परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सामाजिक सुरक्षा कार्यक्रममा प्रधानमन्त्रीको तस्बिर टास्दा ‘अपराधी’लाई जसरी प्रतिक्रिया आएको र विरोधका लागि विरोध भएको बताउनु भएको छ । जनता समाचार डटकमका लागि कान्ति न्यौपानेसँग कुरा गर्दै मन्त्री ज्ञवालीले ३५ लाख श्रमिक जोडिएको विषयमा प्रधानमन्त्रीको तस्बिर राख्न कुनै गल्ती नभएको बताउनु भयो । उहाँले एसिया प्यासिफिक समिटलाई सरकार आयोजक र धर्म प्रचारका नाम जोडेर प्रतिपक्षले ‘विरोधको राजनीतिक भूमिका’ निर्वाह मात्र गरेको र यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टीभित्रैका नेताहरुले नबुझेर प्रतिक्रिया दिएका भए बुझाउन सकिने र गल्ती भएको भए सच्याउन सकिने मन्त्री ज्ञवालीको तर्क छ । पूरा कुराकानी हेर्नुहोस्ः
एसिया प्यासिफिक सम्मेलनको उपलब्धी के हो ?एसिया प्यासिफिक सम्मेलन शान्ति, विश्वव्यापी मूल्यमान्यता र दिगो विकासको उद्देश्य राखेर गरिएको थियो । यो एउटा गैरसरकारी प्रयास हो । एसियाली राजनीतिक पार्टीहरुको राजनीतिक सम्मेलन आइक्याब, शान्तिका लागि सांसदहरुको अन्तराष्ट्रिय एलाइन्स र युनिभर्सल पिस फेडेरेसन आयोजक थिए । नेपाल सरकारले यो कार्यक्रमलाई तीन किसिमले सहयोग गर्यो । पहिलो त्यहाँ आएका विदेशी पाहुनाको सुरक्षाको पाटो हामीले हेर्न जरुरी थियो, हे¥यौँ । दोस्रो, यति ठूलो अन्तर्राष्ट्रिय जमघटमा हाम्रा कुरा राख्ने, समस्या भन्ने र अन्तर्राष्ट्रियस्तरमा देश चिनाउन हामीले कुराहरु राख्यौँ । र, तेश्रो कुरा, यससँग जोडेर केही द्विपक्षीय भ्रमण भए । कम्बोडियाका प्रधानमन्त्रीले इतिहासमै पहिलोपटक नेपाल भ्रमण गर्नुभयो, त्यसैगरी म्यानमारकी स्टेट काउन्सिलर पनि नेपाल आउनुभयो । जलवायु परिवर्तनको विश्वव्यापी समस्याबाट दुईखालका देश सबैभन्दा बढी प्रभावित छन् । एउटा हिमाली राष्ट्रहरु र दोश्रो टापु भएका राष्ट्रहरु । सम्मेलनमा उल्लेख्यरुपमा टापु राष्ट्र र हिमाली राष्ट्रको सहभागिता थियो । यी कुराको सन्देश सम्प्रेषित गर्ने हिसाबले एउटा उपलब्धीपूर्ण नै मान्नुपर्छ ।
https://www.youtube.com/watch?v=w4uyeLp3J7k
‘धर्मप्रचार भयो’ भन्ने छ नि ?यो सम्मेलन धर्म प्रचारका लागि भएको थिएन । यद्यपि आयोजकमध्येको एउटा संस्था धर्मसँग जोडिएको छ । तर यो कुनै धार्मिक कार्यक्रम होइन । त्यहाँ विभिन्न धर्मका गुरु पनि हुनुहुथ्यो । त्यही कार्यक्रमको एउटा सेसनमा त विभिन्न धर्मका गुरुहरुबीच अन्तर्सम्वाद पनि भयो । बेठिक होइन । यो मूलतः एसियाका राजनीतिक पार्टी, एसिया प्रशान्त क्षेत्रका विभिन्न देशका सरकार प्रमुख र सामाजिक संघसंस्था मिलेर जल्दाबल्दा समस्या समाधान गर्न गरिएको हो ।
