काठमाडौँ । रोल्पाली झक्कु सुवेदीको नाम फेरि एक पटक काठमाडौँबासी माझ चर्चामा आएको छ । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट काठमाडौँ क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभाका लागि उठाइएपछि झक्कु पुनः चर्चामा आएका हुन् ।उनको चर्चाको कथालाई जोड्न फर्केर २०६४ सालमा भएको पहिलो संविधासभाको निर्वाचनसक्म्म पुग्नु जरुरी हुन्छ । २०६३ सालमा जनयुद्धलाई विश्राम दिएपछि विकल्पको खोजीमा रहेका जनताको पहिलो रोजाईमा परेको थियो तत्कालीन नेकपा माओवादी ।रोल्पाको गजुलमा २०१८ सालमा जन्मिएका सुवेदी पाँच बर्ष शिक्षक र एकपटक जिल्ला विकास समितिको सभापति बनेका थिए ।२०६४ सालमा भएको पहिलो संविधासनभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धामा थिए नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल । रौतहटबाट पनि चुनाव लडेका नेता नेपालविरुद्ध माओवादीले टिकट दियो रोल्पाली झक्कु सुवेदीलाई ।जनयुद्धका बेलासमेत खासै चर्चामा नआएका झक्कुलाई उठाएपछि एमाले र माधवले सजिलै चुनाव जित्ने आकलन गरेका थिए । तर, मतपरिणाम सार्वजनिक भएपछि सबैभन्दा चर्चाको केन्द्र बने झक्कु सुवेदी । एमाले र कांग्रेसलाई देशभरि माथ खुवाउँदै त्यो बेला माओवादी पहिलो पार्टी भयो भने माधवलाई हराउँदै झक्कु त्यो बेला चर्चाको केन्द्रीय पात्र बन्न पुगे ।
यस्तो थियो त्यो नतिजा२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ बाट झक्कु सुवेदीले १३ हजार ८ सय ५८ मतसहित विजयी बन्न पुगे । अर्कातिर पराजित भएका एमालेका तत्कालीन महासचिव माधव नेपालले १२ हजार ३ सय २५ मत ल्याउन सके । पहिलो संविधानसभा अवधिभर झक्कुको परिचय माधवलाई हराएका नेताकारुपमा स्थापित भयो । यद्यपि अहिले पनि उनी त्यही निर्वाचनको जितका कारण चर्चामा छन् ।त्यो बेला काठमाडौँ २ मा नेपाली कांग्रेस तेस्रो भएको थियो । कांग्रेसका दीपक कुइँकेलले ११ हजार ५ सय ४४ मत ल्यए । दोस्रो संविधानसभासम्म आइपुग्दा झक्कुलाई माओवादीले टिकट नै दिएन । तर, माधवले पहिलो संविधानसभा निर्वाचनमा पराजित भएको काठमाडौँ २ बाटै २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा जित निकाल्न सफल भए ।
१० वर्षपछि झक्कु फेरि काठमाडौँमापहिलो संविधानसभा निर्वाचनको नतिजाले चर्चित बनेका झक्कु सुवेदीलाई फेरि एक पटक पार्टीले काठमाडौँबाटै टिकट दिएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन बनेपछि झक्कु यो पटक काठमाडौँ क्षेत्र नम्बर ६ बाट चुनावी मैदानमा छन् । जहाँ उनका बलिया प्रतिस्पर्धीकारुपमा रैथाने उम्मेदवार तथा बहालवाला रक्षामन्त्री भीमसेनदास प्रधान खडा भएका छन् ।
झक्कुले यो पटक रैथाने उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । दश वर्षपछि रोल्पाबाट काठमाडौँमा फर्केर चुनावी मैदानमा उत्रेका झक्कुले यो पटक जीतको झन्डा गाड्न एमाले र माओवादीको बलियो साथ पाए पनि ‘टुरिस्ट उम्मेदवार’को आरोप झेलिरहनुपरेको छ ।
हिमाललाई पछि पार्दै टिकटयो पटक माओवादी केन्द्रले काठमाडौँमा ६ मा चर्चित विद्यार्थी नेता हिमाल शर्मालाई टिकट दिने तयारी गरेको थियो । तर, रोल्पाली झक्कुले हिमाललाई माथ खुवाउँदै टिकट उछिट्याउन सफल भए ।टिकट पाउने विश्वासका साथ हिमालले चुनावी तयारी पनि थालेका थिए । तर, झक्कुले उनलाई अघि बढ्न दिएनन् । र अन्त्यमा हिमालले सामाजिक सञ्जालमा लेखे, ‘माफ गर्नुहोला काठमाडौँ ६ का जनता, यो पटक तपाइँहरुमाझ आउन पाइन । तर, पार्टीमा रहेर हरदम तपाइँहरुसँगै हुनेछ ।’
