संयोग नेपालकाठमाडौं । केही दिनअघि विश्वकीर्तिमान कायम गर्ने अपेक्षासहित राजधानीमा एक किशोरीले १ सय २६ घण्टा लगातार नृत्य गरिन् । नृत्यांगना थिइन् १७ वर्षीया बन्दना नेपाल ।
५ वर्षको उमेरदेखि नाच्न शुरु गरेकी बन्दनाले विद्यालयमा आयोजना हुने सांस्कृतिक कार्यक्रमबाट आफूलाई नाच्न पोख्त बनाउँदै गइन् । कहीँ गीत बज्यो कि उनी खुट्टा उचालिहाल्थिन, नाचिहाल्थिन् । त्यही नाच्ने चाहनाले बन्दना र देश एकैपटक विश्वभर चिनिएको छ ।
बन्दनाले विश्वरेकर्ड राख्नुअघि लामो समय अभ्यास गरिन् । १ सय घण्टासम्म अभ्यास गरेकी बन्दनालाई १ सय २६ घण्टा सजिलैसँग नाच्न सक्छु भन्ने आत्मविश्वास बढ्यो । भन्छिन्, ‘१ सय घण्टा अभ्यास गर्दा सजिलैसँग सक्छु भन्ने आत्मविश्वास थियो तर जब विश्व रेकर्डका लागि नाच्न थालेँ, ४८ घण्टापछि नै गाह्रो हुन थाल्यो ।’ अभ्यासक्रममा बन्दनाले यसअघि विश्वकीर्तिमान राखेकी भारत केरलाकी कालामन्दलम् हेमलेथाले गरेको नृत्य पनि हेर्थिन् । नाच्दा कुनै कमजोरी नहोस् भन्नका लागि पटकपटक त्यही भिडियो हेर्थिन् । हेमलथाले १ सय २३ घण्टा १५ मिनेट नृत्य गरेकी थिइन् ।
१ सय २६ घण्टा नाच्नु सहज थिएन । तर त्यही असहजतालाई उनले सफल बनाएकी छन् । नाच्ने क्रममा बन्दनाको होससमेत हराएको थियो । अर्धचेत अवस्थामा पनि निरन्तर नृत्य गरिरहेकी थिइन् ।
बन्दनाले नाचेको १ सय २६ घण्टाको भिडियो गिनिज बुक अफ वर्ल्ड रेकर्डको कार्यालयमा पठाइसकिएको छ । अब केही कागजात पठाउन बाँकी छ । केहीदिनमै त्यो काम पनि हुनेछ । भिडियोको छिट्टै सकारात्मक प्रतिक्रिया आउनेमा आशावादी छिन् बन्दना ।
लामो समय नाच्दा बन्दना रोएकी थिइन् । यो कुरा बन्दना आफैँ पनि स्वीकार्छिन् । ‘म अर्धचेत भएको अवस्थामा पनि रुँदै नाचेको रै’छु,’ बन्दनाले भनिन्, ‘तर मलाई बेलाबेला होस आउँदा आफू रोएको राम्रोसँग याद छ ।’ विश्व रेकर्डका लागि नाच्दा बन्दनाका बुबाआमा, साथी र अन्य आफन्त उनलाई हौसला दिन उपस्थित थिए । उनलाई हौसला प्रदान गर्न विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्ति पनि नृत्यस्थल पुगेका थिए । उच्च पदस्थ व्यक्तिको उपस्थितिले नाच्न हिम्मत बढेको बन्दनाको भनाइ छ । कार्यक्रममा ‘बुगी वुगी’ बिजेता कविता नेपाली, नृत्य निर्देशक शंकर बिसी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका विशिष्ठ व्यक्तिहरुले बन्दनालाई हौसला प्रदान गरेका थिए ।
विद्यालयमा हुने विभिन्न प्रतिस्पर्धामा भाग लिएकी बन्दनालाई कहिल्यै ठुलास्तरका नृत्य प्रतिस्पर्धामा जान मन लागेन । ‘कुनै प्रतिस्पर्धामा गएर आफ्नो मात्र नाम कमाउनुभन्दा पनि विश्व कीर्तिमान राखेर देशको नाम कमाउनु उत्तम लागेको थियो,’ बन्दनाले भनिन्, ‘त्यसैले विश्वकीर्तिमानलाई रोजेँ ।’
‘तर म त्यो समयमा खुशी व्यक्त गर्ने अवस्थामै थिइनँ, अर्धचेत भइसकेको थिएँ ।’
१ सय २६ घण्टा नाच्नु सहज थिएन । तर त्यही असहजतालाई उनले सफल बनाएकी छन् । नाच्ने क्रममा बन्दनाको होससमेत हराएको थियो । अर्धचेत अवस्थामा पनि निरन्तर नृत्य गरिरहेकी थिइन् । ‘रेकर्ड तोडियो भनेर लेखेर देखाएको बोर्ड याद छ,’ बन्दनाले खुशी हुँदै भनिन्, ‘तर म त्यो समयमा खुशी व्यक्त गर्ने अवस्थामै थिइनँ, अर्धचेत भइसकेको थिएँ ।’ बन्दनालाई आफूले रेकर्ड राखेको धेरै राम्रोसँग याद पनि थिएन । अर्धचेत अवस्थामा रहेकी उनलाई आफूले १ सय २६ घण्टा नाचेर रेकर्ड तोडेको भोलिपल्ट बिहान आफ्नै घरको बेडरुममा मात्र राम्रोसँग थाहा भयो ।
बन्दनाको आगामी योजना समाजसेवा र कलाकारिता हो । उनी ‘बन्दना नेपाल फाउन्डेसन’ खोल्ने तयारीमा छिन् । फाउन्डेसनमार्फत अनाथ बालबालिका र दुःखी महिलाको सेवा गर्ने बन्दनाको सोच छ । ‘पहिलेदेखि नै समाजसेवा गर्छु भन्ने सोच थियो,’ उनी थप्छिन्, ‘तर नाचेरै केही बन्छु भन्ने लागेको थियो, त्यसको आजैबाट तयारी शुरु भएको छ ।’ बन्दनालाई अहिले म्युजिक भिडियोमा पनि अफर आइरहेको छ । उनी आफैँलाई पनि रुची भएका कारण केही म्युजिक भिडियोमा देखिने छिन् ।