कार्यक्रमलाई लिएर विभिन्न टिकाटिप्पणी भएका छन्, के भन्नुहुन्छ ?नेपाललाई हामी कसरी चिनाउँछौ ? नेपालप्रति विदेशी पर्यटकको आकर्षण हामी कसरी बढाउँछौँ ? कार्यक्रमहरु त यस्तै नै गर्ने होला । विभिन्न धर्म, समुदाय, आस्था भएका मानिस नेपाल आउँदा ‘एउटा न्युट्रल’ ठाउँ रहेछ, यहाँ सबै किसिमका मानिसलाई समान तरिकाले स्वागत हुँदोरै’छ भन्ने सन्देश जाँदा नै बढी भन्दा बढी पर्यटक आउँछन् । हामी २०२० मा पर्यटन वर्ष मनाउने भनिरहेका छौँ, यस्ता कार्यक्रमबाट नेपाललाई नचिनाउने हो भने नेपालमा पर्यटक कसरी भित्रिन्छन् ? नेपालको प्रवद्र्धन गर्ने मौका पनि हो यो । पार्टीका नेताहरुले गरेको टिप्पणीको सन्दर्भमा उहाँहरुसँग बसेर छलफल हुन्छ । उहाँहरुले नबुझ्नुभएको हो भने बुझाउन सकिन्छ अथवा हामीबाट आयोजनामा केही कमीकमजोरी भएको हो भने त्यसबाट पाठ सिक्न सकिन्छ । नेपालजस्तो देशले धेरैभन्दा धेरै देशसँग सम्बन्ध बढाउँदा त्यसलाई नराम्रो भन्नु हुँदैन । नेपालमा यस्ता कार्यक्रमले पनि पर्यटन प्रवद्र्धनमा मद्दत पुग्छ । दुईवटा हिसाबले अन्यौल भएको जस्तो देखिन्छ । एकथरी मान्छेले नेपाल सरकार सहआयोजक हो कि भनेर प्रचार गरे, त्यो सत्य थिएन । दोश्रो धर्मसँग जोडेर यसलाई विवादमा ल्याउन खोजियो, त्यो पनि कदापि सत्य होइन ।
https://www.youtube.com/watch?v=w4uyeLp3J7k
अरु देशले एसिया प्यासिफिक गर्न स्थान दिएन, तर नेपालले चाँहि किन दियो ?यस्ता सम्मेलन विभिन्न देशमा हुन्छन् । यो नै पहिलो सम्मेलन होइन । अब अन्य देशका विभिन्न कुरा होलान्, त्यतातिर हामी जानु जरुरी छैन । हामीले स्थान दिनु उपयुक्त छ कि छैन भन्ने सन्दर्भमा छलफल भइसकेपछि स्थान दिइएको हो । नेपालका लागि यो एउटा अवसर पनि हो । अरु देशले गर्न दियो भन्दैमा हामीले पनि दिने अरु देशले दिएन भन्दैमा हामीले नदिने कुरै रहँदैन । हामीले स्वतन्त्र ढङ्गले विश्लेषण गरेर मात्र कार्यक्रम गर्न स्वीकृति दिएका हौँ ।
प्रतिपक्षको विरोधलाई कसरी सम्बोधन गर्ने ?उहाँहरुले एकखालको राजनीति गरिरहनुभएको छ । उहाँहरुले जे विषयलाई उठाएर सरकारको आलोचना गरिरहनुभएको छ, युनिभर्सल पिस फेडेरेसनको कार्यक्रममा त नेपाली कांग्रेसका सबै नेता गएको देखिन्छ । कतिपयले त दिनमा एकपटक फलानोको नाम लिनुस्, बैतर्नी नै तनुहुन्छ भन्नेजस्तो भिडियो नै सार्वजनिक गर्नुभएको छ । यो ढोङ् र पाखण्ड हो । त्यो गलत नै कुरा थियो भने उहाँहरुले पनि नगरेको भए हुन्थ्यो, होइन भने नेपाल धर्मनिरपेक्ष देश हो । सबैखालका मान्यतालाई देशले स्वीकार गर्छ र आफ्ना मूल्यमान्यताबारे हामी दृढ छौँ । त्यसैले प्रतिपक्षको विरोध ‘विरोधका लागि विरोध’ हो । उहाँहरुले सस्तो लोकप्रियताको लागि विरोध गरिहनुभएको छ ।
