दिनेश गजमेरधरान । ग्रिलको काम गर्ने आशीष ठटाल कहिलेकाहीँ साथीसँग गाउँ नजिकैको चारकोशे जंगलमा शिकार खेल्न जान्थे । मंसिर ७ गते पनि साथीहरुले शिकार खेल्न जाने आग्रह गर्दा बिसन्चो भएको भन्दै जान मानेका थिएनन् तर साथीहरुले कर गरेपछि उनी शिकारका लागि गए । मन नलाग्दा पनि साथी रिसाउने डरले शिकारका लागि गएको दिन नै उनको अन्तिम दिन बन्यो । बँदेल मार्न गएका उनले साथीहरुले आफैँलाई बँदेल जस्तो ठानेर गोली प्रहार गर्दा ज्यान गुमाए ।
धरान–१७ स्थित उदय टोलका १७ वर्षीय ठटाल कान्छा छोरा हुन् । दलित समुदायका गरिब परिवारका ठटालसहित ठूलो दाजु आमोस ठटालको आम्दानीले घर चलेको थियो । साथीको लहैलहैमा लाग्दा घरको चुल्हो बाल्ने एउटा छोरा गुमाएका छन् बुबा कुमार ठटालले ।
मंसिर ७ गते बेलुका ठटालसँगै चारकोशे जंगलमा शिकार खेल्न भरुवा बन्दुक लिएर ६ जना गएका थिए । जंगलमा पर्ने उदय सामुदायिक वनमा शिकार खोज्दै जाँदा ८ गते बिहान ३ बजेतिर रुखको फेदमा थकाई मारिरहेका थिए । पक्राउ परेका साथीको बयानको आधारमा शिकार छेक्न तीन वटा टोली बनाएका थिए । २–२ जनाको टोलीले ३ तिरबाट छेक्न योजना बनाएका थिए । ठटाल टाउको दुख्यो भन्दै त्यहीँ बसेपछि उनका टोलीको साथी एक्लै गए । अर्को टोलीबाट आउँदै गरेको साथी कमल गुरुङले रुखको फेदमा बसिरहेका ठटाललाई चिन्न नसकेर बँदेल सम्झेर गोली प्रहार गरे । आशीषको छातिमा लाग्यो । उनी त्यहीँ ढले । उनीसँग गुरुङसहित हेम राई, आविष्कार लिम्बु, मोहन बराइली र सञ्जेल राई थिए । गुरुङको गोली प्रहारबाट मृत्यु भएका ठटाललाई सबै साथीहरु मिलेर जंगलमा गाडेर फर्किए ।
७ दिनसम्म भाइ घरमा नफर्किएपछि दाजु आमोसले इलाका प्रहरी कार्यालय धरानमा हुलियासहित खोजतलासका लागि निवेदन दिए । खोजतलासक्रममा शिकार खेल्न साथीसँग गएको अनुसन्धानबाट थाहा पाएपछि प्रहरीले मोहन बराइली र कमल गुरुङलाई पक्राउ गरेपछि घटना सार्वजनिक भएको थियो । ११ दिनपछि उनको शव प्रहरीले उत्खनन् गरी निकालेको थियो ।
शिकार खेल्न गएका सँगैका साथीलाई गोली हानी हत्या गरेका ६ जनालाई इलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको छ । उनीहरुका साथबाट दुई नाल भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीका अनुसार, एक थान पड्केको र अर्को थान नपड्केको भरुवा बन्दुक बरामद भएको हो ।
प्रारम्भिक अनुसन्धानपछि ज्यानसम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अवैधानिकरुपमा भरुवा बन्दुक राखेको पाइएकाले हातहतियार तथा खरखजाना मुद्दा पनि चलाइने इलाका प्रहरी कार्यालयका प्रमुख सुमन तिमिल्सिनाले बताउनु भयो ।
https://www.youtube.com/watch?v=MXRBdfvOBs8