो । प्रकाश दिदी रेणुको संरक्षणमा रहेर पञ्जाबको जलन्धरमा अध्ययन गर्न थाले । त्यतिबेला बुवा प्रचण्ड र आमा सीता नेपाल र भारतका स्थानमा बसेर जनयुद्ध नेतृत्व गर्थे । मुस्किलले कहिलेकहीँ मात्र प्रकाशको बुबाआमासँग भेट हुन्थ्यो ।
विसं २०५७ सम्म आइपुग्दा प्रकाशले १० जोड २ उत्तीर्ण गरिसकेका थिए । प्रचण्डसामु २ विकल्प थिए, १. स्नातकमा भर्ना गर्ने २. आफूसँग ‘होलटाइमर’ बनाउने । प्रचण्डले दोस्रो विकल्प रोजे । १० जोड २ उत्तीर्ण गरेलगत्तै प्रकाश अध्यक्षको सचिवालयमा रहेर सहयोगीको भूमिका खेल्न थाले । २०५७–०५८ कै अवधिमा अध्यक्ष प्रचण्ड भूमिगतरुपमै रोल्पा–रुकुमका बस्तीबाट जनयुद्धको नेतृत्व गर्न थाले, जतिबेला प्रकाश प्रचण्डसँगै हुन्थे । जनमुक्ति सेनाको आधारभूत तालिम लिएका प्रकाशलाई पार्टी र जनसेनाको निर्णयअनुसार नै हेर्डक्वार्टरको सुरक्षामा खटाइएको थियो ।
पार्टीका वरिष्ठ नेताकै छोराछोरी विदेशी कलेजमा उच्च शिक्षा हासिल गरिरहेका थिए । प्रचण्डले चाहेको भए प्रकाशले त्यो सुविधा सहजै प्राप्त गर्न सक्दथे । तर, अध्यक्ष प्रचण्डले छोरालाई युद्धको मोर्चामा होमे । यसरी प्रकाशको औपचारिक शिक्षामा पूर्णविराम लाग्यो । उनी मुक्ति वा मृत्युको सङ्कल्पसहित अध्यक्षको सारथि भएर युद्धमोर्चामा होमिए ।
प्रकाश दाहालको निधनपछि आयोजित शोक वक्तव्यमा प्रचण्डले लेखेका छन्, ‘म भूमिगत राजनीतिमा थिएँ, कहिलेकाँही मात्र घर आउँथेँ, त्यो पनि राति अबेला आउँथेँ र बिहान झिसमिसेमै हिँडिहाल्थेँ । उनी निरन्तर सामाजिक, आर्थिक र मनोवैज्ञानिक असुरक्षाबीच हुर्किए । सुरक्षाका कारण एकपछि अर्का स्कुल फेर्दाफेर्दै उनको पढाई लथालिङ्ग भयो । अरु थुप्रै नेपाली युवाजस्तै कलिलैमा हतियार बोकेर क्रान्ति र नेतृत्वको रक्षाका लागि उनी पूर्णकालीन कार्यकर्ता भए । अहिले सम्झँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन्, बालकबाट सिधै युवा भए । सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बाबुका रुपमा उनीमाथि न्याय गरिनँ, गर्न सकिनँ ।’
राजनीतिक जीवनप्रकाशको राजनीतिक जीवन अध्यक्ष प्रचण्डको सचिवालयको जिम्मेवारीबाट प्रारम्भ भयो । उनले अध्यक्षको सचिवालयमा स्टाफको रुपमा काम गर्न थाले । जनयुद्धको आधार इलाका रोल्पा–रुकुमका बस्तीहरुमा प्रकाशको दैनिकी बित्न थाल्यो । उनले अध्यक्षको सूचना व्यवस्थापन, सचिवालय र सुरक्षा घेरामा रहेर काम गरे । सानैदेखि प्रकाश निर्भिक स्वाभावका थिए, साथै जिज्ञासु पनि । त्यही बेला उनले सूचना–प्रविधि र फौजी ज्ञान हासिल गरे । उनलाई सामान्य भरुवा बन्दुकदेखि एके–४७ सम्मका साना–ठूला सबै हतियार चलाउन आउँथ्यो । जनयुद्ध कालमा प्रकाशले जनमुक्ति सेनाको साथमा रहेर अध्यक्षको सुरक्षाको जिम्मेवारी लिए । उनीबाट धेरै सहयोद्धाले प्रविधि र हतियारसम्बन्धि तालीम पनि लिए ।
