संयोग नेपालकाठमाडौं । झट्ट हेर्दा कलाक्षेत्र एकदमै रमाइलो पेसा लाग्छ । रमाइलो, रोचक र रोमाञ्चक देखिने यो क्षेत्रमा प्रवेश गर्नेको ताँती पनि बढिरहेको छ । दैनिक सयौँको संख्यामा म्युजिक भिडियो र हास्य कार्यक्रम सार्वजनिक भइरहँदा सबै कलाकार सफल हुन्छन् भन्ने पनि छैन । नयाँ प्रतिभामा पनि कसले सबैभन्दा अलग्गै गर्नसक्छ, ऊ नै दर्शकमाझ परिचित हुन्छन् र गज्जबको ख्याति कमाउँछन् । आज हामी अरुको भन्दा फरक प्रस्तुति दिएर दर्शकमाझ लोकप्रिय र चर्चित बनेका कलाकारबारे चर्चा गर्दैछौँ, जसले वास्तविक उमेर लुकाएर फरक र स्वादिलो अभिनयबाट आफूलाई स्थापित गरे ।
जितु नेपाल (मुन्द्रे)‘मुन्द्रे’ नामबाट परिचित जितु नेपाल चर्चित हास्य कलाकार, निर्माता, प्रस्तोता हुन् । सन्तोष पन्तको चर्चित कार्यक्रम ‘हिजो आजका कुरा’बाट नेपाली कलाकारितामा प्रवेश गरेका जितुले त्यसपछि नेपाल टेलिभिजनमा ‘गीताञ्जली’ कार्यक्रम सञ्चालन गरे । ‘गीताञ्जली’ कार्यक्रम गरेको केहि समयपछि उनी ‘जिरे खुर्सानी’मा देखिए । सन २००३ बाट सुरु भएको ‘जिरे खुर्सानी’मा जितु ‘मुन्द्रे’को रुपमा देखिए । दर्शकले उनको भुमिका यतिधेरै मन पराएकी उनले त्यसपछि पछाडि फर्केर हेर्नै परेन । ‘मुन्द्रे’ एक युवा पात्र हो, जसले तेश्रो श्रेणीमा एलएलसी पास गरेका छन् । घरकै सबैभन्दा बढी पढेको हुनाले उसको फुर्तिफार्ति अलि बढी नै देखिन्छ । टेलिभिजनको पर्दामा उनको यस्तो भूमिकालाई सबैले रुचाएका थिए । अहिले उनको नयाँ शो ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारणमा छ । लामो समयदेखि टेलिभिजनको पर्दामा नदेखिएका जितुलाई फेरि पनि टेलिभिजन पर्दामा देखिन पाउँदा उनका शुभचिन्तक दङ्ग छन् ।
केदारप्रसाद घिमिरे (माग्नेबुढा)नेपाली हास्यजगतमा ‘माग्ने बुढा’ पात्र नौलो होइन । शुरुमा सन्तोष पन्तको ‘हिजो आजका कुरा’बाट कलाकारितामा प्रवेश गरेका केदारले कलाकारितामै भविष्य खनिखोस्री गरे । विगत २ दशकदेखि नेपाली कलाकारितामा सक्रिय केदारलाई २०६३ मा शुरु भएको ‘मेरी बास्सै’ हास्य टेलिश्रृंखलाले दर्शकमाझ लोकप्रिय बनाइदियो । उनले त्यसमा अभिनय गरेको ‘माग्ने बुढा’को भूमिकालाई दर्शकले यति धेरै रुचाए कि त्यसपछि उनले पछि फर्कनुपरेन । ‘माग्ने बुढा’ गाउँको एक गरिब पात्र हो । उसले आफ्नो जीवनको हरेक क्रियाकलाप सकेसम्म मागेरै चलाउन खोज्छ । मुख्य थेगो ‘अहिले लात्ताले दिएर बारीको पाटामा पुर्याइदिन्छु अनि’ हो । पछिल्लो केही वर्षदेखि टेलिभिजनबाट टाढा केदारले अभिनय गरेको चलचित्रमा पनि ‘माग्ने बूढा’कै भूमिका दर्शकको रोजाइमा छ ।
