जाडाे महिना । छिटाे अँध्यारो भइसक्ने । अनि आफूलाई पनि अफिसबाट निस्कन सधैँ हतारो । सामान्य सहकारीको जागिर, धेरै मेहनत, थोरै, पैसा । अनि जहिल्यै अफिसबाट दौडधूप गर्दै स्टेसनसम्म आइपुग्नुपर्दा कहिले त जागिर नै छाडौँ कि भनेझैँ लाग्ने तर के गर्ने ? काठमाडौं खाल्डोमा बसेर पैसा नकमाइ बाँच्न असम्भव । कलेज, कोठाभाडा, आवतजावत, दिनहुँको खर्च धान्न हामीजस्ता निम्न आय भएका व्यक्तिलाई कहाँ सम्भव थियो र ? त्यसैले जागिर रहर भन्दा बाध्यात्मक थियोे । जसोतसो जागिर र पढाइ चलाउँदै थिएँ ।
आज पनि हतार भयो, अब गाडी छुट्ने पो हो कि ? त्यसपछि हतारमा अफिसबाट रत्नपार्क लम्किएँ । सुन्धाराबाट रत्नपार्क पुग्न फटाफट हिँड्दा १० मिनेट लाग्ने अनि रत्नपार्कबाट मात्रै कोठामा जाने बस पाउने हुँदा समयमै स्टेसन पुग्नैपर्ने बाध्यता । मनमा अनेक कुरा खेलाउदै तीव्र गतिमा हिँड्न थालेँ । ओहो आज बिहिबार, पानी आउने दिन, आज नथापे सातासम्म नआउने, अनि बिहान कपडा धुँदा ढिला भएर बिहानदेखिका भाँडा माझेर खाना पकाउनुपर्ने, चिसो पानी सम्झिँदा कहिले त खानै नखाइ सुत्नु जस्तै हुने तर, भोको पेटमा राति निन्द्रा पनि नआउने । यस्तै अनेक कुरा मनमा खेलाउँदै छिटो हिँड्न थालेँ ।
रत्नपार्क नजिकैको आकाशे पुल क्रस गर्दा कसैले पछाडिबाट बोलाए झैँ लाग्यो । फरक्क फर्किएँ । एउटा सानो बालक रहेछ । दिदी मलार्इ केही खानेकुरा दिनू न । उसलाई राम्रोसँग नियालेँ, उसको सुन्दर मुखाकृति पनि खाना, छाना र नानाका अभावले फोहोरी देखिन्थ्यो । लामोसमय ननुहाएर होला, लट्टा परेको कपाल फोहोर देखिन्थ्यो । उसले लगाएको खैरो पाइन्ट च्यातिन शुरू गरेको थियो भने खैरो स्वीटरको पनि एकातिरको बाहुला नै थिएन । उसलाई नियाल्दै सोधेँ, ‘बाबु को को बस्छौ यहाँ ? कोही छैन तिम्रो परिवारमा अरू ?’ उसको बोली तोते रहेछ । भन्यो, ‘दिदी, मेलो आमा र बा नै गाडीबाट खसेर मर्याे, यहाँ मेलो बहिनी ल म मात्रै बस्छौँ । भोक लागेर सानो बहिनी रोइरहेको छ ।’ बालकले पुल मुनिको एक कुनातिर हातले इशारा गर्याे ।
मन ग्रहुंगो बनाउँदै कोठातिर फर्किएँ, मानिसलाई खुशी दिने परिस्थिति रहेछ
ऊ काँपिरहेको थियोे । उसका हातगोडा फुटेका थिए भने जाडोले ओठ निलो भएको थियो । अनि मैले ब्यागमा हेरेँ एउटा बिस्कुट रहेछ त्यहीँ झिकेर उसलाई दिँदै भनेँ, ‘मलाई तिम्रो बहिनी भ’को ठाउँमा लैजाऊ न ।’ त्यति भन्दा उसको अनुहारमा थोरै चमक देखियो । पुलमुनि छ भन्दै फटाफट ऊ बहिनी भएतिर लम्कियो । नभन्दै उसको बहिनी पुलमुनि रोइरहेकी रहिछे । ऊ हतारमा रोइरहेकी बहिनीलाई काखमा लियो । एकचोटि गालामा म्वाइ खायो अनि बोतलको पानीमा बिस्कुट चोप्दै बहिनीलाई खुवायो । उसले खानेकुरा खुवाउन थालेपछि बहिनी रून छाडी । उसले एक प्याकेट बिस्कुट आफूले एउटा पनि नखाई सबै बहिनीलाई खुवायो अनि खुशी पनि देखियो । मैले उसको बहिनीलाई नियाल्दै प्रश्न गरेँ, बाबु तिम्रो घर कहाँ हो ? थियो हुन त थाहा होस् पनि कसरी ? त्यति सानो बच्चालाई, आमाबुवा नै नभए पनि कसले सडकमा ल्याएर कति वर्ष पहिले छाडेको हो ? उसले बहिनीलाई हेर्दै भन्यो, थाहा छैन । पुनः पसलबाट एक पुरिया बिस्कुट किनेर बालकलाई दिएँ । सोधेँ, ‘तिमीहरु सधैँ यही पुलमुनि बस्छौ ?’ उसले थप बोल्न चाहेन, कोठामा पुग्न हतार भएकाले भोलि फेरि थप कुरा सोध्छु भन्दै स्टेशनतर्फ लागेँ ।
अनि भोलिपल्ट अफिसबाट निस्किएर पुलमुनि गएँ तर ती साना भाइबहिनी त्यहाँ रहेनछन् । कसैलाई सोध्न पनि सडक बालबालिकाको जिम्मा कसले लिने ? कहाँ गए होलान् ? ती अबोध दिदीभाइ के खाए होलान्, कहाँ सुत्छन् यस्तो जाडोमा ? अनेक प्रश्नमा रुमल्लिन थालेँ । तर त्यहाँ बसेर पनि केही गर्न नसकिने । मन गहुंगाे बनाउँदै कोठातिर फर्किएँ । आफैँ अचम्मित भएँ । सोचेँ, मानिसलाई खुशी दिने परिस्थिति रहेछ । ती दिदीभाइका उमेरका कतिपय बच्चा आफैँ खानासमेत खाँदैनन् । उनीहरूका परिवारले नै कति संरक्षणमा पालनपोषण गरिरहेका हुन्छन् तर त्यही उमेरका अर्को बच्चा आमाबाबुको कर्तव्य निभाइरहेका थिए । उसलाई मन थिएन होला र ? यो उमेरमा आमाबुबाको साथमा बसेर त्यही उमेरका अन्य बच्चाको जस्तै पालनपोषण र माया पाउने ? तर मानिसको खुशी उमेरमा भन्दा पनि परिस्थितिमा निर्भर हुनेरहेछ । जसको ज्वलन्त उदाहरण त्यही बालक हो ।