२०७२ मंसिर ७ गते तात्कालीन माओवादी र सात राजनीतिक दलबीच १२ बुँदे सम्झौतामा हस्ताक्षर भयो । २०६२–६३ को जनआन्दोलनपछि थप सम्वादको प्रक्रिया अघि बढ्यो । लोकतन्त्रको स्थापनापछि सरकार–माओवादी वार्ताका लागि वातावरण बन्यो । तात्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला प्रचण्डलाई बालुवाटार ल्याउन हेलिकोप्टर लिएर सिकलेस पुगे । लगत्तै प्रचण्ड काठमाडौं आए । २०६३ असार २ गते सरकार र माओवादीबीच ८ बुँदे सम्झौता भयो । त्यही राति पत्रकार सम्मेलन गरेर प्रचण्ड पहिलोपटक सार्वजनिक भए, जतिबेला प्रकाश दाहाल अध्यक्ष प्रचण्डसँगै थिए ।
खुला राजनीतिमा आएपछि पनि प्रकाश अध्यक्ष प्रचण्डकै सचिवालयमा रहेर काम गर्न थाले । २०६४ चैत २८ गते संविधान सभाको निर्वाचन सम्पन्न भयो । प्रकाश अध्यक्षकै स्टाफका रुपमा देशव्यापी चुनावी सभाहरुमा दौडिए । शान्ति काल भए पनि प्रचण्डको सुरक्षा चुनौति निकै उच्च थियो । उनी पार्टीभित्र र बाहिरबाट घेराबन्दीमा परिरहन्थे । त्यसबेला प्रकाश आफै अध्यक्षको सुरक्षामा खटिन्थे । सुरक्षामा खटिएका प्रहरीका अधिकृत र जवानहरुलाई अध्यक्षको सुरक्षा चुनौति, सम्भावित जोखिम र त्यसको नियन्त्रणका उपायबारे सुझाउँथे ।
पहिलो संविधान सभामा नेकपा (माओवादी) पहिलो पार्टी बन्यो । निर्वाचनको तीन महिनापछि २०६५ साउनमा पार्टी अध्यक्ष प्रचण्ड नेपालको ३३ औँ प्रधानमन्त्रीमा निर्वाचित भए । प्रचण्डको यो ‘सत्ता जिम्मेवारी’को पहिलो अनुभव थियो । प्रकाश पनि प्रचण्डसँगै स्वकीय सचिवको रुपमा बालुवाटार छिरे । पहिलो कार्याकाल प्रचण्डकै लागि नयाँ थियो, पार्टीभित्र र बाहिर निकै पेचिलो राजनीतिक सङ्घर्ष चल्दै थियो, त्यसमा प्रकाशले अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई नजिकबाट सघाए ।
विसं २०६६ वैशाखमा प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रकाश अध्यक्षसँगै रहेर काम गरे । राजनीतिक परिस्थिति निकै पेचिलो थियो । माओवादीले उठाएको शान्ति र संविधानको राजनीतिक कार्यदिशामा आम सहमति भए पनि यसको मोडेल र अन्तर्वस्तुबारे दलहरुबीच ठूलै विवाद थियो । त्यसै क्रममा युवा नेृता कृष्ण केसीको टोलीले शान्ति र संविधानका लागि देशव्यायी दवाव अभियान चलाउने निर्णय ग¥यो । ‘लुम्बिनी–सगरमाथा अभियान’को नामबाट सगरमाथा आरोहणको योजना बन्यो ।