सीताराम कट्टेल (धुर्मुस)
सीतारामले ‘हिजो आजका कुरा’मा छोटो संवाद बोल्ने मौका पाए । औपचारिकरुपमा भने हास्यकलाकार जितु नेपालले उनलाई कलाकारितामा प्रवेश गराए । ‘गीताञ्जली’ टेलिफिल्ममा अभिनय गर्ने मौका जुरेसँगै उनले केदार घिमिरे (माग्ने बुढा)लाई भेटे । धुर्मुस र माग्ने बुढाको जोडी जम्यो । ‘गीताञ्जली’मा अभिनय गर्दागर्दै उनले दीपकराज गिरीसँगको चिनजानका कारण ‘तीतो सत्य’को १४ भागसम्म अभिनय गरे । पछि केदार घिमिरेसँग मिलेर ‘मेरी बास्सै’ हास्य टेलिश्रृंखला बनाए । ‘मेरी बास्सै’मा सीतारामले अभिनय गरेको धुर्मुस पात्रले चर्चा र लोकप्रियता कमायो । सीताराम कट्टेल एउटै टेलिश्रंखलामा सबैभन्दा धेरै भूमिकामा देखिएका कलाकार हुन् । उनी खड्काजी, मुस्कान पासा, केपी शर्माको नक्कली रुप, खडानन्दलगायत हरिवंश आचार्यको अधिकांश रोलमा मेरी बास्सैमा देखिए ।
कुञ्जना घिमिरे (सुन्तली)कुञ्जना घिमिरेलाई उनको वास्तविक नामले भन्दा पनि हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ले दिएको उपनाम ‘स’न्तली’ भनेर धेरैले चिन्छन् । ‘मेरी बास्सै’ प्रसारण हुनुअघि केही चलचित्र र टेलिसिरियलमा अभिनय गरेकी कुञ्जनाका लागि ‘मेरी बास्सै’ यस्तो ठाउँ बनिदियो, जसले नाम, दाम सँगै जीवनसाथी पनि दिलायो ।
‘सुन्तली’को भूमिकामा आउनुअघि खासै चर्चामा नआएकी कुञ्जना त्यसपछि धेरैको मनमा बसिन् । पछि कुञ्जनाको ‘सुन्तली’ भूमिकाभन्दा बढी ‘फतौरी बुढी’को भूमिका चर्चित बन्यो । ‘फतौरी बुढी’ गाउँकी एकल महिला हुन्, जसलाई गाउँकै अर्को पात्र ‘मुस्कान पासा’ले मन पराउँछ । र, ‘फतौरी’ले पनि ‘मुस्कान पासा’लाई नदेखिने गरी मनमनै मन पराउँछे ।
विल्सन विक्रम राई (तक्मेबुढा)
विल्सन विक्रम राई हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट नै चर्चित बनेका कलाकार हुन् । विल्सनलाई ‘मेरी बास्सै’मा केदारप्रसादले भित्र्याएका हुन् । केदार सबैका लागि ‘माग्ने बुढा’ भए पनि आफ्ना लागि भने ‘दिने बुढा’ भएको विल्सन हरेक कार्यक्रममा बताइरहेका हुन्छन् । मेरी बास्सैमा देखिनुअघि विल्सन विभिन्न चलचित्रमा छोटो भूमिकामा देखिइरहेका हुन्थे ।‘तक्मे बुढा’ एक भूपू आर्मी हो, जसले आफ्नो आसपासका मानिसलाई आफ्नो सैनिक जीवन र तक्माबार निरन्तर बताइरहन्छ । ‘मेरी बास्सै’मा अभिनय गरेपछि उनको हाइप देशमा मात्र नभएर देशबाहिर बस्ने नेपालीमाझ पनि उत्तिकै बढ्यो । त्यसपछि भने विल्सन सबैमाझ परिचित छन् ।
