काठमाडौं । नेपाल इञ्जिनियर्स एसोसियसन (नेइए)को निर्वाचनमा देशभरका इञ्जिनियर होमिएका छन् । प्रजातान्त्रिक खेमाले नेतृत्व गर्दै आएको नेइएमा यसपटक प्रोग्रेसिभ इञ्जिनियरिङ एसोसियसन (पिन)ले आफ्ना विधि एजेण्डासहित नेतृत्वको दाबी गरेको छ । प्यानलगत प्रतिस्पर्धामा पिनका इञ्जिनियरहरु प्रचार अभियानमा जुटेका छन् । मंसिर २८ गते हुने निर्वाचनलाई लक्ष्यित गर्दै चुनावी प्रचार तीव्र पारिएको छ ।
पिनका तर्फबाट नेइएमा उपमहासचिवका उम्मेदवार इञ्जिनियर कपिल आचार्य यसपटक पिन पक्षलाई किन भोट दिने भन्नेमा यसरी तर्क गर्नुहुन्छः
नेइएको सुधार होइन परिवर्तन४७ हजार इञ्जिनियर छन् । नेइएमा २८ हजार सदस्य थिए । अहिले घटेर १७ हजारमा झरेको छ । संस्थाप्रति झुकाव किन घट्यो ? नेतृत्व असफल भएर । एउटा नागरिक संस्था, त्यो पनि प्राविधिकहरु, जो यो देशका लागि जरुरी छन् । नेइएले कहिले पनि बोलेको सुनिएन । देश पुनर्निर्मा(ण चरणमा छ । इञ्जिनियरहरुकै जरुरी छ । तर नेइए बोल्दैन् । अरु बसै तह र वर्गले आफ्नो अस्तित्व र पहिचानको कुरा गर्छन् । तर प्राविधिक फाँटको इञ्जिनियरहरुको संस्था कतै चुइँक्क बोल्दैन । त्यसैले हामी भन्छौँ, नेइए सुधार होइन परिवर्तनकै संघारमा छ, त्यसका लागि हामी नेतृत्व दिन तयार छौँ ।
प्रादेशिक चुनावको अभ्यास
नेइएले पहिलोपटक प्रादेशिक निर्वाचनमा गएको छ । विधान संशोधनपछि प्रादेशिक चुनावको अभ्यास भएको हो । विधान संशोधन गर्ने प्रयास पनि प्रोग्रेसिभ समूहको हो । पहिले नै संघीय संरचनामा जाउँ भन्दा मानिएको थिएन । अहिले देश संघीयतामा गएपछि प्रदेश संरचना बन्ने छ । यसका लागि पनि पिनले नै पहल गरेको हो ।
प्रदेशमा १५ सदस्यीय समिति, एक जना प्रदेशबाट केन्द्रीय सदस्यको व्यवस्था छ भने केन्द्रमा १८ प्रदेश सहित २५ जोडेर १३० नेइए प्रतिनिधिका लागि चुनाव हुँदैछ । पहिले देशभर १५ जनाका लागि मात्रै निर्वाचन हुन्थ्यो भने अहिले १३० जनाका लागि निर्वाचन हुन्छ । सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारामा इञ्जिनियरहरु पनि सारथि हुन् । यो विषय अब हामी स्थापित गर्न लागेका छौँ । विकास निमार्णको काममा जोडिएका इञ्जिनियरको भूमिकाबारे संस्थाले नबोल्दा इञ्जिनियरिङ पेसाको तू भूमिकै छैन जस्तो देखिएको थियो ।
के हो पिनको एजेण्डा ?
