काठमाडौं । आजबाट सरकारले सामाजिक सुरक्षा योजनाको औपचारिक घोषणा गरेको छ । सरकारको घोषणासँगै श्रमिकहरुले त्यसको फाईदाको प्रत्यक्षरुपमा महसुस गर्न पाउँछन् पाउँदैनन् त्यो समयले नै बताउला । तर सामाजिक सुरक्षाको प्रचारमा बिहान राष्ट्रिय पत्रिकाहरुको ज्याकेट बिज्ञापन र अनलाइनहरुमा ‘रोड ब्लक’ देखिए । एकाबिहानै छापिएको हरेक राष्ट्रिय पत्रिकाको ज्याकेट बिज्ञापनमा लेखिएको थियो ‘नयाँ युगको सुरुवात’ । पत्रिकामा यसरी बिज्ञापन छापिएको देखेपछि सामाजिक सञ्जालमा यसको चर्को बिरोध भयो ।
सरकारले काम गर्नुभन्दा बढी प्रचार गरेको भन्दै धेरैले यसको बिपक्षमा टिकाटिप्पणाी गरे । यद्यपि कतिले यसलाई सकारात्मक रुपमा पनि हेर्नुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्नेमध्ये अधिकांशले कार्यक्रम राम्रो भएता पनि सरकारको प्रचारशैलीको आलोचना गरे । ‘सामाजिक सुरक्षा अभियान’को प्रचारशैलीको विषयमा नेपाली कलाक्षेका अधिकांश कलाकारहरुले बिरोध गरेका छन् । सामाजिक सुरक्षा अभियानको प्रचारको बिषयलाई लिएर कुन कलाकारले के भने त !
हास्यकलाकार जितु नेपाल ‘मुन्द्रे’ले ब्यङ्ग गर्दै लेखेका छन्, ‘सरकारले परिणाम आएन, परिणाम आएन भन्थो, आज त आईहालेछ नि यी परिणाम ।’
यस्तै अर्का हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’ले सरकारलाई राम्रो काम गरे जनताले नै प्रचार गर्ने भन्द्र यस्तो लेखेका छन् ।सम्मानानीय प्रधानमत्रीज्यु, योजना र कार्यक्रम मा भन्दा प्रचार प्रसारमा धेरै खर्च गरेर कस्तो समृद्दी ल्याउन खोजेको हो ? ? सरकार ले ल्याउन लागेको योजना कार्यक्रम राम्रै होला तर यसरी प्रचार गर्दै जाने हो भने भोली प्रचार गर्ने पैसा नपुगेर बिदेश सङ ऋण माग्नु पर्ने दिन आउला !!प्रधानमन्त्री ज्यु तपाई राम्रो काम मात्र गर्दै जानुस, तपाई को राम्रो काम को प्रचार जनता आफै ले गर्छन यसरी पोल पोल मा झुन्डिनै पर्दैन । बरु यो प्रचार गर्ने पैसा ले त जाडो मा कठाङ्ग्रीएर बसेका भुकम्पपिडित हरु को घर बनाई दिनु भएको भए तपाईको जय जयकार गर्थे । समृद्दी ल्याउन सद्बुद्दी पनि चाहिन्छ, चेतना भया !!
चलचित्र निर्देशक प्रदीप भट्टराईले निर्मला हत्याकाण्डका दोषीलाई कारबाहीको हत्यारालाई यसरी नै सार्वजनिक गर्न सरकारलाई सुझाब दिएका छन् । यस्तो छ उनको पोस्ट, ‘बरु निर्मलाको हत्यारालाई सरकारले यसरी सार्वजनिक गरेको भए जनताको मनबाटै जय जयकार त प्रधानमन्त्री ज्युकै हुन थियो नि ! अनि पो हुन्थ्यो नागरिक सुरक्षा, नयाँ युग र न्यायको युग’
गायक कालि प्रसाद बास्कोटाले दमदार ब्यङ्ग गर्दै लेखेका छन्, ‘बधाई छ हामीलाई, आजबाट पत्रिका अनि खम्बाबाट नयाँ युगको सुरुवात भएको छ । भोलीको अर्को युग कहाँ बाट सुरु होला गेस गर्दैछु ।’