–टिप्पणी
काठमाडौं । बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यालयमा फरक दृश्य देखियो । पार्टीका २१ केन्द्रीय सदस्य पार्टी नेतृत्व पारदर्शी र जनउत्तरदायी नभएको भन्दै ज्ञापनपत्र बुझाउन पुगे । ज्ञापनपत्र बुझाउनेहरुमा २०४८ कै निर्वाचनमा सांसद बनेका विरोध खतिवडा पनि थिए । देशका विभिन्न भूगोलका युवापुस्ताका नेता पनि थिए । हालका बहालवाला सांसद पनि थिए । पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई भेटेर केन्द्रीय सदस्यहरुले ज्ञापनपत्र बुझाए । तत्काल केन्द्रीय समिति बैठक बोलाउन आव्हान गरे । भएको यति हो ।
यो भित्र थियो के ?पार्टीका केही केन्द्रीय सदस्यहरु लामो समयदेखि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न चाहिरहेका थिए । तर पछिल्लो समय प्रधानमन्त्री ओली स्वास्थ्य अवस्थाका कारण भेटघाटका थिएनन् भने अर्का अध्यक्ष दाहाल पनि कार्यव्यस्तता देखाइरहेका थिए । पार्टीमा पोलिटब्युरो भएका सदस्यहरुले समेत आफ्ना अध्यक्षलाई भेट्ने, मनको कुरा भन्न नपाउने अवस्था बनिरहँदा दुई अध्यक्षका सचिवालयका सदस्यहरुले पनि यसलाई गम्भीरतापूर्वक लिन चाहेनन् । अझ भन्नुपर्दा ओलीका सचिवालयले ओली पक्षधरकालाई मात्र मौका दिइरहे । दाहालले पूर्व माओवादीका कुरा मात्र सुन्न चाहे, त्यो पनि आफूपक्षधरका ।
लामो समयसम्म सार्वजनिक कार्यक्रम, टेलिभिजनहरुमा मात्र अध्यक्ष देख्न पाइएपछि सरकार र पार्टीबारे ‘मनको कुरा’ समेत भन्न केन्द्रीय सदस्यहरु, सांसदहरु वञ्चित रहे । सचिवालयका नाममा अध्यक्षले गरेका सिफारिस, नियुक्ति, मनोनयनमा केन्द्रीय सदस्यहरुले सञ्चारमाध्यमबाट थाहा पाउनु पर्ने अवस्था बन्यो । एमालेमा केन्द्रीय समिति बैठक एकपटक बस्यो । त्यसपछि नेकपा बनेपछि केन्द्रीय सदस्य बनाएकाहरुलाई बोलाएर उपस्थितिमा सही गराइयो, ३ जेठ यता न केन्द्रीय समिति बन्यो, न कुनै छलफल पार्टीमा हुने गरेको छ । यस्तो अवस्थामा दुई अध्यक्षलाई भेट्नसमेत तारबार नै लगाइएको महसुस केन्द्रीय सदस्यहरुमा हुन थाल्यो । पटकपटक केही केन्द्रीय सदस्यहरुले फेरि पनि पार्टी अध्यक्षलाई भेट्न समय माग । दुवै अध्यक्षले समय दिएनन् । भेटेर केही सुझाव दिन खोज्दा पनि समय छैन भनियो ।
महासचिवलाई ज्ञापनसरकार बनेको ८ महिना पूरा हुँदा र पार्टी एकीकृत भएको ६ महिना पूरा हुँदा पनि प्रधानमन्त्री र पार्टी अध्यक्षलाई भेट्न नपाएका केन्द्रीय सदस्यहरुले पार्टी महासचिव विष्णु पौडेललाई भेट्न चाहे । अध्यक्षद्वयको सुझाव पनि थियो, ‘केही छ भने महासचिव र सचिवालयमा दिनू–भन्नू ।’