इञ्जिनियरिङ पेसा आफैँमा चुनौति हो । इञ्जिनियरहरु कामका सिलसिलामा दुर्घटनामा पर्न सक्छन् । परेका छन् । यस्तो बेला पीडितले आफ्नो हकहितको काम गर्ने संस्था खोज्ने हो । तर कहिल्यै पनि नेइए पीडितको संस्था बन्न सकेन । सायद यसैले हुनुपर्छ, संस्थाका सदस्यहरुको संख्या घटेको, विकर्षण बढेको । त्यसैले हामीले इञ्जिनियरको सामुहिक विमा कार्यक्रम ल्याएका छौँ । संस्थाबाहिर रहेका ६४ प्रतिशत पक्कै हाम्रो एजेण्डामा आकर्षित बन्नुहुनेछ । त्यति मात्र होइन, कुनै आयोजनाको स्टिमेट फाइनल स्वीकृत गर्ने काम त इञ्जिनियरको हो । तर प्रमुख प्रशासकीय अधिकृतका हिसाबले कार्यालय प्रमुखले गर्ने भएकाले यो नेपाल इञ्जिनियरिङ ऐन विपरित छ । यो पनि हाम्रो एजेण्डा हो । सबै आफ्ना अधिकारका लागि आन्दोलन पनि गर्छन् । तर हामी इञ्जिनियर काम मात्र गर्छौँ, चर्चा हुँदैन । हाम्रा अधिकारका विषयमा संस्था बोल्नै छाड्यो । इञ्जिनियरको हकहितलाई प्राथमिकता दिन्छौँ ।
थप चुनावी एजेण्डा
युवा इञ्जिनियरको भविष्य कसरी सुरक्षित गर्ने भन्ने एजेण्डा हो अब । इञ्जियिरिङ आफैँ रोजगारी सिर्जना गर्ने पक्ष पनि हो । सामान्यतयाः ब्याचलर व्यक्ति सात लाख रुपैँया सरकारबाट ऋण पाउँछ । इञ्जिनियरले व्यवसाय गर्छु भन्दा त्यो भन्दा बढी सुविधा किन नपाउने ? के इञ्जिनियरले ५० लाख वा २५ लाख पाउन सक्दैन ? सायद संस्थाले बोलेको भए यतिखेर पाइसक्थ्यौँ कि ? स्टाफ कलेज एण्ड रिसर्च सेन्टर स्थापना हाम्रो अर्को एजेण्डा हो । २९ औँ कार्यकारिणी चुनावमा स्टाफ कलेजको विषय उठेको थियो । अब स्टाफ कलेज एण्ड रिसर्च सेण्टरको विषय उठाएका छौँ ।
र, नेइएले आफैँले स्टाफ कलेज चलाउने भनेका होइनौँ । राज्यले सञ्चालन गर्ने हो । जावलाखेलमा रहेको प्रशासनिक प्रतिष्ठान त राज्यले सञ्चालन गरिरहेको छ । हामीले के दावा गरेका छौं भने आउँदो बजेटमा हामी स्टाफ कलेजका बजेट छुट्ट्याउने व्यवस्था हुने वातावरण बनाउँछौँ ।
यस्तै, इञ्जिनियर्स हाइड्रो अर्को एजेण्डा हो । ४० हजार इञ्जिनियरहरुले सरदर दुई लाख मात्रै जम्मा गर्यौं भने करिब ८ अर्ब रुपैयाँ उठ्छ । अरु ऋण ब्यवस्था गर्न सक्छौँ । हाम्रो पक्षबाट महासचिवका उम्मेदवार छविराज पोखरेल नै जलविद्युत लगानी कम्पनीका सिइओ हुनुहन्छ । अध्यक्षको उम्मेदवार त्रिरत्न बज्राचार्य हाइड्रोपावर विज्ञ हुनुहुन्छ । म पनि हाइड्रोपावरमै संलग्न छु । सेना, पुलिसले स्कुलहरु चलाइरहेको छ । पेट्रोलपम्प चलाइरहेको छ । हामी पनि किन यस्तो नगर्ने ? इञ्जिनियर्स हस्पिटल किन नचलाउने ?
स्थापना दिवसमा सीमित संस्थानेइएको स्थापना दिन एउटा कार्यक्रम हुन्छ । केही अनुदान दिन सक्ने बोलाइन्छ । बेलुका पार्टी हुन्छ । दुई हजार इञ्जिनियर उपस्थित हुँदैनन् । संस्थाप्रति विकर्षण बढ्दो छ । चुनाव जित्यौँ भने पहिलो बैठकबाटै सामुहिक बिमाको निर्णय हुनेछ । श्रम ऐनले तोके बमोजिम इञ्जिनियरहरुको तलब–सुबिधाका विषयमा राज्यसँग पहल गर्छौं । नेपालमा रोजगारी सिर्जना गर्ने हाम्रो पहल हो । युवा पुस्तामा जागिरे होइन, उद्यमी मानसिकता जरुरी छ । अबको दशक पूर्वाधार दशकको रुपमा घोषणा गर्न सरकारलाई दबाब दिन्छौं ।
एउटा मात्रै मेघा प्रोजेक्ट नेपाल आयो भने अहिलेको जनशक्तिले पुग्दैन भन्ने हाम्रो अनुमान छ । चुनावी रफ्तारमा हामी देशब्यापी कार्यक्रम गरेर काठमाडौं फर्किसकेका छौँ । धेरै साथीहरुले चासो राख्नुभएको छ र कुनै पनि हालतमा नेइएलाई परिवर्तन गर्नुपर्छ, सुधार होइन भन्ने मुद्दा उठाएका छौँ ।