काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको तस्बिर मंगलबार बिहानै अखबारका पानामा छाए । केहीबेरमै सामाजिक सञ्जालमा छायो । उसो त सोमबार साँझ काठमाडौंका सडकका पोलमा अनि मंगलबार बिहानै अखबारको पानाको पहिलो पृष्ठमा प्रधानमन्त्री केपी ओलीकै तस्बिर छाए । सरकारले ल्याउन लागेको सामाजिक सुरक्षा कोषको शुभारम्भ अवसरमा यी तस्बिर आएका हुन् ।
यसअघि शेरबहादुर देउवा सरकारका स्वास्थ्यमन्त्री गगन थापाले पनि स्वास्थ्य मन्त्रालयले ल्याएको योजनामा यसरी नै टेलिभिजन प्रचार गरेका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अखबार र राजधानीका पोल रोजे । विज्ञापनको शैली आआफ्नै हुन्छ । कसरी जनताको मनमुटुमा छाप पार्ने भन्ने ध्येय हो विज्ञापनको ।
सामाजिक सुरक्षा कोष आफैँमा समाजवादी कार्यक्रम हो । कम्युनिष्टको सरकारले लागु गर्न लागेको कार्यक्रम प्रभावकारी बन्नुपर्छ । गोकर्ण विष्टले फेरि एकपटक आफूलाई अब्बल सावित गरेका छन् । मलेसिया प्रकरणमा नमूना काम गरेर चर्चा कमाएका मन्त्री गोकर्ण विष्टको तस्बिर देखेर सामाजिक सञ्जाल र चोकचौतारामा कसैले नाक खुम्च्याएनन् । जति आलोचना विद्युत्का पोल र अखबारमा देखिएका प्रधानमन्त्रीको भयो । एउटै सामग्रीमा पनि दुई फरक पात्रको तस्बिरले कति फरक पार्दोरहेछ, प्रधानमन्त्री र सचिवालयले पक्कै महसुस गरेको हुनुपर्छ ।
सामाजिक सुरक्षा कोष एउटा ऐतिहासिक र दूरगामी महत्त्वपूर्ण कदम भएको र बल्ल कम्युनिष्ट सरकार छ भन्ने सोचाइ आएको भनेर गोकर्ण विष्टको कदमको प्रशंसा भएको छ । प्रचार गरेजस्तै कार्यान्वयन पनि होस् । कामना गरिएको छ । शिक्षा, स्वास्थ, रोजगारी, सामाजिक सुरक्षा, भौतिक पूर्वाधार, सुशासनमा कम्युनिष्ट सरकार अब्बल बन्छ कि भन्ने अपेक्षामा एक वर्षअघि जनताले दुई तिहाइको हाराहारीमा जनमत दिएका हुन् । जनमतको सम्मानमा लगातार परीक्षा भने प्रधानमन्त्री केपी ओली सरकारका मन्त्री गोकर्ण विष्टले मात्रै दिनु पर्ने हो कि भनेर आलोचना पनि भइरहेको छ ।
ओली सरकारका प्रभावशाली मन्त्रीहरु ८ नम्बरका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, १८ नम्बरका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र २० नम्बरका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पनि गोकर्ण विष्टलेजस्तै लोकप्रिय हुने काम किन गरेनन् र लगातार विवादमा पारेर ओली सरकारको आलोचनाको देउराली मात्रै बनाइरहेको छ भन्ने बहस बाहिर मात्र होइन, पार्टीभित्रै हुन थालेको छ । यी तीन मन्त्रीको कार्यशैलीको लगातार आलोचना हुँदै आएको छ । प्रधानमन्त्री ओलीको सोच र सपनामा आफ्नै मन्त्रीहरुको बदमासी तगारो बन्ने गरेको आलोचना हुने गरेको छ ।
रघुवीर महासेठयातायात क्षेत्रमा सिण्डिकेट तोड्ने सरकारको निर्णयको ८ महिनाअघि कम प्रशंसा थिएन । सरकारले केही गर्छ कि भन्ने थियो । यातायात व्यवसायी र मजदुरको पनि ओठ तालु सुकेको थियो । तर जब सिण्डिकेट तोडिनुको साटो दशैँमा यातायात व्यवसायीले भाडा बढाउँदा सरकार तमासे बन्यो, त्यसपछि महासेठको मात्र होइन, सरकारकै आलोचना चुलियो । यति मात्रै होइन, गृहमन्त्री रामबहादुर थापा बादलले ठेकेदारलाई कारबाहीको कुरा गर्दा पनि मन्त्री महासेठले तगारो हालेको कुरा लुकेन । ओली सरकारको शुरुवातीदेखि नै आलोचित र विवादित मन्त्रीका रुपमा महासेठको परिचय रहिरह्यो ।
