लक्ष्मी केसीभैरहवा । कम सकसपूर्ण थिएनन् ती दिनहरु । इन्दिरा अर्याल सम्झिन्छिन्, ‘१३ वर्षकी थिएँ आमाको मृत्यु हुँदा । पाल्पाको ग्रामीण भूगोलमा जीवन बिताउनु उस्तै कठिन थियो ।’
इन्दिरा पाल्पाबाट उच्चशिक्षाका लागि रुपन्देही झरिन् । ‘साहित्यिक कार्यक्रममा जाने क्रमममा एकदिन रेडियो लुम्बिनीसम्म पुग्ने अवसर जुर्यो,’ इन्दिराले भनिन्, ‘राजनीतितिर पनि अलिअलि चासो थियो र राजनीति परिवर्तनका लागि हो भन्ने बुझाइ पनि थियो ।’ उनी क्याम्पस पढदा अनेरास्ववियुमा आवद्व भइन् । तर रेडियोमा काम गर्न थालेपछि चैँ उनको दैनिकी फेरियो । ‘असहाय, निम्छरा, गरिब, दुःखीका दुःख, वेदना सुन्ने सुनाउने काममै वर्षौँ बितेछन्,’ इन्दिरा सुनाउँछिन्, ‘सकारात्मक परिवर्तनका लागि रेडियो प्रभावकारी माध्यम बन्यो र आफूलाई त्यसैमा सरिक बनाएँ । अरुका दुःख व्यथा सुन्दा आफ्ना कथाव्यथा पुरिए ।’
२०५७ देखि निरन्तर रेडियोकर्ममै सरिक भइन् इन्दिरा । ५ वर्ष स्टेसन म्यानेजर रहेकी अर्यालले महिलाका समस्या, संघर्ष र सफलतामै आफ्नो कलम चलाइरहिन् । यही कामको प्रशंसा गर्दै अर्याललाई स्विट्जरल्याण्डको सस्थाले विश्वभरका १० महिला अभियन्तामा छनौट गरेको थियो ।
अर्याल अरुका लागि प्रेरणाको स्रोत पनि थिइन् । ‘अर्याल ग्रामीण भेगका महिलाका अभिभावकसमेत थिइन्,’ देवदहकी पार्वती परिवारले भनिन्, ‘पहिला मजदुरी गरेर जीवन धानेका थियौँ अहिले व्यापारमा सरिक हुनुमा अर्यालकै सहयोग छ ।’ फर्साटिकरकी यमुना चापागाईं सुनाउँछिन्, ‘सलाइ किन्ने पैसा नहुदा हेपिनु परेको पीडा जीवनभर भुल्न सकिन्नँ र अहिले सफल उद्यमी बनिरहँदा यसको श्रेय अर्याललाई दिन पाउँदा गर्व गर्छु ।’
परिवर्तनका लागि कार्यरत महिला समूह ( वाच) का कार्यकारी निर्देशक डा.नारायणकाजी श्रेष्ठले ग्रामीण क्षेत्रका गरिबको स्तरोन्नति साथै प्रतिभालाई उकास्न सहयोग गर्ने सफल महिलालाई हौसला प्रदान गर्न प्रत्येक वर्सको अक्टोबर १५ मा यो पुरस्कार दिइने गरिएको बताए । पुरस्कार राशि १ हजार डलर अर्थात् नेपाली रुपैयाँ १ लाख १४ हजार रुपैयाँ छ । पुरस्कार पाएपछि इन्दिराले भनिन्, ‘महिलालाई मूलप्रवाहमा ल्याउन सके समृद्धि, शिक्षा परको विषय होइन, हामी कहाँ त महिलालाई केबल मनोरञ्जनका पात्र बनाउने, खिल्ली उडाउने विषय मात्र बनाइएको छ ।’
५ नम्बर प्रदेशका सामाजिक विकास मत्री सुदर्शन बरालले अर्याललाई बधाई दिँदै सकारात्मक दृस्टिले सफलता चुम्ने हुँदा जातीय र समावेशिता भन्दा संघर्ष र निरन्तरतामा विश्वास राख्दै अघि बढन आग्रह गरे ।
महिला जागरण सहयोगी समूह रुपन्देही, महिला मञ्च रुपन्देही ,सक्षमताका लागि महिला समूह र सहयोगी संस्था (वाच) ले गरेको कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थी, कृष्ण न्यौपाने, थानकुमारी थापा, बिमला अर्याललगायत साहित्यकार, लेखक र पत्रकार उपस्थित थिए ।