विसं २०६९ सालको जेठमा कृष्ण केसी नेतृत्वको टोलीले सगरमाथाको सफल आरोहण ग¥यो । टोलीमा प्रकाश दाहाल, बीना मगर लगायत १२ युवा नेता थिए । टोलीले सगरमाथाको चुचुरोमा नेपालको झण्डा मात्र फहराएन, कम्युनिष्ट पार्टीको झण्डा र अध्यक्ष प्रचण्डको तस्बिर पनि चुचुरोमा पुर्यायो । आरोहण दलमा प्रकाशको भूमिका निकै महत्वपूर्ण थियो । उनको साहस र लक्ष्यप्रतिको दृढताले ‘आरोहण दल’लाई ठूलो प्रेरणा मिल्यो । उक्त समरमाथा आरोहण राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चा र महत्वको विषय बन्यो ।
सगरमाथा आरोहणपछि प्रकाश दाहाल केही समय अध्यक्ष प्रचण्डको सचिवालयबाट अलग रहे । त्यसबेला उनले बाहिरी भूमिकामै रहेर प्रचण्ड सचिवालयको व्यवस्थापन गरे । केही समयपछि उनी पुनः सचिवालयमा फर्किए । त्यसपछि उनी प्रचण्ड पार्टी अध्यक्ष हुँदा होस् वा प्रधानमन्त्री रहँदा, स्वकीय सचिवकै भूमिकामा निरन्तर सक्रिय रहे ।
विसं २०७३ साउन १९ गते प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भए । प्रचण्ड चुनौतिसामु उभिएका थिए, एकातिर संविधान कार्यान्वयन गर्नुपर्ने, अर्कोतिर माओवादी आन्दोलनको गौरवशाली विगतलाई स्थापित गर्नुपर्ने चुनौति उनीसामु थियो । त्यो चुनौति सामना गर्न प्रचण्डले स्वकीय सचिवका रुपमा प्रकाश रोजे । प्रचण्डको १० महिने प्रधानमन्त्री कालले नेपाली इतिहासमा केही ‘मानक’ स्थापित ग¥यो, त्यो सफलताको पर्दाभित्र थिए प्रकाश दाहाल ।
विसं २०७४ जेठमा प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिए । राजीनामापछि प्रचण्डको सम्पूर्ण ध्यान स्थानीय निर्वाचनमा केन्द्रित भयो । प्रकाश अध्यक्षको स्वकीय सचिवकै रुपमा रहेर निर्वाचनको तयारी र व्यवस्थापनमा जुटे । तीनै चरणका स्थानीय निर्वाचन सम्पन्न भएपछि देशमा नयाँ राजनीतिक परिस्थिति र समीकरण पैदा भयो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल र पार्टी एकताको प्रयत्न गरियो । विसं २०७४ असोज १७ गते पार्टी एकताको सङ्कल्पसहित एमाले–माओवादीबीच चुनावी तालमेलको घोषणा भयो ।
विवाह र परिवारजनयुद्धकालमा पश्चिम कमाण्डका इञ्चार्ज थिए नेता पोष्टबहादुर बोगटी ‘दीवाकर ।’ अत्यन्तै सरल स्वभाव, सर्वहारा आदर्शका नेता थिए उनी । प्रचण्ड र उनी जिम्मेवारीका कारण मात्र नभएर वर्गप्रतिको निष्ठा, जिम्मेवारी र आदर्शका दृष्टिले पनि एक–अर्कासँग अत्यन्तै घनिष्ठ थिए । दिल्लीमा रहँदा प्रकाश प्रचण्डको सचिवालयमा काम गर्थे, प्रभा बोगटी ‘दीवाकर’को सचिवालयमा थिइन् । यस क्रममा उनीहरुबीच सामान्य प्रेम थियो । तर, त्यति प्रगाढ होइन ।
प्रचण्ड र दीवाकरबीच सल्लाह भयो, ‘प्रकाश र प्रभाको बिहे गरिदिउँ ।’ प्रचण्ड र दीवाकरले उनीलाई बोलाएर कुरा गरे, दुवै जना बिहेका निम्ति मञ्जुर भए । पार्टी कमिटीले अनुमोदन गरेपछि विसं २०६२ फागुन १२ गते प्रकाश दाहाल र प्रभा बोगटीबीच विवाह भयो । विवाह भूमिगतरुपमा दिल्लीमै भएको थियो । विवाहपछि पनि प्रकाश र प्रभा आआफ्नो पूर्ववत् जिम्मेवारीमा क्रियाशील रहे ।
