भगीरथ भण्डारी
इलाम । यस वर्ष सुन्तलामा लागेको रोगका कारणले उत्पादनमा कमी आएको छ । सुन्तलामा रोग लागेकै कारण गत वर्षको तुलानामा आधा उत्पादन घटेको किसानको भनाइ छ । जिल्लामा ३ सय ९ हेक्टर क्षेत्रफलमा सुन्तला बगान रहेका छन् ।
‘रोगका कारण सबै बगान मासिए पछि नयाँ लगाउने क्रममा रहेको माइजोगमाई गाउँपालिका ६ प्याङका दीपक नेपाल बताउँछन् । उनले ‘केही वर्षअघि सुन्तलाको बिक्रीबाट वर्षभरि खान पुग्ने आम्दानी हुन्थ्यो तर अहिले रोग लागेर सुन्तला मासिएपछि उत्पादन आधा घटेको छ ।कृषकलाई सुन्तलाको मलखाद र विषादी प्रयोगको ज्ञान नहुनु,मौसमी रोग, किराको प्रकोप, सुन्तलाको चिचिला लागेका बेला असिना आउनुले पनि उत्पादन घटेको कृषकहरु बताउँछन् ।
![](https://45.77.241.73/wp-content/uploads/2018/12/suntala.jpg)
पुराना बोटमा रोगको संक्रमण डढेलोजस्तो सल्किँदै गएको छ । रोगकै कारणले सुन्तलाको ७० प्रतिशत उत्पादन घट्ने अवस्था रहेको किसानको भनाइ छ । गत वर्ष सुन्तला फल्न थालेपछि घरघरमा व्यापारी आउथे र बगानकै मूल्य तोकेर सुन्तला बिक्री गर्ने कृषक यसवर्ष बगानको मोल गत वर्षको तुलनामा आधा मात्र भएको बताउछन् ।
गत वर्ष १० लाख रुपैयाँमा बिक्री भएका सुन्तलाका बगान यो वर्ष मुस्किलले ५ लाख रुपैयाँमा मात्र भएको छ । पछिल्लो समय सुन्तलामा देखिएको सिट्रस ग्रिनिङ रोगका कारण सुन्तला टुप्पोबाट सुक्दै जाने, पात पहेंलिने र बोटै सुक्ने समस्याले सुन्तलाको उत्पादन घटेको पाइन्छ ।
![](https://45.77.241.73/wp-content/uploads/2018/12/suntali.jpg)
जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने इलाम नगरपालिका, नामसालिङ, सोयाङ, गोदकलगायत स्थानमा सुन्तलाको उत्पादनमा कमी आएको छ । गत वर्षहरू जस्तो यो वर्ष बोटमा दाना नै कम लागेको कृषकको भनाइ छ । रोगको संक्रमणले हरेक बगानमा बोट सुक्ने क्रम पनि बढिरहेको छ ।