–घनश्याम भूसाल
‘समाजवादको आधारभूमि बनाउनु पर्ने पार्टी कसरी चलिरहेको छ ? देखिएकै छ, माथि बस्नेले निर्णय गरेका छन् । लोकतान्त्रिक ‘स्पेस’ कमजोर हुँदै गइरहेको छ । भन्ने बेला भइसकेको छ, यस्तो त तानाशाही प्रवृत्ति हुन्छ । तर समाजवादतर्फ लैजाने पार्टी तानाशाहीले चल्दैन । कि समाजवादी पार्टी हुँदैन, कि तानाशाही हुँदैन । यस्तो भनिरहँदा फेरि लोकतान्त्रिक स्पेसविना समाजवादी पार्टी बनाउन सकिदैन ।’
(आइतबार काठमाडौंमा एउटा अन्तरक्रिया भयो । अन्तरक्रियाको विषय र शीर्षक थियोः नेपालको आजको वाम आन्दोलनः समस्या र समाधान । विषयमा अवधारणा प्रस्तुत गर्दै हुनुहुन्थ्यो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र वैचारिक नेताको छवि बनाउनु भएका नेता घनश्याम भूसाल । भूसालले आफ्नो सम्बोधनमा समाजवाद र पार्टीको भूमिकाबारे यसरी नै प्रष्ट्याइरहँदा सहभागीहरु कम्युनिष्ट पार्टीको विगत उग्राइरहेका थिए । त्यो भर्भराउँदो रापताप सम्झिरहेका थिए । पार्टीका लागि जीवनका उर्वर समय लगानी सम्झिरहेका थिए ।)
गुनासो मात्रै छैन, उपलब्धी पनि छन्नेकपा र समाजवाद वैज्ञानिक, सशक्त र अरु लोकप्रिय बनेन भनेर टिप्पणी हुने गरेको छ । तर, गुनासो मात्र छैन, उपलब्धीहरु पनि सम्झिनु पर्छ हामीले । उनै घनश्याम भूसाल उपलब्धी पनि यसरी सुनाउँदै हुनुहुन्थ्योः
निरन्तर ‘वाम जनमत’ बढेको छ । राज्यमा बलियो उपस्थिति वामपन्थीकै छ । संघीय संसद, प्रदेश र स्थानीय निकाय सबैमा वामपन्थी पार्टी अर्थात नेकपाको बर्चश्व छ । यो चानचुने उपलब्धी हो र ? सामाजिक, राजनीतिक, सांस्कृतिक जीवनका सबै पक्षमा वाम आन्दोलन अरु सशक्त र संगठित छ । खानेपानी समितिदेखि लिएर मन्दिर, विद्यालय र वन व्यवस्थापन समितिसम्म नेकपाको जबर्जस्त पहुँच छ ।
त्यतिमात्र होइन, शान्तिपूर्ण र सशस्त्र विद्रोहका आन्दोलन सामना गरेका नेतृत्व पंक्ति र संगठित हजारौँ कार्यकर्ता छन् । २०७२ मा जारी भएको संविधान आफैँमा अवसरका रुपमा छ । किनकी यसले राजनीतिक रुपमा संविधानलाई समाजवादीकरण गरेको छ । भूराजनीति आफैँमा चुनौति मात्र होइन अवसर नै छ । तर अवसरका रुपमा भूराजनीतिलाई हामीले उपयोग गर्न हामीलाई साँचो रुपमा वाम लोकतान्त्रिक स्थिर सरकार चाहिन्छ । जो वास्तवमै वाम छ, लोकतान्त्रिक छ र स्थिर छ । र, अझ महत्वपूर्ण कुरा यस्तो सरकार जो समाजवाद निर्माणमा दत्तचित्त छ । यस्तो सरकार चाहिन्छ ।
हामी के भनिरहेका छौँ ?हामी लोकतन्त्र, स्थिरता, विकास र समाजवाद स्वीकारिरहेका छौँ । यसैको संस्थागत गर्ने भनिरहेका छौँ । लोकतान्त्रिक स्थिरताका साथ राष्ट्रिय पूँजीको विकास गर्ने भनिरहेका छौँ । र योसँगै समाजवादको तयारी गर्नुपर्नेछ । तर व्यवहारमा समस्या देखापरेको छ । हामीले टोपी त समाजवादको लगाइरहेका छौँ तर हाम्रो जुत्ता दलाल पुँजीवादको छ । यसले हाम्रो गन्तव्य समाजवाद होइन अन्त कतै पु¥याउँछ । त्यसैले भन्नलाई त हाम्रो राजनीति लोकतान्त्रिक पद्दतिमा छ । उद्देश्य राष्ट्रिय पुँजीको विकासमै केन्द्रित गर्ने भन्ने छ । यसो भाषणभुषण समाजवादको तयारीमै छौँ पनि भनिन्छ । तर हाम्रो व्यवहार अन्तै छ । हामीलाई दलाल पुँजीले नचाइरहेको छ । यसरी हामी नाटकका पात्र जस्ता भएका छौँ, जसको निर्देशन दलाल पुँजीले गरिरहेको छ ।