प्रकाश र प्रभाको वैवाहिक जीवन भौतिक रुपले सुखद् हुन सकेन । दाम्पात्य जीवन सहज हुन नसकेपछि उनीहरु अलग हुने आपसी समझदारीमा पुगे । नेकपा (माओवादी) ले विवाह वा सम्बन्धबिच्छेदका लागि पार्टीको स्वीकृति लिनुपर्ने मान्यता स्थापित गरेको थियो । पार्टीका हरेक नेता–कार्यकर्ता पार्टी अनुशासनलाई नै कानून ठान्थे र पार्टी पद्दतिअनुरुप नै निर्णयहरु हुन्थे । पार्टीले जे निर्णय गथ्र्यो, व्यक्तिगत जीवनमा त्यो नै अन्तिम हुन्थ्यो ।
यसै क्रममा २०६४ जेठ २२ मा प्रभा बोगटीले प्रकाशसँग सम्बन्ध बिच्छेदका लागि पार्टीमा निवेदन दिइन् । प्रभाले निवेदनमा आफूहरुबीच ‘शारीरिक सम्बन्ध नभएको र त्यसको प्रत्यक्ष असर भावनात्मक सम्बन्धमा परेको उल्लेख गर्दै सम्बन्ध बिच्छेद गरिदिन’ अनुरोध गरेकी थिइन् । त्यसै दिन प्रकाशले पनि पार्टी हेडक्वार्टरलाई सम्बोधन गर्दै ‘प्रभाको प्रस्तावमा आफूहरुबीच विवाह भएको, शारीरिक र भावनात्मक सम्बन्ध हुन नसकेको उल्लेख गर्दै आपसी समझदारीमै सम्बन्ध विच्छेद गरिदिन’ निवेदन दिएका थिए ।
प्रकाश र प्रभाबीचको समझदारी र आग्रहबमोजिम पार्टीले २०६४ जेठमा उनीहरुको औपचारिक सम्बन्ध बिच्छेद गरिदियो । सम्बन्ध बिच्छेदका बेला पनि प्रकाश र प्रभाबीच कुनै आग्रहपूर्ण कटुता थिएन । दुवैले जीवनसाथीबाट अलग भएर असल साथी बन्ने सङ्कल्प गरेका थिए । जतिञ्जेल प्रकाश जीवित रहे, त्यतिञ्जेल प्रकाश र प्रभाबीच ‘असल साथी’का रुपमा हार्दिक सम्बन्ध नै रह्यो । दुवैबीच कुराकानी भइरहन्थ्यो । उनीहरुबीच एकले अर्कालाई आदर गर्ने ‘उच्च नैतिक संस्कार’ थियो ।
सम्बन्ध बिच्छेदपछि प्रकाश निकै नै विछिप्त भए । उनले आफूलाई एक्लो महशुस गरिरहे । प्रचण्ड परिवार राजनीतिक सङ्घर्षकै भूमरिमा थियो, अध्यक्ष स्वयम्ले चाहेर पनि प्रकाशका लागि समय दिन सम्भव थिएन । तर, यता प्रकाश भने दिनहुँ एक्लोपनको महशुस गर्दै जान थाले । जब उनी आफूलाई एक्लो महसुस गर्थे, तब रक्सी सेवन गर्न थाले । उनको रक्सी सेवन कहिल्यै पनि नियमित र ‘लत’का रुपमा थिएन । त्यही पीडाको बेला प्रकाशविरुद्ध मीडियाहरु योजनावद्ध परिचालित भए । त्यसको एक मात्र उद्देश्य थियो, ‘प्रकाशको काँधमा बन्दुक राखेर प्रचण्डको व्यक्तित्व र माओवादी आन्दोलनमाथि प्रहार गर्नु ।
