रोल्पा । पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाङ्की १६ वर्षीया जानकी विष्ट र १७ वर्षीय शक्तिराम रोका दुई वर्षअघि प्रेम बन्धनमा बाँधिए । उनीहरुको प्रेम सम्बन्ध केही समयपछि शारीरिक सम्बन्धमा परिणत भयो ।
गाउँकै एक माध्यमिक विद्यालयको कक्षा–९ मा पढ्दै गरेकी जानकी गर्भवती भएसँगै उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा रूपान्तरण गर्ने निर्णयसहित यही मङ्सिर १ गते घरबाट भागे । मङ्सिर ५ गते विवाहको तयारी गरिरहेको बेला बालविवाह भएको भन्दै गाउँलेले प्रहरीमा खबर गरे । इलाका प्रहरी कार्यालय सुलिचौरले केटाकेटी तथा केटाका अभिभावकलाई समातेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा पेश गर्यो ।
जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलको अगुवाइमा भएको छलफलपछि हाल केटालाई सात हप्ताको तारेख रहने गरी र केटीसँग भेटघाट गर्न नपाउने सर्तमा मिलापत्र भयो । जानकीबाट जन्मने बच्चाको रेखदेख र भरणपोषण समेत शक्तिरामले गर्ने गरी दुवै पक्षको सहमतिमा हाल विवाह गर्न नपाउने गरी छोडिएको थियो । अहिले जानकी गर्भवती अवस्थामा बुबा आमासँग बस्न बाध्य छिन् भने शक्तिराम साप्ताहिक रूपमा जिल्ला प्रहरी कार्यालयमा तारेख लिइरहेका छन् ।
कानूनको अनभिज्ञताले बालविवाह गर्ने विष्ट र रोका प्रतिनिधि पात्र मात्र हुन् । जिल्लामा यसरी विवाह गर्ने जोडीको सङ्ख्या ठूलो छ । जिल्लामा हुने विवाहमध्ये अधिकांश विवाह उमेर नपुगेरै हुने गरेका छन् । चेतनाको अभाव तथा परम्परागत मूल्यमान्यताका कारण अझै पनि ठूलो सङ्ख्यामा बालविवाह भइरहेको बताइन्छ । कानूनअनुसार २० वर्ष उमेर नपुग्दै गरिने विवाहलाई गैरकानूनी मानिए पनि उजुरीको सङ्ख्या भने निकै कम देखिने गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पामा आर्थिक वर्ष ०७३÷०७४ मा बालविवाहका दुईवटा उजुरी परेको थियो । आव ०७४÷०७५ मा यो सङ्ख्या घटेर एउटा मात्रै मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पा मुद्दा फाँटले जानकारी दिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको अभिलेखमा गर्भवती जाँच गराउनेमध्ये ठूलो सङ्ख्याका किशोरी २० वर्षमुनिका देखिएका छन् । अघिल्लो आवको सात महिनाको तथ्याङ्कमा यसरी गर्भवती स्वास्थ्यजाँच गर्ने २० वर्षमुनिका किशोरीको सङ्ख्या ४७८ रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका वरिष्ठ अनमी नैना डाँगीले जानकारी दिनुभयो । ‘सो अवधिमा भएका गर्भपतनमध्ये २६ वटा गर्भपतन त २० वर्षमुनिका किशोरीले गराएका छन्’, अनमी डाँगीले भन्नुभयो । त्यसो त अस्थायी साधन प्रयोगकर्ता किशोरीको सङ्ख्या पनि बढ्दै गएको देखिएको छ । सबै प्रकारका अस्थायी साधन प्रयोग गर्ने २० वर्षमुनिका किशोरीको सङ्ख्या ५५३ रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।
जिल्लामा बालविवाह न्यूनीकरणका लागि विभिन्न प्रयाससमेत भइरहेका छन् । आमा समूह र बाल क्लबले पनि यस्ता विवाह न्यूनीकरणमा चासो देखाउन थालेका छन् । यसैगरी जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइले नियमितरूपमा जनताको सहभागितामा बालविवाह न्यूनीकरणसम्बन्धी चेतनामूलक कार्यक्रम गरिरहेको छ । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या विकास कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले पनि जिल्लाका विभिन्न गाउँपालिकामा किशोरी शिक्षा सञ्चालन गरिरहेको छ ।