रवीन्द्र अधिकारीनेपाल वायुसेवा निगमले खरीद गरेको दुई वटा वाइड बडी विमानमा ६ अर्ब रुपैयाँ घोटाला भएको तथ्य संसदकै लेखा समितिले सार्वजनिक गरेको छ । वाइड बडी विमान खरीदमा मन्त्री अधिकारीको सहभागिता नहुन सक्छ । तर मन्त्रीलाई ‘दालमा कालो छ’ भन्ने मन्त्रीलाई ज्ञान नहुने कुरा भएन । यसमा अनियमितता छैन भनेर स्पष्ट जवाफ दिन मन्त्रीलाई निकै हम्मे परेको देखिन्छ । घोटाला भएकै भनेर बाहिर आएपछि कारबाही गर्छु भन्नु पर्नेमा अझै भर्खरको प्रेममा परेको किशोरले भनेजस्तो ‘वाचाकसम’ खाने गरी ‘गल्ती देखिए कारबाही गर्छु, राजनीति छाड्छु’ जस्ता कोरा कुरामा मन्त्री अल्झिएका छन् । वायुसेवा निगममा अध्यक्ष मदन खरेलको नियुक्ति, प्रज्ञाप्रतिष्ठानमा झापाका गंगाप्रसाद उप्रेतीको नियुक्ति पनि मन्त्री अधिकारीको काममा प्रश्नचिन्ह खडा गर्ने विषय हो । यसमा मन्त्रीको विमति थियो कि सहमति ? प्रधानमन्त्रीले पेलेकै भए पनि मन्त्रीले किन अपमान सहेर बस्ने ? तर रवीन्द्र अधिकारीमाथि लगातार पेचिलो प्रश्न प्रहार भइरहेको छ ।
गोकुलप्रसाद बाँस्कोटासरकारका प्रवक्तासमेत रहेका गोकुलप्रसाद बाँस्कोटा ओली सरकारका अर्का आलोचित र विवादित मन्त्री हुन् । दशैँमा पत्रकारलाई दशैँखर्च लिन मन्त्रालय आए हुन्छ भन्ने विवादित अभिव्यक्तिसँगै नेपाल दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाको पुनर्नियुक्ति प्रकरणमा बाँस्कोटामाथि अनेक आक्षेप लागेका छन् । गोरखापत्र संस्थानमा नियुक्ति, त्यहाँ भएका आन्तरिक कारबाहीमा पनि मन्त्री बाँस्कोटाको हस्तक्षेप, दूरसञ्चार सञ्चालकलाई फोन गरेर अध्यक्षलाई सहयोग नगरे ‘ठीक’ नहुने जस्ता कुरा मन्त्रीका बाहिर आएका छन् । यतिमात्र होइन, उनले अनेक पूर्वाग्रह राखेर काम गरेको भन्दै गुनासो हुने गरेको छ । सरकारकै प्रवक्ता भएकाले सरकारी कामकाजको प्रभावकारी प्रस्तुति गर्नु पर्नेमा मन्त्री बाँस्कोटाले यो काममा क्षमता देखाउन नसकेको आलोचना हुने गरेको छ ।
मन्त्रीले राम्रो काम गर्ने हो । योजना, सपना सरकारको हो । त्यसको कार्यान्वयन मन्त्रीले गरे पनि श्रेय सरकारको हुने भएकाले श्रममन्त्री गोकर्ण विष्टले लोकप्रिय कार्यक्रम ल्याएर ३५ लाख मजदुरलाई पेन्सन सुविधा दिने प्रयास गरिरहँदा उनले यसको श्रेय प्रधानमन्त्री केपी ओलीलाई दिए । ओली सरकारको सपना भएकाले तस्बिरमा शेरबहादुर देउवाका स्वास्थ्यमन्त्री गगन थापाले जसरी आफैँलाई ‘हिरो’का रुपमा प्रस्तुत गरेनन्, प्रधानमन्त्री ओलीलाई नै प्रस्तुत गरे । प्रधानमन्त्रीले आफ्ना प्रिय मान्छेहरुलाई मन्त्री बनाएका छन् । ती मन्त्रीहरुले पनि गोकर्ण विष्टलेजसरी नै यसरी नै शहरमा प्रधानमन्त्री ओलीको तस्बिर टाँगेको हेर्ने जनताको चाहना गलत हो र ? गोकर्ण विष्टले जस्तै रवीन्द्र अधिकारी, रघुवीर महासेठ र गोकुलप्रसाद बाँस्कोटाको तस्बिर पनि यसरी नै सामाजिक सञ्जालमा लोकप्रिय भएको हेर्न जनता चाहन्छन् ।