प्रकाशको विक्षिप्तपनबाट परिवारमा पनि ‘सकस’ प¥यो । बाबुको राजनीतिक व्यस्तता थियो । यता आमा सीता भने छोराको भविष्यबारे निकै नै चिन्तित थिइन् । उनले प्रकाशको मुहारमा खुसी फर्काउने सुत्रहरुको खोजी गर्न थालिन् । परिवारले ठान्यो, ‘विवाह गर्दिए प्रकाशको मुहारमा खुसी फर्किन्छ कि ?’ सीताले माइतीहरुसँग सल्लाह गरिन् । सबैले बिहे गर्नु नै उत्तम हुने सुझाएपछि पोखरा (हेम्जा) की सिर्जना त्रिपाठीसँग प्रकाशको विवाह भयो । यो प्रकाशको मागी विवाह थियो ।
यसअघि प्रकाशले सिर्जनालाई खास चिनेका थिएनन् । परिवारका सदस्यहरु पनि सिर्जनाको पृष्ठभूमि र पारिवारिक जीवनबारे खास जानकार थिएनन् । सीताका माइतीको सल्लाहअनुसार नै उनीहरु यो निर्णयमा पुगेका थिए । प्रकाश तत्काल विवाह गर्न इच्छुक थिएनन् । तर, परिवारको आग्रह र दबाब उनले टार्न सकेनन् । त्यो बेला प्रकाशले भनेका थिए, ‘ठीकै छ नि त, जीवनमा एकपटक ठक्कर खाइसकें, अब आफै बिहे गर्दिनँ । तपाईहरु जसलाई भन्नुहुन्छ, उसैसँग बिहे गर्छु ।’ अन्ततः परिवारको इच्छाअनुसार नै उनको सिर्जनासँग विवाह भयो ।
प्रकाश पूर्णतः तनावमुक्त थिएनन् । सिर्जनासँगको सम्बन्ध पनि चाहे जति सुमधुर हुन सकेन । उनीहरुबीच ‘खटपटपूर्ण’ सम्बन्ध रहिरह्यो । वि।सं। २०६९ साल मंसीर १ गते उनको पहिलो सन्तानको रुपमा प्रसिद्ध दाहालको जन्म भयो । सन्तान सुखपछि पनि प्रकाश–सिर्जनाको सम्बन्धमा हार्दिकता आउन सकेन । पिता प्रचण्ड र आमा सीताले सम्बन्ध सुधारका लागि गरेको निरन्तर प्रयासले पनि धेरै काम गरेन । त्यस्तै तनावपूर्ण परिस्थितिका बीच सिर्जना माइतीमा गएर बस्न थालिन् । परिवारले धेरै नै मेहेनत गरेपछि उनी काठमाडौं फर्किइन् । तर, त्यतिञ्जेलसम्म प्रकाश र सिर्जनाको सम्बन्ध बिच्छेदको चरणतिर गइसकेको थियो ।
सिर्जनासँग तिक्ततापूर्ण सम्बन्ध रहेकै परिस्थितिमा प्रकाश दाहाल सगरमाथा आरोहणका लागि निस्किए । सगरमाथा आरोहण लामो, कठिन र चुनौतिपूर्ण ‘मिसन’ थियो । सगरमाथा आरोहणकै क्रममा प्रकाश र बीना मगर नजिक भए । प्रकाश र बीना भावनात्मक रुपमा मात्र नजिक थिए, बिहे गर्ने कुनै मनस्थितिमा थिएनन् । सगरमाथा आरोहणबाट फर्केपछि उनी प्रकाश–सिर्जना सम्बन्धमा थप कटुता आयो । अन्ततः विसं २०६९ असार २१ गते प्रकाश र बीना मगर औपचारिक रुपमा दाम्पत्य जीवनमा गाँसिए ।
बीना मगरसँग बिहे गरेपछि पार्टीले प्रकाशलाई अनुशासनको कार्वाही ग¥यो । उनी जिम्मेवारीबाट मुक्त भए । यसै क्रममा पार्टी हेर्डक्वार्टर बैठकले प्रकाश र सिर्जनाको सम्बन्ध बिच्छेद गरिदिने औपचारिक निर्णय पनि ग¥यो । पार्टी नीतिका दृष्टिले सम्बन्ध बिच्छेद भए पनि प्रकाश र सिर्जनाबीच कानुनी रुपमा सम्बन्ध बिच्छेद गर्ने प्रक्रियामै रहेका बेला प्रकाशको निधन भयो ।
