‘आजकल सम्बन्ध देखाउन मात्र भएका छन्...’ केही समयअगाडि एक जना साथीले भनेकी थिइन् । ‘फेसबुकमा एक जोेडी मसक्क हासेको फोटो पोष्ट्याउदैमा सबैको पारिवारिक जीवन प्रेमपूर्ण छ भन्ने पनि सोच्नु पर्छ आजकल त..।’ उनका ती भनाइमा धेरै घोत्लिएर सोच्न पर्छ कि भन्ने लाग्यो । आजकल सम्बन्धहरु मात्र औपचारिकताका लागि मात्र जोडिएका छन् की ती सम्बन्ध इमानदारिता, प्रेम, समर्पणमा बाँधिएका पनि छन् भनेर सोच्न मन लाग्यो । साथीले जुन अर्थमा भनेको भए पनि ती वाक्यमा गाम्भीर्यता पक्कै थियो ।
दैनिक आउने समाचारेखि टोलछिमेकमा हुने घटनाले पनि मन चिसो बनाउने गरेको छ । केही महिनाअघि सुनेकी थिएँ । चोकमा होटल गरेर बस्ने साहुको छोराकी श्रीमती बिहे गरेको ६ महिनामै अर्कोसँग गइन् रे । भर्खर बिहे गरेकी कलकलाउँदी केटी श्रीमानसँग कतै घुम्नु छैन, १६ घण्टा होटलमा खट्नु परेपछि आत्तिइन् होला भन्दै कानेखुशी गरेकी पनि सुनियो । लाग्यो विवाह गर्नु, छोरी, बुहारी हुनु मात्र होइन । तिनका मनोविज्ञान पनि ती साहु र उसको छोराले बुझेको भए हुन्थ्यो कि । हुन त ती सब भन्ने बहाना पनि हुन सक्छन् । गल्ती ती बुहारीले गरेकी पनि हुन सक्छिन् । तर यस्ता समस्या, घटनाप्रति सम्बन्धितले आत्मआलोचना गरे कि गरेनन् होला भन्ने मनमा लागिरहन्छ ।
दिनभर काममा व्यस्त श्रीमानलाई साँझ घर फर्किदा श्रीमतीले मुस्कानसहित मीठो चिया नपियाएको गुनासो बढ्न थालेको छ । अनि श्रीमानले म्यारिज एनिभर्सरीमा रातो गाउन गिफ्ट नदिएको श्रीमतीले भनेर कटक्क मन दुःखाएको पनि पाइन्छ । हुन त आजकल शिक्षित महिला पुरुषसरह कामकाजी भएका छन् । कार्यालयको काम र थकानले एक अर्कालाई दिने समय कम हुँदा सम्बन्धका रंगमा फिकापन आएको हुन सक्छ । तर समयमै त्यो फिकापनमा रंग थप्न ढिला भयो भने जिन्दगी बेरंगी बन्न पनि सक्छ ।
समाजमा एउटा भनाइ खुब सुनिन्छ, ‘सन्तान राम्रो आफ्नो, श्रीमती राम्रो अर्काको रे ।’ सुन्दा रमाइलो लाग्ला तर यस्ता भनाइ किन भनियो होला ? एकपटक सोचौँ । के यस्तै भइरहेको छ हाम्रो समाजमा ? के तपाईं हामी अर्काका श्रीमती वा श्रीमान त ताकिरहेका छैनौँ ? स्वअनुशासनमा रहेर सम्बन्धको मिठासमा जीवनलाई प्रेमलले सिञ्चन गर्नुको मज्जा अरुमा कहाँ ?
शास्त्रमा पनि प्रेमको बर्णन जति सुन्दर रुपबाट गरिएको छ । त्यति नै व्यभिचारी चरित्र नरहेका होइनन् तर तिनलाई धर्मशास्त्रले कहिले सही भनेको छैन । सही र गलत छुट्याउने मष्तिस्क सबै मानव जातिसँग छ । केही अपवाद छाडेर । घर, परिवार सुखी कसरी बनाउने ? तपाईं हामीमै निर्भर रहन्छ । तसर्थ श्रीमान श्रीमतीको सम्बन्धको मिठासमा तित्तता होइन प्रेमरस हुनु पर्दछ । सभ्य समाज, अनुशासित घर, पे्रमील जोडी कसको चाहना हुँदैन होला र ? देखाउने र लुकाउने हात्तीको दाँत जस्तो नबनोस् सम्बन्ध । आखिर जे भने पनि संसार चलाउने महत्वपूर्ण जिम्मा त तपाईं हामी सबैको हो नि !