अर्जुन घिमिरे (पाँडे)
२०७० बाट शुरु भएको हास्य टेलिश्रृंखला ‘भद्रगोल’मा अभिनय गरेका मुख्य कलाकार अर्जुन घिमिरेलाई उनको वास्तविक नाम भन्दा पनि ‘पाँडे’का नामबाट धेरैले चिन्छन् । ‘हिजो आजका कुरा’ टेलिश्रृंखलाबाट अभिनय यात्रा शुरु गरेका अर्जुन नेपालका टप हास्यकलाकारको सूचीमा आफ्नो नाम सामेल गराउन सफल भइसकेका छन् । हास्य टेलिश्रृंखला ‘भद्रगोल’ विगत ५ वर्षदेखि प्रसारणमा आए पनि बीचमा पटकपटक कलाकार र मिडिया एजेन्सीबीच कुरा नमिल्दा रोकियो । तर अहिले भने कार्यक्रम नियमित प्रसारणमा छ । अर्जुन अहिले कार्यक्रममा लेखक तथा निर्देशक पनि हुन् । टेलिश्रृंखलामा ‘पाँडे’को भूमिका एक फटाहा एवम् गरिब बुढो मानिसको छ । जसले गाउँमा कसै न कसैको नराम्रो काम गरेकै हुन्छ ।
कुमार कट्टेल (जिग्री)
हास्य कलाकार सीताराम कट्टेलका भाइ कुमार कट्टेलले सबैभन्दा पहिले आफ्नो ‘जिग्री’को भूमिकालाई ‘मेरी बास्सै’मा देखाएका थिए । ‘मेरी बास्सै’का केही एपिसोडमा देखिएको ‘जिग्री’ भूमिकालाई युवा दर्शकले खुब मन पराएका थिए । तर तत्कालीन समयमा कुमारले केही एपिसोडपछि ‘मेरी बास्सै’मा देखिएनन् । तर पछि उनले हास्यकलाकार अर्जुन घिमिरेसँग मिलेर ‘भद्रगोल’मा अभिनय गर्न थाले । शुरुवातमा शंकर आचार्यले निर्देशन गरेको टेलिश्रृंखलामा कुमारले स्क्रिप्ट लेख्ने काम गरे । पछि शंकरले टेलिश्रृंखला नगर्ने भएपछि कुमार र अर्जुन दुवैले ‘भद्रगोल’ निर्देशन गरिरहेका छन् । ‘जिग्री’ गाउँको एक काम नभएको युवक हो, जसको गाउँकै एक युवतीसँग प्रेम बसेको छ । उसँग अरु दुई साथीहरु पनि काम नपाएर लफङ्गो बनेर हिँडिरहेका छन् ।
उमेश राई (फुलन्देकी आमा)
हास्यकलाकार उमेश राईलाई चिन्नेको जमात एकदमै कम छ । तर ‘फुलन्देकी आमा’ भन्नेबित्तिकै सबैलाई थाहा भएकै नाम हुन्छ । टेलिचलचित्र ‘गज्जब छ बा’ मार्फत फुलन्देकी आमाको भूमिकाबाट चर्चामा आएका उमेश अभिनयसँगै नृत्य पनि दमदार गर्छन् । महिलाको भेषमा तयार हुन उमेशलाई एकदमै धेरै समय लाग्छ । उमेशलाई अरु कसैले तयार गर्दैन, सुटिङका लागि उमेश आफैँ तयार हुन्छन् । कार्यक्रममा उनको भेषभूषा पुरानो किसिमको हुन्छ, यानिकी गाउँघरमा आमाले लगाउने फरिया, गुन्युचोली बुलाकी इत्यादि । उमेश अहिले चर्चित हास्यकलाकार जितु नेपालको शो ‘मुन्द्रेको कमेडी क्लब’मा आवद्ध छन् । जितु नेपालसँग काम गर्न पाउँदा उनी अत्यन्तै खुशी छन् । चार एपिसोड प्रसारणमा आइसक्दा शो उमेशले भूमिकालाई पनि दर्शकहरुले रुचाएका छन् ।