लोकेन्द्र प्रसाद जोशीदार्चुला । दार्चुलाको झण्डै आधा भुगोल र जनसंख्या विगतदेखि नियमित सञ्चारको पहुँचबाट वञ्चित रहँदै आएको छ । इन्टरनेट र फोन सेवामा कुनै समस्या नभएको बेला समेत दार्चुला जिल्लाको आधा जनसंख्या र ठुलो भूगोल सञ्चार विहिन रहने गरेको हो ।
दुर्गमको सञ्चार घामको भरमाविशेषगरी विद्युतीकरण नहुनु, भौगोलिक विकटता, उपकरणमा देखिने समस्या र मौसमको प्रतिकुलताका कारण सञ्चारको युगमा समेत दार्चुलाबासीले सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको छ । जिल्लाको मार्मा, नौगाड, अपिहिमाल, लेकम, ब्यास र दुहु गाउँपालिकालगायत आधा दर्जन स्थानीय तहको अधिकांश क्षेत्र नेपाल टेलिकमको सञ्चार सेवाको पहुँच बाहिर रहेको छ । विद्युत अभाव र समय समयमा उपकरणहरुमा देखिने प्राविधिक समस्याका कारण यो क्षेत्रका जनताले नियमित सञ्चारबाट पीडित हुनुपरेको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो ।
अहिलेसम्म जिल्लाका दुई दर्जन टावरहरुमध्ये खलंगा, बंगाबगर, छापरी, गोकुलेश्वर, चमेलिया र उल्लेनि टावरसम्म मात्रै विद्युतिकरण भएको छ । जिल्लाको बालशिखरस्थित मेन रिपिटर टावरसम्म समेत विद्युतिकरण नहुँदा जिल्लाभरीको सञ्चार सेवा बेलाबेला प्रभाबित बन्ने गरेको छ । मार्मा क्षेत्रमा अहिलेसम्म घामकै भरमा सञ्चार चल्ने र रातीको समयमा सञ्चारविहिन हुनुपर्ने अवस्था छ, स्थानीय नरेन्द्र जोशीले भन्नुभयो, ‘टेलिफोन पहुँच पुगेपनि विद्युतीकरण नहुँदा सञ्चारबाट सेवाग्राहीले समस्या झेल्नपरेको छ । आकस्मिक रुपमा गाउँ बाहिर सम्पर्क गर्न फोनमा टावर नभएकै कारण रातीको समयमा असम्भव हुने गरेको स्थानीय लक्ष्मण महताले बताउनुभयो । फोन गर्नुपर्ने भए पुरै दिन हिडेर फोन लाग्ने स्थानमा पुग्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । कुनै घटना, दुर्घटनाको जानकारी समेत घाम लागेको बेलामा मात्रै दिन सकिने, नभए सञ्चार र प्रविधिको युगमा समेत आफुहरुले सञ्चार सञ्जालको पहुँच बाहिर रहनुपर्ने बाध्यता रहेको महताले बताउनुभयो ।
टेलिकमका दुई दर्जन टावर सञ्चालनमा भएपनि भुगोल र विद्युत मुख्य चुनौतिदार्चुला जिल्लामा नेपाल टेलिकमका दुई दर्जन टावरहरु सञ्चालनमा भएपनि सञ्चार समस्या समाधान हुन सकेको छैन । भगौलिक विकटता र विद्युतिकरणको अभावमा ग्रामिण क्षेत्रका जनताहरुले सञ्चार सुविधा उपभोग गर्न नपाएका हुन् । अहिले दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १, दुहु गाउँपालिका १ कैचुला, नौगाड गाउँपालिका ४ सिप्टि, मालिकार्जुन गाउँपालिका ६ कुचकोटमा रहेका टावरबाट समेत सिडिएमए सेवा सञ्चालनमा रहेको छ । यसैगरी महाकाली नगरपालिका ४ बंगाबगरमा जिएसएम टु जि, महाकाली नगरपालिका १ छापरीमा जिएसएम थ्रिजी, शैल्यसिखर नगरपालिका १ चमेलियामा जिएसएम टुजी, शैल्यसिखर नगरपालिका ९ गोकुलेश्वरमा जिएसएम थ्रिजी, शैल्यसिखर नगरपालिका ५ आगर जिएसएम टुजी, र मालिकार्जुन गाउँपालिका ४ ऐरीछाना जिएसएम थ्रिजी सेवा सञ्चालनमा रहेको छ ।
