संयोग नेपालकाठमाडौं । नेपाली सांगीतिक बजारमा एउटा लोकगीत सबैको मुखमा झुण्डिएको छ, त्यो हो, ‘सालको पात...।’ गीत चर्चित भएसँगै कलाकारहरु पनि विभिन्न अन्तर्वार्ता तथा सांस्कृतिक कार्यक्रममा अभ्यस्त बने । गीत चर्चित मात्र भएन, लोकप्रिय पनि भयो । गीतको भिडियोलाई युट्युबमा एककरोड पटक हेरिसकिएको छ । एककरोड युट्युब भ्यूजका साथ गीतले नयाँ रेकर्ड बनाएको छ । सबैभन्दा छोटो समयमा एककरोड युट्युब भ्यूज कमाउने लोकगीत बनेको हो । गीत साढे २ महिना अघि सार्वजनिक भएको हो । यसअघि ‘उही खोलीमा पानी’ बोलको लोकदोहोरी गीतले मात्र एककरोड भ्यूज पाएको छ । गीत चर्चित र लोकप्रिय भएसँगै दर्शकस्रोताले गीतबारे धेरैभन्दा धेरै जानकारी राख्न चाहन्छन् । आज हामी दर्शकस्रोताको त्यही खुल्दुली मेटाउने प्रयास गर्नेछौँ । आखिर कसरी जन्मियो ‘सालको पात..?’
विसं २०७४ मा संगीतकार बसन्त थापा कार्यक्रमको सिलसिलामा युरोप भ्रमण जाँदा परिकल्पना भएको गीत हो ‘सालको पात..।’ शुरुवातमा गीतको थेगो बसन्तले नै सोचेका थिए । ‘गीतको परिकल्पना गर्दा ‘सालको पात टपरी हुने, नहुने सल्लैको, नलाऊ पछि हल्लैको’ मात्र थियो ।’ संगीतकार थापाले भने, ‘पछि मात्र यो गीतमा ‘हे बरै’ थपिएको हो ।’ युरोप छँदा मनमा आएको शब्दलाई बसन्तले गीत बनाउने सोचे र भने उनका हितैषी भाइ नवराज पन्तलाई । नवराजले पनि हुन्छ भन्दै गीतको शब्द लेख्न तयार भए । त्यसपछि नवराजले गीतको शब्दमा केही परिमार्जन गर्दै लेखेर पठाए । बसन्तले लेखेको गीतमा नवराजले यसरी परिमार्जन गरेर पठाए, ‘सालको पात टपरी हुने, नहुने सल्लैको, तिम्रो माया हृदयभरी छ, नलाऊ पछि हल्लैको ।’ नवराजले पठाएको शब्दलाई फेरि बसन्तले हल्का परिवर्तन गरे । त्यपछि बन्यो ‘सालको पात टपरी हुने, नहुने सल्लैको, तिम्रो माया कति छ कति नलाऊ पछि हल्लैको ।’ तर यसमा ‘हे बरै’ भने थपिएको थिएन । गीतमा मिठास ल्याउन एरेञ्जक्रममा बसन्तले ‘हे बरै’ थपे । गीतको शुरुवाती शब्द बसन्त आफैँले लेखे । ‘हरेक गीतको शुरुको शब्द म आफैँ लेख्ने गर्छु ।’ बसन्त थप्छन्, ‘किनकी गीत कम्पोज गर्दा फिल आउने किसिमको शब्द खोज्नुपर्छ ।’ त्यसपछि गीतका पछाडिका शब्दहरु नवराज पन्तले पूरा गरे ।
एरेन्जको शुरुवाती क्षणमा गायक कुलेन्द्र विश्कर्मा पनि यो गीत गाउने नगाउने कन्फ्युजमा भएको बसन्त सम्झिन्छन् । तर पछि गीतको रफ भर्जन आएपछि मात्र कुलेन्द्र विश्वस्त भएको थापाको भनाइ छ । सबैजना कन्भिन्स भइसकेपछि मात्र गीत रेकर्ड गरियो । रेकर्ड गर्दा नै दमदार बनेको गीतलाई भिडियोले झन् ‘सु्नमा सुगन्ध’ बनाइदियो । गीत बनाउँदा बसन्तलाई गीतले यतिधेरै चर्चा कमाउँछ भन्ने सोचेका थिएनन् । उनी भन्छन्, ‘यो नसोचेको सफलता हात पर्यो, काम राम्रो गरेका छौँ भन्नेमा हामी विश्वस्त थियौँ तर यति छोटो समयमा यति धेरै दर्शकले रुचाइदिनुहुन्छ भन्ने सोचेका थिएनौैँ ।’
गायक कुलेन्द्र विश्वकर्मा र संगीतकार बसन्त थापा एकअर्कामा मिल्ने साथी हुन् । अझ भनौँ भने मीत नै । ‘सालको पात’ गीत आउनुअघि उनीहरु एकअर्काको कामहरु गर्थे । गायक कुलेन्द्रलाई पनि यो गीत अरु गीतजस्तै अफर आएको हो । उनी भन्छन्, ‘हामीले यसअघि पनि काम गरिरहन्थ्यौँ ।’ कुलेन्द्रले भने, ‘नियमित काम गर्ने क्रममा यो गीतको अफर आएको हो ।’ आफूूले गीत रेकर्ड गर्दा राम्रो लागे पनि गीत यति धेरै चर्चित हुन्छ भन्ने कुलेन्द्रले सोचेका थिएनन् । गीतको चर्चासँगै आजकल कुलेन्द्रलाई भ्याइनभ्याइ छ । बिभिन्न मिडियामा अन्तर्वार्ता दिनुका साथै उनलाई सांस्कृतिक कार्यक्रममा पनि अफर आइरहेको छ । ‘टिपिकल’ गीत भएकाले पनि यो गीत चलेको हुनसक्ने कुलेन्द्र बताउँछन् ।
गीतले युट्युबमा १ करोड भ्यूज कमाउँदै गर्दा गीतको टीमले राजधानीमा यसको सेलिब्रेसन गर्दैछ । गीतका रचनाकार पन्त अमेरिकामा छन् । शिव विकको कोरियोग्राफीमा बनेको गीतको भिडियोमा नायिका मरिस्का पोखरेलको अभिनय छ । अभिनयमा मरिस्कालाई गायक कुलेन्द्र विश्वकर्मा र संगीतकार बसन्त थापाले साथ दिएका छन् ।
https://youtu.be/GUV6BJ5MGqE