कम्तीमा वामदेवजति मात्र अडिए भने संस्थापनले स्थायी कमिटी र केन्द्रीय कमिटीमा राम्रैसँग ‘बसिसुख न उठिसुख’ झेल्नु पर्नेछ, त्यतिखेर सत्ताको मात मात्र उत्रदैँन, कम्युनिष्ट सरकार र पार्टी नै हो भने न सत्ताको जामा पनि पो उत्रन्छ त !
७ डिग्री तापक्रमको काठमाडौं अनि शनिबार यसै पनि बिदाका दिन । काठमाडौं चिसिएकै छ । लामो समयदेखि बैठक बसिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आफैँ ‘केरकार’ र ‘कोरकार’को पिङ खेलिरहेको छ । ‘सरकार कस्तो हुनुपर्थ्यो’ भन्दा पनि ‘कांग्रेस कस्तो हुने’ भन्ने चिन्तामा तमाम ‘रुखछाप’ बुद्धिजीवी अर्धमूर्च्छित भइरहेको अवस्थामा देश कस्तो हुने, जनता कस्तो हुने भन्ने पाठ्यक्रम कांग्रेसको प्राथमिकतामा पर्ने विषय नै भएन । ‘कांग्रेस बने देश सुधिन्छ’ भन्ने ‘जयनेपाल धातु’मा अल्झिरहेको प्रमुख प्रतिपक्षी महासमितिको तयारीमा छ । यस्तो बेला दुईतिहाइको पछ्यौरी ओढेको कम्युनिष्ट सरकार आफैँ करिबकरिब ‘श्री ३’ सरकार भन्दा बलशाली महसुसमा रमाउन उदत छ । त्यसमा पनि केही नेता र उनका निकटतम र घनिष्टतमहरुको ‘मधुमास’ याम छ । वरिष्ठ नेताहरु नै ओझेल पार्ने संस्कृति र परम्परा निर्माण गरिरहेको छ बालुवाटार शक्तिले । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेताहरुलाई पनि मुसा खेलाए झैँ गरिरहेकाहरुको आठतालुको धाप त्यतिखेर सुक्यो, जब शनिबार बालुवाटार पुगेका दुई पूर्वप्रधानमन्त्री र एक उपप्रधानमन्त्रीलाई एक उपप्रधानमन्त्रीले चिया पिलाउन, खाजा खुवाउन बालुवाटार परिसर बाहिर लगे ।
प्रसंग नेकपाको सचिवालय बैठकको हो । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड क्यान्सरपीडित पार्टी नेतासँग गफिनु भयो । तीन घण्टासम्म आफ्ना वरिष्ठलाई कुराएर अपमान गर्ने नियतमा जब प्रचण्डको ‘प्रचण्ड साथ’ देखियो, त्यसपछि दुई पूर्वप्रधानमन्त्री र पूर्व उप्रधानमन्त्रीहरु खाजा खान बाहिर निस्किए । केहीबेरमै समाचार आयो, ‘चार शीर्षनेताले सचिवालय बैठक बहिस्कार गरे ।’ समय र मर्यादाको छेउसम्म नपुगेका दुई अध्यक्षका अगाडि सधैँभरि निरीह बन्नुपर्ने अवस्थाबाट वरिष्ठ नेताहरुले पार खोजिरहेका थिए । उनीहरुलाई पार लगाइदिए नेता वामदेव गौतमले । वामदेव गौतम पार्टीभित्र सधैँ ‘संस्थापन’ जन्माउने, हुर्काउने नेतामा पर्छन् । उहाँ जता लाग्यो, त्यतै संस्थापन फलिफुली भएको अवस्था छ । सत्तामा कहिले झलनाथ त कहिले केपी ओलीलाई पु¥याउने र संस्थापन बनाउने काममा वामदेव गौतम बलिया सारथी हुन् । नेपाल कम्युनिष्ट पार्टी एकीकरणमा पनि गौतमको भूमिका कम थिएन, तर उनले अरु नेताजसरी ‘मेरो प्रयास’ भन्दै निबन्ध लेखाउन ज्यालाका खेताला खोजेनन् । यतिखेर वामदेव गौतमले दुई वरिष्ठ नेता र पार्टी प्रवक्तालाई पनि बैठकबाट तानेर संस्थापनसँग ‘पौँठेजोरी’ खेल्ने बनाइदिएका छन् । लामो समयदेखि अपमानबोध गरिरहेका वरिष्ठ नेता र निरीह बनाईका प्रवक्ताको धमनीमा गति दिएका छन् । सचिवालयमा रहेका अरु पाँच नेतालाई चुनौति दिएका छन् ।
सत्ताको मात अत्यन्त घमण्डी हुन्छ । सत्ताको मात अत्यन्त अप्रिय हुन्छ । जब सत्तामा पुग्नै राजनीति गर्नेहरुले त्यो भन्दा माथि देश र जनता भन्ने बिर्सेको अवस्था हुन्छ । अझ कम्युनिष्ट पार्टीजस्तो जनतामा अनुमोदित हुनुपर्ने पार्टीका नेताहरुमा यो मात चढ्यो भने सचिवालयले सच्याउनु पर्ने हुन्छ । यहाँ त एउटा पत्रकारको किताब विमोचनमा पार्टीका दुई अध्यक्ष गएर सचिवालय बैठक सार्नेसम्मका कृतघ्न काम भएका इतिहास छन् । घाम डुब्दै गएपछि चिया पिएर बैठक समापन गर्ने थिति बसाल्न थालिएको छ । यो सबै थितिले गाउँमा सरकार चलाइरहेको पार्टी हराएको ७ महिना पुगेको छ । सत्तामा भएका र संगठन बनाउनु पर्नेहरु सहकार्य हुनुपर्नेमा उल्टै अपमानको माला पहिरेर बहिष्करणमा परिरहनु परेको छ । होली वाइन पिउने समारोहमा तीनदिनसम्म समय दिन भ्याउने नेताहरु आफ्ना पार्टीका नेताहरुसँग एक कप चिया पिउन असमर्थ छन् । कार्यकर्ताको कुरा सुन्न अरुचि राख्छन् । यो सत्ताको मात यस्तो अप्रिय हुन्छ कि, त्यो २०४८ यताका सरकारहरुमा हुर्कँदै थियो, झ्यांगियो दुई तिहाएको सरकारमा नराम्ररी । यस्तो बेला वामदेव गौतम फेरि कम्युनिष्ट पार्टीमा ‘संस्थापन’को खोजीमा जुटेको देखिन्छ । बग्रेल्ती बेथितिबाट पार्टीलाई थितिमा लैजाने बल फेरि वामदेवको कोर्टमा पुगेको छ । हेरौँ, वरिष्ठ नेताहरु यसपटक वामदेवको सधैँको विद्रोही मार्गमा हिँडेर जनप्रिय हुनेछन् या संस्थापनको छलछाममा साक्षी बनिरहन्छन् ? कम्तीमा वामदेवजति मात्र अडिए भने संस्थापनले स्थायी कमिटी र केन्द्रीय कमिटीमा राम्रैसँग ‘बसिसुख न उठिसुख’ झेल्नु पर्नेछ, त्यतिखेर सत्ताको मात मात्र उत्रदैँन, कम्युनिष्ट सरकार र पार्टी नै हो भने न सत्ताको जामा पनि पो उत्रन्छ त !