यस्तै अपिहिमाल गाउँपालिका ४ खण्डेश्वरीमा सिडिएमए, जिएसएम थ्रिजी, महाकाली नगरपालिका ४ खलंगा सिडिएमए, जिएसएम टुजी–थ्रिजी, महाकाली नगरपालिका ९ दत्तु उल्लेनी सिडिएमए, जिएसएम टुजी, मालिकार्जुन गाउँपालिका २ न्यू बालसिखर आरएसटी, सिडिएमए, जिएसएम थ्रिजी र लेकम गाउँपालिका २ कैनोडामा सिडिएमए, जिएसएम थ्रिजी सेवा सञ्चालनमा रहेको छ । यस्तै चालु आर्थिक वर्ष २०७५÷०७६ देखि महाकाली नगरपालिका २ झुस्कु काट्टैमा जिएसएम टुजी, महाकाली नगरपालिका ६ धाप जिएसएम टुजी र शैल्यसिखर नगरपालिकाको रानीशिखरमा आरएसटी, जिएसएम टुजी सेवा थप सञ्चालनमा आएको छ । यसैगरी जिल्लाको सञ्चार समस्यालाई मध्यनजर गर्दै ब्यास गाउँपालिका २ राप्ला, दुहु गाउँपालिका १ दम्दाकोट, नौगाड गाउँपालिका २ खार, मालिकार्जुन गाउँपालिका ८ पस्ती, नौगाड गाउँपालिका ६ धुलिगाडा र मार्मा गाउँपालिका ४ तपोवनमा जिएसएम बिटिएस सञ्चालनका लागि घर निर्माण र टावर निर्माणको काम भइरहेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।
सुस्त इन्टरनेटटेलिफोनले समेत राम्रोसंग काम नगर्ने दार्चुलामा ईन्टरनेट सेवा निकै सुस्त रहेको छ । भगौलिक सुगमता भएको क्षेत्रमा थ्रिजी सेवा सञ्चालनमा भएपनि अधिकांश समय सामान्य फाइल अटेज गर्न समेत धेरै समय लाग्ने गरेको सेवाग्राहिहरु बताउँछन् । जिल्लाको दुर्गममा इन्टरनेट चल्ने गरेको छैन, भने उच्च भुभाग र सदरमुकाम क्षेत्रमा समेत निकै सुस्त गतिमा डाटा खुल्ने गरेको जगदिश जोशीले गुनासो गर्नुभयो । नेपाल टेलिकम दार्चुलाले भने विगतको भन्दा एडिएसएल र डाटामा इन्टरनेटको गति सुधार भएको दाबी गरेको छ । केहि वर्षमै फाइवर लाइन मार्फत इन्टरनेट सेवा प्रवाह हुने सम्भावना रहेकोले त्यसपछि जिल्लाको सञ्चार समस्या समाधान हुने टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो ।
मोबाइल प्रयोगकर्ताहरुको संख्यामा बृद्धिजिल्लाभरी फोन तथा मोबाइल प्रयोगकर्ताहरुको संख्यामा बृद्धि भइरहेको छ । हालसम्म नेपाल टेलिकम दार्चुलाको तथ्याङक अनुसार जिएसएम नमस्ते मोबाइल फोन प्रयोगकर्ताको संख्या ४१ हजार ८ सय ८२ जना, सिडिएमए स्काई प्रयोगकर्ताहरुको संख्या ३३ हजार ७ सय ४६ र ल्यान्ड लाइन फोन सेवा प्रयोगकर्ताहरुको संख्या ७ सय ३९ रहेको छ । यद्यपि बजारबाट फाराम नभरीकनै स्काइ र नमस्ते सिमहरु बिक्रिवितरण हुने भएकोले मोबाइल प्रयोगकर्ताहरुको संख्या अझै बढी रहेको हुनसक्ने टेलिकम दार्चुलाको अनुमान रहेको छ ।