भनिन्छ, ‘जीवन आकस्मिकता र अनिवार्यताको द्वन्द्ववाद हो ।’ जीवनमा केही त्यस्ता संयोग आउँछन्, जुन व्यक्तिको नीजि रोजाइ हुँदैन । प्रकाशको पारिवारिक जीवन पनि झण्डै त्यस्तै रह्यो । प्रकाशको पारिवारिक ‘उतारचढाव’ उनको व्यक्तिगत रोजाइको विषय मात्र थिएन, केही संयोग र केही बाध्यताको उपज थियो । तर, यो यथार्थ प्रकाशसँग नजिकबाट सहकार्य गर्नेहरुले मात्र जान्दथे, आम मानिसका लागि यो सत्यमा पुग्न कठिन नै थियो ।
विसं २०७२ जेठ १ गते प्रकाशको दोस्रो सन्तानका रुपमा बीना मगरको कोखबाट प्रणव दाहालको जन्म भयो । त्यसपछि उनको राजनीतिक एवम् पारिवारिक जीवनमा परिपक्वता आउँदै थियो । तर, ३६ वर्षकै अल्पायुमा प्रकाशको निधन हृदयघातबाट हुन गयो ।
प्रतिभा र योगदानप्रकाश दाहाल बहुमूखी प्रतिभाका साधारण युवा थिए । उनी प्रविधिमा पोख्त थिए । सन् १९८० को दशकयता सूचना–प्रविधिमा आएको असाधारण बदलावको सैद्धान्तिक पक्ष प्रचण्डले जति बुझेका थिए, त्यसको व्यवहारिक प्रयोग र परिचालनको पक्षमा प्रकाश त्यति नै पोख्त थिए । उनी प्रविधिका सामान्य प्रयोगकर्ता मात्र भएनन्, आवश्यकताअनुसार वर्ग र आन्दोलनमा त्यसको उपयोगिताको ‘कुटनीति’ जान्दथे ।
व्यवस्थापनको पक्षमा प्रकाश निकै चतुर र पोख्त पनि थिए । अध्यक्ष प्रचण्डको सचिवालयका लागि आवश्यक पर्ने सबै विषयको व्यवस्थापन उनी आफै गर्दथे । सचिवालयमा के कुरा आवश्यक पर्दछ, त्यसको व्यवस्थापन कसरी गर्ने रु यसबारे उनी हरदम सचेत थिए । त्यसका लागि उनी टीम परिचालनको कौशल राख्दथे । उनी जुन जिम्मेवारी लिन्थे, त्यसमा आलोचना गर्ने ठाउँ नै राख्दैनथे । कामका लागि रातदिन नभन्ने उनको कार्यशैलीले कहिलेकाहीँ अनेपक्षित सफलता पनि मिल्थ्यो ।
प्रशासन र कर्मचारीतन्त्रमा प्रकाशको सम्बन्ध र प्रभाव दुवै थियो । उनी हरेकसँग सहज र हार्दिक कुराकानी गर्थे । ‘काम लिन र काम दिन’ माहिर प्रकाश देशभरिका कार्यकर्ताका समस्या सम्बोधनमा उत्तिकै गम्भिर थिए । उनी अध्यक्षसँग जिल्ला दौडाहामा जहाँ पुग्थे, शहिद र बेपत्ता परिवारसँग अन्तरक्रियाको ‘चाँजोपाँजो’ मिलाउँथे । प्रकाश भन्थे, ‘शहिदहरुकै योगदानले पार्टी यहाँ पुग्यो, जस्तोसुकै अवस्थामा नि उनीहरुलाई भुल्नु हुँदैन ।’ प्रकाश वर्ग र युवाहरुको भविष्यप्रति चिन्तित र गम्भिर दुवै थिए ।
प्रकाश सामान्य जीवनशैली मन पराउँथे । सानोमा नयाँ कपडा लगाउनै नमान्ने बानीको धेरथोर छाप युवा अवस्थामा पनि थियो । उनी ठेलाको मम खान्थे, सडकपेटीमा चियाको चुस्कीमा रमाउँथे । साधारण जीवनशैलीमा रमाउने उनको स्वाभावले लाखौं युवाहरुलाई ‘चुम्बक’झैं तानेको थियो । उनी जहाँ पुग्थे, सयौं युवाहरुको भीड लाग्थ्यो । सेल्फी खिच्नेहरुको लाइन देख्दा जोकोही मोहित हुन्थे । सामाजिक सञ्जालमा दैनिक लाखौँ युवा प्रकाशलाई पछ्याउँथे ।