काठमाडौँमै झक्कुको राजनीति२०१८ साल माघ २८ गते रोल्पा जिल्लाको साविक गजुल गा.वि.स वडा नं. ४ पानीपोखरा (हालकोे सुवर्णावति गाँउपालिका–६) मा जन्मिएका सुवेदी जनयुद्धपछि काठमाडौँ केन्द्रित राजनीतिमै छन् ।यसअघि सुवेदीले नेवाः राज्यको इन्चार्जको भूमिका निर्वाह गरेका थिए । अहिले पनि ३ नम्बर प्रदेशको संयोजकको भूमिकामा छन् । अहिले पार्टीले जिम्मेवारी दिएपछि काठमाडौंबाट उम्मेदवार बनेका हुन् । रोल्पा जन्म भए पनि १० वर्षदेखि काठमाडौँ केन्द्रित राजनीतिमा सक्रिय रहेकाले उनलाई अहिलेको क्षेत्र पनि नौलो भने होइन ।
बहालवाल रक्षामन्त्रीसँग प्रतिस्पर्धाझक्कु यो पटक बहालवाला रक्षामन्त्री तथा कांग्रेसका प्रभावशाली नेता भीमसेनदास प्रधानसँग भिड्दैछन् । प्रधानले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका युवा नेता योगेश भट्टराईलाई हराएका थिए । योगेश अहिले ताप्लेजुङबाट चुनावी प्रतिस्पर्धामा छन् ।त्यो बेला प्रधान १४ हजार १ सय ४८ मतसहित विजयी भए । पराजित भएका भट्टराईले १२ हजार ८ सय ७४ मत ल्याए । योगेश पराजित हुनुको एउटा कारण बनेका संघीय समाजवादी फोरमका केशव स्थापितले १ हजार ५० भोट ल्याएका थिए । केशव स्थापित एमालेमा फर्केपछि अहिले यही क्षेत्रबाट प्रदेशसभाका लागि चुनावी मैदानमा छन् ।
पहिलो संविधासभामा माओवादीको जीतदोस्रो संविधानसभामा विजयी भएका भीमसेन दास प्रधान पहिलो संविधानसभा निर्वाचनमा भने पराजित भएका थिए । काठमाडौं क्षेत्र नम्बर ६ मा भीमसेनलाई माओवादीका हितमान शाक्यले हराएका थिए ।त्यो बेला नेता योगेश तेस्रो स्थानमा समेटिएका थिए । हितमानले अहिले क्षेत्र परिवर्तन गर्दै दोस्रा संविधानसभा निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड पराजित भएको काठमाडौँ क्षेत्र नम्बर १० मा पुगेका छन् ।
प्रदेशसभामा केशव स्थापितयो निर्वाचन क्षेत्रबाट दोस्रो संविधासभा निर्वाचनमा एमालेविरुद्ध खडा भएका केशव स्थापित एमालेबाटै प्रदेशसभाका लागि लड्दैछन् । त्यसैगरी योगेन्द्र संग्रौला पनि प्रदेशसभाका उम्मेदवार हुन् ।काठमाडौँबासीमाझ राम्रो परिचय बनाएका महानगरकाा पूर्वप्रमुख केशव स्थापित प्रदेशसभामा खडा भएपछि झक्कुको हौसला बढेको छ । स्थानीय तह निर्वाचनमा विद्यासुन्दर शाक्यलाई मेयरमा जिताउनका लागि एमालेले केशवस्थापितलाई चुनावी कमाण्डर नै बनाएको थियो । केशवको यही प्रोफाइलाई क्यास गरेर झक्कुले चुनाव जित्ने आकलन गरिएको छ ।यो क्षेत्रमा कांग्रेसले प्रदेशसभाका लागि विष्णुभक्त तिमल्सिना र न्युन्छेनारायण मानन्धरलाई टिकट दिएको छ । कांग्रेसले रैथाने तथा विवादित पृष्ठभूमि नभएका भीमसेनदासको प्रोफाइलले प्रतिनिधिसभा र प्रदेशसभामा जीत निकाल्ने दाबी गरेको छ ।
यस्तो छ भूगोल यो क्षेत्र नम्बरमा काठमाडौँको उत्तर–पश्चिमस्थित भूगोल रहेको छ । यहाँ काठमाडौं महानगरपालिकाका केही वडा, तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाका केही वडा समेटिएका छन् । स्थानीय तह निर्वाचनको परिणाम केलाउने हो भने यहाँका टोखा र तारकेश्वर नगरपालिकामा एमाले विजयी भएको थियो ।