–टिप्पणी
बाबुराम भट्टराई । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक । गोरखाबाट संघीय सांसद । पछिल्लो समय उनको काम सरकारलाई गाली गर्नु भन्दा अरु देखिएको छैन । यो देशलाई उन्नति, समुन्नतिमा लैजान लेख लेख्ने फुर्सद पनि छैन भट्टराईलाई । सरकारविरुद्ध फोस्रा प्रहार गरेर सामाजिक सञ्जालबाट अराजकहरुको वाहवाहको आत्मरतिमा रमाउने उनको आदत बनेजस्तै देखिन्छ । निर्मला पन्तलाई न्याय दिन ट्विटरमा लेखेबापत उहाँको उदाहरणीय काम के हो भनेर उहाँकै एकाउन्टमा खोज्ने हो भने पत्रिकाका समाचार र लेख शेयर गरेको भेटिन्छ ।
प्रसंग काठमाडौंमा जारी एसिया प्यासिफिक समिटको हो । यतिखेर यो सम्मेलनको नाम एसिया प्यासिफिक समिट भनिएको छ । बाबुराम भट्टराईले यसको जमेर विरोध गर्नु भएको छ । उहाँले कतिसम्म लेख्नु भएको छ, ट्विटरमा हेरौँ ।
र, यो तस्बिर पनि हेरौँ । तस्बिरमा एकनाथ ढकाल ताली बजाउँदैछन् । बाबुराम भट्टराई बत्ती बाल्दैछन् । यो पक्कै पनि गोरखातिर दरौँदी नदी किनारामा सप्ताह लगाएको होइन होला, मनकामनामा लाखबत्ती बालेको पनि होइन होला । जहाँ एकनाथ ढकाल हुन्छन्, त्यहाँ धर्मका आडमा क्रिश्चियनहरुले देश बर्बाद पारेको चिन्ता बाबुरामबाटै भएपछि एकनाथसँग पहिला कसले बत्ती बालेको रहेछ, यो तस्बिर हेरेपछि अरु धेरै कटाक्ष गरिरहनु परेन । बरु यही तस्बिरले बाबुरामको बौद्धिकतामागि प्रहार गर्ला कि नगर्ला ?
अरु पनि तस्बिर छन्, जहाँ एकनाथ ढकालले लगाएको ‘मेला, महोत्सव, सम्मेलन’मा प्रमुख अतिथिहरु प्रष्टै चिन्न सकिन्छ । यतिबेला प्रधानमन्त्री केपी ओली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालमाथि बाबुरामको प्रहार बिल्कुल उनकै स्तरको शब्बदमा लेख्ने हो भने ‘बतासे’ सावित देखिन्छ । एकनाथ ढकालको एन्जिओ सत्तामा जो हुन्छ, उसैलाई सम्झन्छ । सत्तामा नभएकाहरुले आफू नबोलाइएकामा देश नै रसातलमा पुग्ने तर्क कति वैज्ञानिक, कति समाजवादी ?
अब दोस्रो प्रसंग जोडौँ । भर्खरै बाबुराम भट्टराईले निर्मला पन्तको परिवार भेटेर एक लाख रुपैयाँ दिए । त्यो पैसा उनले र उनको पार्टीले दिएको थिएन । अमेरिकाबाट प्राप्त सहयोग थियो । अमेरिका बसाइमा बाबुरामले कालोझण्डा फेस गरेको धेरै महिना बितेको छैन । विदेशबाट आएको दान दिएर बाबुरामले सरकारलाई नै प्रहार गरे । के त्यो पैसा अमेरिकमा सप्ताह, भागवत् लगाएर जम्मा भएको थियो ? त्यसको स्रोत के हो ? सरकारले त निर्मलाको परिवारलाई सहयोग गरेकै छ । बलात्कारी पक्रन प्रयास गरिरहँदा अराजकताको बिउ रोपेर मुलुकका कार्यकारीहरुको तेजोबध स्थिरता ल्याउने राजनीति होइन भन्ने कहिले बुझ्लान् विद्वानहरुले ?
केपी ओलीले सबै राम्रो गरे भन्ने बेला भएको छैन होला । तर प्रतिपक्षीको काम सामाजिक सञ्जालमा उडाउनु मात्र होइन । संसदमा बलियो प्रतिपक्षी पनि हुनु हो । जुन काम कांग्रेसले गर्नु पर्छ । बाबुराम सांसद हुनुमा कांग्रेसको जग छ । सामाजिक सञ्जालमा सरकारलाई धारे हात लगाएर मात्र समाजवाद आउने हो र ? तस्बिरहरु सामाजिक सञ्जालबाटै लिइएको हो ।