कात्तिक ५ गते यता नेपाली कांग्रेस नेत्री सुजाता कोइराला निवास मण्डिखाटारमा लगातार कोइराला निकटका नेताहरुको बैठक चलिरहेको छ । लञ्च, डिनर, ब्रेकफास्ट मिटिङ भइरहेका छन् । यसका अलावा जिपी कोइराला फाउन्डेसनका नाममा पनि कोइराला परिवारले सामाजिक र राजनीतिक गतिविधि तीव्र पारेका छन् । ‘कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने’ वाचा किरियाहरु बाहिर आएका छन् । यसको सीधा अर्थ हो, कांग्रेस र सभापति शेरबहादुर देउवा दुवै ‘लोप’ हुने अवस्थामा छ । यस्ता बैठक र छलफलमा कोइराला परिवारका डा. शशांक कोइराला, शेखर कोइराला त पुग्ने नै भए । वरिष्ठ नेता रामचन्द्र पौडेल, सभापतिमा पराजित अर्का नेता कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. रामशरण महत, बलबहादुर केसी, गगन थापासमेत सुजाता कोइरालाका ‘भोज’मा पुग्ने गरेका छन् ।
यो भोजको क्रम पार्टीको केन्द्रीय समिति बैठक र महासमिति बैठकमा केन्द्रित छ । पार्टी सभापति शेरबहादुर देउवाको मनोमानीविरुद्ध लक्षित छ । १४ औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा पक्षधरलाई पाखा लगाएर पार्टीमा पुनः ‘कोइराला विरासत’ पुनस्थापनामा केन्द्रित छ । यसका लागि सुजाताले लगातार भोज लगाइरहेकी छिन् । महामन्त्री डा. शशांक कोइरालाले ‘हिन्दू’को कुरा उठाएका छन् । राप्रपाका कमल थापाले हिन्दूको कुरा उठाएर आफूलाई राजनीतिमा ‘जीवित’ राख्न ‘प्राणवायु’ जडिबुटि बनाएको ‘हिन्दू’ले कांग्रेस र कोइरालाको रक्षा गर्ला कि नगर्ला ? कांग्रेसीजनमै छलफल चलिरहेको छ । गुटको भेलामा कांग्रेसीजनले उच्चारण गरेको ‘हिन्दू’ अनि सुजाता कोइरालाको भोजमा सरिक भएलगत्तै गणेशमान सिंह पुत्र प्रकाशमान सिंहको ‘ज्ञानेन्द्र जम्काभेट’ पनि चर्चामै छ ।
हिन्दूधर्ममा एउटा भनाइ छ, ‘कात्तिकमा भोज खानू, त्यो पनि अमलाको बोटमुनि पकाएर ।’ यसले पुण्य हुने भनाइ छ । कात्तिक ५ गतेदेखि सुजाता कोइरालाकहाँ लागेको भोजले कांग्रेस अब ‘हिन्दू’ मुद्दा जुरुक्क बोकेर देशाटनमा जान्छ र अर्को निर्वाचनमा जनतालाई भरलाग्दो ‘अमलाको बोट’ हुन्छ, जहाँ जनता खुशी भएर ओत र उत्पादनमा जोडिने छन् । कोरा कल्पना यही हो । कल्पनामा रमाउन पाइन्छ । सपना देख्न पाइन्छ । त्यसैले कोइराला परिवार यतिखेर कांग्रेसलाई सबैको ‘अमलाको बोट’ बनाउने अभियानमा जुटेको देखिन्छ । कात्तिकदेखि लागेको भोजको निरन्तर सन्देश यही हो । आइतबारदेखि पार्टीको विधान मस्यौदामाथि निरन्तर छलफलमा जुटेको कांग्रेस जिल्ला सभापतिले पेश गरेको प्रतिवेदनमा पनि छलफल गर्दैछ । कांग्रेस जिल्ला सभापतिको ककनी भेलाले तयार पारेको प्रतिवेदन सभापति शेरबहादुर देउवाले पाइसकेका छन् । जिल्ला सभापतिहरुले पार्टी सभापतिको क्षेत्राधिकार, केन्द्रीय सदस्यको संख्या र गुटगत राजनीतिको अन्त्य गर्न सुझाव दिएका छन् । जबकी, देउवाविरुद्ध लगातारका भेलाले देउवा नै कुन मोडमा उभिएर ‘पाँचौँपटक प्रधानमन्त्री’ बन्न सकिएला र पार्टीमा ‘एकछत्र’ रहिरहला भनेर सोचमग्न छन् । मंसिर २८ गतेदेखि हुने महासमिति बैठकमा मण्डिखाटार भेलाको प्रहार कस्तो आउला र कसरी ‘फेस’ गर्ने भन्ने सभापतिको पनि तयारी पक्कै होला ।
शेरबहादुर देउवा आफैँ यतिखेर अमलाको बोट हुन् । उनको छत्रछायाँमा कांग्रेस फैलिन नसक्नुमा कोइराला परिवार, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर र युवा पुस्ताको ‘अनसिन’ असहयोग काफी छ । अर्कातिर दुई ठूला पार्टी एकीकृत भएर निर्वाचनमा जाँदा प्रदेश सरकारदेखि केन्द्रीय सरकार गुमेको पीडा पनि छ । यस्तो अवस्थामा लगातार सभापतिविरुद्ध मण्डिखाटारमा भइरहेको भेला के कांग्रेस जोगाउने ‘अमलाको बोट’ बन्ला ? या देउवालाई पाखा लगाएर कोइराला परिवारको पुनर्बहालीमै केन्द्रित छ ? कांग्रेसमा सभापति देउवा पाँचौँपटक प्रधानमन्त्रीको तयारीमा छन् । रामचन्द्र पौडेल सभापतिको दौडमा छन् । कृष्ण सिटौलामा पनि त्यही भोक देखिन्छ । प्रकाशमान सिंहको सक्रियता महामन्त्री र उपसभापतिका लागि छैन । ६ पटक मन्त्री भएका रामशरण महतको सपना सभापति नै छ । यस्तो बेला कोइराला परिवारमा शशांक कोइराला पनि ‘भावी सभापति’को तयारीमा छन् । यसैले यस्तो बेला चलाइरहेको भेलामा भोज खाएर फर्किएकाहरु कोइराला परिवारको विरासत होइन, आफ्नो भूमिका खोजिरहेका छन् । हिन्दू र कोइराला कांग्रेसमा ‘अमलाको बोट’ बन्ला भनेर भोज खान जानेहरुले नै त्यतिखेर पत्याउँछन् जब उनीहरुको ‘सक्रिय भूमिका’को भागवण्डामा कोइराला परिवार लचिलो हुनेछ । किनभने सभापति पद्धतिको पार्टीमा सभापति ‘सर्वाधिकार’ हो । अरु सबै सभापतिकै ‘तजबिज’मा हुने कुरा हो । देउवालाई ‘अमलाको बोट’ मान्दा कति फाइदा होला या भोजमा जाने को–को तान्दा ‘अमलाको बोट’मा मुकर्रर भइरहिएला, देउवा र कोइराला परिवारको ‘अमलाको बोट’ बन्ने होडबाजी हाकाहाकी र भित्र गुपचुप चुलिएकै छ । देशलाई समृद्धि चाहिएको हो, त्यो खाका चैँ हाकाहाकी र लुकिछिपी भइरहेका भेलाले सार्वजनिक गर्न किन कन्ज्युस्याइँ गरेको होला ? तस्बिरहरु नेपाली कांग्रेस नेत्री सुजाता कोइरालाको फेसबुकबाट ।