काठमाडौं । केही गर्ने इच्छाशक्ति भए शारीरिक अपांगताले नछेक्ने धेरै उदाहरण छन् । यस्तैमा गायक अमिर बम्जनलाई पनि संगीत तथा कला क्षेत्रमा लाग्न शारीरिक अपांगताले छेकेन ।
शारीरिक रुपमा हिँडडुल गर्न नसक्ने १९ वर्षीय अमिर कलाक्षेत्रमा क्रियाशील छन् । जन्मजात गर्धन मुनिको कुनै अंग नचल्ने भए पनि जीवनमा हरेस नखाइ केही न केही गर्नुपर्छ भन्ने अठोटका साथ अमिरले चित्रकला र संगीत रोजे । गत शुक्रबार कमलपोखरीस्थित रसियन कल्चरमा आयोजित कार्यक्रममा बम्जनको स्वरमा रहेका ४ गीत सार्वजनिक भए ।
कार्यक्रममा सार्वजनिक भएका ४ गीतमध्ये २ गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरियो । सार्वजनिक दुवै म्युजिक भिडियो निर्देशक प्रविन श्रेष्ठले सम्पादन तथा निर्देशन गरेका हुन् । ‘यो मनले’ गीतको भिडियोमा कृपा बज्राचार्यले अभिनय गरेकी छिन् भने ‘माया भन्ने’ गीतको भिडियोमा रिमा विश्वकर्मा र भीमफेदी गाइजको अभिनय छ ।
https://www.youtube.com/watch?v=bxNoQ6A8jpM
कार्यक्रममा अमिरले प्रत्यक्ष आफ्नो नयाँ गीत सुनाएका थिए भने अन द स्पट क्यानभासमा मुखले नै चराको तस्बिर बनाए । अमिरले आफूलाई गिलासभित्र हराउन मन नभएको बताउँदै अझै गीतसंगीत र चित्रकला सिक्न इच्छुक रहेको बताए ।
२०७२ को भूकम्पपश्चात टहरामा बसिरहेका बेला गैरसरकारी संस्था करुणा फाउण्डेशनले अमिरलाई मकवानपुरको थाहा नगरपालिकामा फेला पारेको थियो । गाउने र चित्र पनि कोर्ने थाहा पाएपछि संस्थाले उनको प्रतिभा बाहिर ल्याउन मकवानपुरबाट काठमाडौं ल्याएको हो ।
कार्यक्रममा अमिरका गुरु चित्रकार किरण मानन्धरले अमिरको संगीत र चित्रकलाप्रतिको लगावको प्रसंगमा उनीसँगको पहिलो भेटलाई स्मरण गरेका थिए । चित्रकार मानन्धरले नै संगीतकार न्ह्यू बज्राचार्यसँग अमिरको भेट गराइदिएका थिए । त्यसपश्चात न्ह्यू बज्राचार्यको संगीत सिर्जनामा बम्जनले आफ्नै शब्द सिर्जना तथा स्वरमा ‘आमा’ बोलको गीत सार्वजनिक गरेका थिए ।
अमिरका सार्वजनिक गरिएका नयाँ गीतहरुमा भने बसन्त सापकोटाले संगीत सिर्जना गरेका छन् । सापकोटाले अमिरलाई अझै संगीत सिकाउन सके धरै राम्रो गर्नसक्ने बताए ।
अमिरले चित्रकलाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड तथा पुरस्कार हासिल गरिसकेका छन् । २७ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस सन्दर्भ पारेर गरिएको कार्यक्रममा बैशाखीको सहारामा जीवन बिताइरहेका अर्का चित्रकार लक्ष्मीभक्त भासीले पनि अन द स्पट चित्रकला प्रस्तुत गरे । सोही दिन कार्यक्रमपछि अमिरका १० र लक्ष्मीभक्तका २० तस्बिर बिक्रीका लागि प्रदर्शनीमा राखिएको थियो ।