जतिबेला प्रचण्ड दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भए, त्यतिबेला प्रकाशको भूमिका निकै महत्वपूर्ण रह्यो । प्रचण्ड प्रधानमन्त्री कालका मुख्य पाँच कार्यभार थिए, ‘संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, सन्तुलित छिमेक सम्बन्ध, विकास र समृद्धि एवम् जनतालाई तत्काल राहत हुने कार्यक्रम ।’ प्रधानमन्त्रीका पाँच कार्यभार कार्यान्वयनका लागि प्रकाश रातदिन खटे ।
विदेशमा रहेका नेपाली कामदारहरुको उद्दार र राहतका लागि प्रकाशको भूमिका विशेष स्मरणयोग्य रह्यो । १० महिने कार्यकालको स्मरण गर्दै प्रकाशले लेखेका छन्, ‘प्रधानमन्त्री खुकुरीको धारमा हिडिरहनुभएको थियो । संसदको तेस्रो ठूलो दल राष्ट्रसामू विद्यमान चुनौतिको भारी बोकेर अगाडि बढ्नु चानचुने पक्कै थिएन । त्यसैले हामीले सङ्कल्प गर्यौं, धेरै राम्रो गर्न नसके पनि नराम्रो किमार्थ नगरौं, हाम्रो सामथ्र्य र इमान्दारिताको भरपुर प्रयोग गरेर गुणात्मक नतिजा हासिल गरौं ।’ सङ्कल्पका साथ हामी निरन्तर प्रधानमन्त्रीको सचिवालयमा खटिरह्यौं ।’
पछिल्लो समय कुटनीति क्षेत्रमा पनि प्रकाशको दख्खल बढ्दै थियो । उनी अध्यक्ष प्रचण्डका ‘सम्पर्क सूत्र’ मात्र थिएनन्, अशल छोरा, स्वकीय सचिव र सल्लाहकार पनि थिए । आवश्यक विषयमा बाबुसँग पनि सहज बहस गर्नसक्ने उनको खुवीले गलत घेरा तोड्न प्रचण्डलाई निकै बल पुगेको थियो । प्रकाश आफ्नो बाबुप्रति अत्यन्तै समर्पित छोरा थिए । उनलाई आफ्नै जीवनभन्दा प्रचण्डको राजनीतिक भविष्य र देशकै चिन्ता लागिरहन्थ्यो । उनी भन्थे, ‘अरु कुरा मैले जान्दिनँ, बुवा सफल हुनुपर्छ, बुवा सफल भएमात्र देश सफल हुन्छ । मेरो सपना पनि यत्ति मात्र हो ।’ नजिकबाट चिन्नेहरु भन्थे, ‘प्रकाश दाहाल नभएको भए प्रचण्डको दोस्रो कार्याकाल त्यति सफल हुन्थेन ।’
स्थानीय तहको निर्वाचनपछि दलहरुको शक्ति सन्तुलनमा फेरबदल आयो । एमाले र माओवादी केन्द्रबीच नयाँ समीकरण र पार्टी एकताकै सम्भावना देखा प¥यो । समीकरण र एकताको तयारीको सूचना मात्र पनि सार्वजनिक हुँदा एकता सङ्कटमा पथ्र्यो, त्यो परिस्थितिमा प्रकाश अध्यक्षको सल्लाहकार, स्वकीय सचिव, सुरक्षाकर्मी र सवारी चालक पनि आफैँ हुन्थे । असोज १७ को चुनावी तालमेल र पार्टी एकताको सङ्कल्पका लागि जे–जति बैठकहरु आयोजना भए, त्यसको सम्पूर्ण तयारी र व्यवस्थापन प्रकाशले नै गरेका थिए । समीकरणका विरुद्ध कतिपय स्वदेशी तथा विदेशी दवाव पनि उनी आफैले सामना गर्थे, ताकि अध्यक्ष प्रचण्डले कुनै दबाब झेल्नु नपरोस् ।