सामाजिक सुरक्षा कार्यक्रमको प्रचार भड्किलो भयो भन्छन् नि ?एक खालका साथीहरु जे गरे पनि सरकारको विरोध गर्नैपर्छ भन्ने मान्यताबाट चलिरहनुभएको छ । होइन भने नेपालको इतिहासमा यति फराकिलो तहमा समाजिक सुरक्षाको कार्यक्रम लागु हुँदै छ । यसबारे प्रचार हुनु, जनताले थाहा पाउनु, सेवाग्राही त्यसबारे सजग हुनु जरुरी छ । सामाजिक सुरक्षाका लागि प्रत्येक व्यक्ति आफैँ जोडिनुपर्ने हुन्छ, त्यो थाहा नपाई एउटा श्रमिकले कसरी लगानी गर्छ । श्रमिकसँग पुग्न गरिएको प्रचारलाई नकारात्मक ढङ्गले लिनु पूर्वाग्रह मात्र देखिन्छ । पत्रपत्रिकामा आएका विज्ञापनलाई विभिन्न निजी संघसंस्थाले प्रचार गरेका हुन् । यति राम्रो कार्यक्रमको प्रचार गर्दा किन नकारात्मक टिप्पणी आइरहेको छ, मैले त्यो बुझ्न सकिरहेको छैन । यदि यसरी प्रचार नगरेको भए पनि त्यस्तै आलोचना हुन्थ्यो ।
प्रधानमन्त्रीको फोटो नराखेर श्रमिकका फोटो राख्न सकिन्थ्यो होला नि ?त्यहाँ श्रमिकको फोटो पनि छ । माइतीघर अगाडि हेर्नुभयो भने कुन–कुन स्किममा कसरी दिइन्छ भन्ने विषयमा स्पष्ट पारी सांकेतिक ढङ्गले फरक प्रकृतिका फोटो राखिएको छ । यो कार्यक्रमले ३५ लाख श्रमिकलाई समेट्छ, ३५ लाखकै फोटो राख्ने त होइन होला ! देशका प्रधानमन्त्रीले यो कार्यक्रम उद्घाटन गर्दै हुनुहुन्छ भने के उहाँको फोटो राख्नु अपराध हो ? प्रधानमन्त्री अपराधी हो ? जसको फोटो टाँस्नै हुँदैन ? हामी अलि बढी नै संकीर्ण भयौँ कि ? व्यक्ति मन पर्ला नपर्ला तर सरकार त सरकारै हो । अहिले जसले चर्को आलोचना गरिरहनुभएको छ, उहाँहरुको कार्यकालमा उहाँहरुले गर्नु भएको प्रचारप्रसार पनि देखेका छौँ । त्यसरी आलोचना गर्नुभन्दा पनि नेपालमा आएका विभिन्न देशका नेताले जलवायु परिवर्तन, व्यापार युद्धबारे के बोले भन्नेबारे हाम्रो बहस हुनुपर्थ्यो । हामी अलि बढी नै नकारात्मक भयौँ कि ? त्यस्तो सम्मेलनले केही त निकाल्यो होला नि, तर त्यसबारे कतै पनि चर्चा भएको छैन । काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको सम्मेलनको एउटा बुँदामा नेपालको शान्तिप्रक्रिया पढ्न आऊ, यो संसारकै नमूना हो भनिएको छ । तर त्यस विषयमा कतै पनि प्रचार भएको पाइएको छैन । यहाँसम्मकी कुनै पत्रपत्रिका, टेलिभिजन र रेडियोमा त्योबारे आएको थाहा छैन । यस्तो पूर्वाग्रहले एकछिन सन्तुष्टि हुन्छ तर प्रकारान्तरले त्यसले देशलाई नै घाटा पुर्याउँछ । हाम्रा मिडियाको रुची सकारात्मक भन्दा पनि नकारात्मक कुरामा बढी देखियो । यस्ता कार्यक्रम नेपालमा भइरहनुपर्छ । नेपाल सम्मेलनको देश भनेर चिचिनुपर्छ । चिनिएका नचिनिएका सबै देशमा मानिस यहाँ आउनुपर्छ, तब न २०२० मा २० लाख पर्यटक पुग्ला । भोलि कुनै बेला अप्ठ्यारो पर्दा बोलिदिने अन्तर्राष्ट्रिय समुदाय चाहिएला । त्यसका लागि पनि यस्ता सम्मेलन भइरहनु आवश्यक छ । त्यसैले नकारात्मक नबनौँ ।
https://www.youtube.com/watch?v=w4uyeLp3J7k