त्यसपछि केन्द्रीय सदयहरुले महासचिव विष्णु पौडेललाई बुधबार समय लिएर भेटे । भेटमा किन लिखित दस्तावेज नदिने भन्दै केन्द्रीय सदस्यहरुले लिखित ज्ञापनपत्र बुझाए । त्यही ज्ञापनपत्रले यतिखेर नेकपाभित्रको असन्तुष्टि बाहिरिएको सञ्चारमाध्यममा चर्चा छ ।
के भने महासचिवले ?केन्द्रीय सदस्यहरुको ज्ञापनपत्र बुझ्दै पार्टी महासचिव विष्णुप्रसाद पौडेलले केन्द्रीय समितिको शक्ति, हैसियत, औकातबारे राम्रो प्रशिक्षण दिन भ्याउनु भयो । एक केन्द्रीय सदस्यका अनुसार, महासचिवको आसय थियो, ‘महाधिवेशनपछि सबैभन्दा बलशाली नै केन्द्रीय समिति हो, हैसियत हेरफेर गरिदिन्छ, भूमिका बदलिदिन्छ, कायापलट पार्छ, केन्द्रीय समितिबाटै शक्ति देखाउने अवसर पनि छ कमरेडहरुलाई ।’ महासचिवलाई ज्ञापनपत्र बुझाउन गएका कयौँ केन्द्रीय सदस्यहरु राजनीतिक हिसाबमा पौडेलसरह वा राजनीतिमा पौडेल भन्दा वरिष्ठ पनि थिए । महासचिव पौडेलमा पनि उस्तै दम्भ महसुस गर्दै फर्किए केन्द्रीय सदस्यहरु ।
कहाँ थिए दुई अध्यक्ष ?लगभग साउनदेखि नै आफ्ना अध्यक्षलाई भेटेर मनको कुरा भन्न खोजिरहेका केन्द्रीय सदस्यहरु पार्टी मुख्यालयमा जाँदा दुई अध्यक्ष कुनै अत्यन्त महत्वपूर्ण कार्यक्रममा भने व्यस्त थिएनन् । पार्टीअध्यक्ष पुष्पकमल दाहाल चितवनमा थिए । उनको सचिवालयले पठाएको समाचार अनुसार, दाहाल गतवर्ष विद्यालय भर्ना अभियानका क्रममा अभिभावकत्व ग्रहण गरेका उत्पीडित समुदायका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी लिइरहेको हुनुहुन्थ्यो । अरुण माझी र पत्रुश मुसहरको पढाइबारे जानकारी लिन साझापुर मावि पुग्नु भएको थियो । साझापुर माविको स्वर्ण महोत्सव उद्घाटन गर्नु भयो दाहालले ।
अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली मन्त्री तथा सचिवहरुसँग छलफलमा हुनुहुन्थ्यो । उसै पनि प्रधानमन्त्री ओली पछिल्लो समय मन्त्रीसँग भन्दा बढी सचिवसँग छलफल गर्नु हुन्छ । प्रधामन्त्रीसँग जनता कार्यक्रममा टेलिभिजनमा सिधै सचिवहरुसँग कुरा गर्नु हुन्छ । त्यसो भएपछि सचिवहरुले पनि मन्त्रीलाई पत्याइरहन परेन । सिधै प्रधानमन्त्रीलाई रिपोर्ट गरे पनि भयो । नभए टेलिभिजन कार्यक्रममा प्रधानमन्त्रीको फोन आइहाल्छ । अनि मन्त्रीहरुलाई पनि केन्द्रीय सदस्यहरुसँग किन छलफल गरिरहनु प¥यो, प्रधानमन्त्रीलाई खुशी पारे केन्द्रीय सदस्य र माउपार्टी त जनताको बहुदलीय जनवादले हाँकिरहेकै छ नि ! यो दम्भ र घमण्डको झोलीले भरिएको नेतृत्वले आफ्नै केन्द्रीय सदस्यको त कुरा सुन्न भ्याउँदैन भने जनताको कुरा कहिले पुग्ला ?
यो पनि पढ्नुहोस्ःhttps://45.77.241.73/2018/11/77937