प्रकाश राजनीतिक र सामाजिक जिम्मेवारीमा थिए । उनले पर्यटन र अन्य सामाजिक क्षेत्रमा आफूलाई समर्पित गरे । उनले जनमुक्ति सेना र पार्टीको जिम्मेवारी सम्हाले । प्रकाश प्रचण्डका स्वकीय सचिव मात्र थिएनन्, तात्कालीन नेकपा (माओवादी केन्द्र) का पोलिट्व्यूरो सदस्य पनि थिए । तर, उनको जिम्मेवारी र कार्यकुशलता पदभन्दा उच्च थियो । सबै नेताहरुसँग उनको सन्तुलित र हार्दिक सम्बन्ध थियो ।
उनी ‘वचनका पक्का’ थिए । अनावश्यक आश्वासन दिने उनको स्वाभाव थिएन । जे बोल्थे, त्यही गर्थे । हुन्छ भनेको काम जसरी पनि गरेरै छोड्थे । प्रचण्डकोमा आउने आधाजसो झमेला उनी आफैँले ‘फत्ते’ गर्थे । सरल स्वाभाव, सबैसँग छिटै घुलमिल गर्ने, ‘हाँसीमजाक’ गर्न रुचाउने उनको स्वाभावले लाखौँ शुभेच्छुक जन्माएको थियो ।
निधनःप्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन थियो । प्रचण्डले प्रतिनिधि सभाका लागि चितवन–३ बाट उम्मेद्वारी दिएका थिए । चितवन आफ्नै गृह जिल्ला भए पनि निर्वाचनका दृष्टिले प्रचण्डका लागि नयाँ थियो । प्रचण्डसामू एकातिर आफ्नै क्षेत्रको निर्वाचनको तयारी गर्नुपर्ने, अर्कोतिर वाम गठबन्धनका उम्मेद्वारलाई देशैभरि जिताउनुपर्ने जिम्मेवारी थियो । त्यसै क्रममा निर्वाचनको तयारीका लागि प्रकाश दाहाल काठमाडौं आए ।
वाम गठबन्धनका उम्मेद्वार केपी ओलीको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड झापामा थिए । एकाबिहानै प्रकाश दाहालको हृदयघातका कारण निधन भएको खबर आयो । यो खबर प्रचण्ड वा अरु कसैका लागि पनि पत्यार लाग्ने समाचार थिएन । तर, घटना यथार्थ थियो । प्रचण्ड हेलिकोप्टरबाट काठमाडौं आए । नर्भिक अस्पतालका चिकित्सकहरुले हृदयघातका कारण प्रकाशको निधन भएको घोषणा गरेका थिए । त्यसपछि प्रकाशको शव पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखियो । बेलुका पशुपति आर्यघाटमा प्रकाशको अन्तेष्टी गरियो ।
प्रकाशको निधनले देश स्तब्ध भयो । नर्भिक अस्पताल, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र पशुपति आर्यघाटमा लाखौं शुभेच्छुक भेला भए । ‘शवयात्रा’मा सडक पूरै जाम थियो । मानिस प्रकाशको अन्तिम श्रद्धाञ्जलिका लागि पशुपति आर्यघाटमा जम्मा भएका थिए । उनको मृत्युदेखि अन्तेष्टीसम्म उर्लिएको जनलहरले प्रकाशको सम्पूर्ण ‘जीवन’ बोल्दथ्यो ।
यसरी विसं २०७४ मंसीर ३ गते हृदयघातका कारण आफ्नै निवास लाजिम्पाटमा प्रकाशको निधन भयो, परिवारले आफ्नो एक मात्र सुयोग्य सन्तान मात्र गुमाएन, देशले सम्भावना बोकेको एक उदीयमान युवा नेता गुमायो ।
लाखौँ युवाले आफ्नो प्रिय साथी र अभिभावक गुमाए, वामपन्थी आन्दोलनले एक होनाहार युवा नेता गुमायो । समग्रमा प्रकाश दाहाल राजनेता प्रचण्डको योजना सफल पार्ने नायक थिए, जो कहिल्यै निराश भएनन्, तर मृत्युलाई भने जित्न सकेनन् । हार्दिक श्रद्धाञ्जली साकार दाहाल ‘प्रकाश’ मा।