के छन् चुनौति ?७ महिनाअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । दुई वटा फरक पार्टीबाट बनेका हौँ । तर हाम्रो शैली ‘हाम्रै राजा ठूला छन्, हाम्रै राजा विशाल’ भने झैँ छ । जनताको बहुदलीय जनवाद (जवज) भन्दै आयौँ । २०५१ सालदेखि भन्दै आएको जवजबारे छलफल नै भएन । जसले जसरी पढाए पनि हुने भयो । जवज भनेको के हो ? कुन ऐतिहासिकतामा जबज बन्यो ? त्यसले कति काम ग¥यो अर्थात् हामीले जबजले नै भनेजस्तो कति काम ग¥यौँ । यी सबैको सपाट जवाफ छैन । हामीले छलफल विमर्शलाई लत्यायौँ । जे–जे ग¥यौँ, त्यही जबज भयो । यसले हामीलाई सैद्धान्तिक अष्पष्टतामा पु¥यायो । यसरी सैद्धान्तिक समस्या हामीभित्रै छँदैथियो । अब यसमा थपियो माओवादीसमेत ।
माओवादीको समग्र विकास प्रक्रिया हेर्दा माओवादी गम्भीर सैद्धान्तिक अस्थिरतामा देखिन्छ । माओवादी यसो पो हो कि भनेर बुझ्दाबुझ्दै माओवादी अर्कै भइसकेको हुन्थ्यो । ए, माओवादी यस्तो रहेछ भन्ने मानक बन्दै गरिरहेको हुन्छ, माओवादीको अर्कै रुप पो देखिन्छ । सारमा मूलतः दुई कम्युनिष्ट पार्टी जसको एकताबाट नेकपा बन्यो, दुवैमा सैद्धान्तिक रुपमै समस्या थिए । अब हामी के भनेर जनतामा जाने ? के बुझाउने ? हामी सैद्धान्तिक संकटकै निरन्तरतामा छौँ ।
यस्तो बेला पार्टी कस्तो हुन्छ ?सैद्धान्तिक रुपले कमजोर भएपछि पार्टीमा अनेक गतिविधि देखिन्छ । जस्तोः पार्टी नश्लीय गुटबन्दीको सिकार हुन्छ । पार्टीले मान्छेको मूल्यांकन नै गर्न छाड्छ । गुटभित्रको गिरोहले, मठाधीशले मान्छेको मूल्यांकन गर्छ । को चैँ जन्मिँदै अलोकतान्त्रिक भएर जन्मिएका हुन्छन् र ? तर परिस्थिति यस्तो बन्छ कि मानिस यस्तो हुन्छ कि ऊ यो समग्र प्रक्रियामा अलोकतान्त्रिक बन्दै जान्छ । हामीकहाँ यस्तै भइरहेको देखिन्छ ।
हुँदाहुँदा यस्तो अवस्था आइसक्यो कि, जसका लागि हामी लड्यौँ, त्यो वर्ग नै छैन कि भन्ने जस्तो भइसक्यो । एउटा साथीले केही दिन पहिले मलाई फोन गरेर हामी जसका लागि लड्यौँ त्यो वर्ग खोइ कता छ भनेर सोध्यो । यो कुराले साँच्चै तरंगित बनाएको छ हामीलाई । समाजवादको टोपी लगाएर दलाल पूँजीवादको जुत्तामा हिँडेकाले नै हो, यहाँ नयाँ वर्ग बन्यो । त्यसले पार्टीलाई यसरी जकड्यो कि आज समाजवादी अभ्यास वा सपना नै संकटमा पो पर्ने हो कि ? भन्ने खतरा छ ।
मूलतः सैद्धान्तिक वा वैचारिक पक्ष तपाईं कतापट्टि उभिनुहुन्छ भन्ने कुराको अन्योल हो । कुनै गालीका रुपमा हैन तर प्रश्न उठ्छ कम्युनिष्ट पार्टीले बनाएको राष्ट्रपतिले ‘त्यसो’ गर्न हुन्छ कि हुन्न ? फेरि पनि प्रश्न उठ्छ, तपाईं कता उभिनु हुन्छ ? घुँडा टेकाउनेतिर कि टेक्नेतिर ? पार्टीकै नेता विलखबन्दमा छन् । कता उभिने–उभिने ? बोलीवचनमा व्यवहार र सांस्कृतिक अभ्यासमा कतै पनि वैचारिकता झल्कनै छाड्यो । यस्तो बेला नेतृत्व अरु अलोकतान्त्रिक हुन्छ ।
अब के गर्ने त ?सबैभन्दा पहिला त कमाएर खाने कार्यकर्ताको संगठन बनाउनु प¥यो । लोकतन्त्रको अभ्यास हुनुप¥यो । हरेक कमिटीमा पर्याप्त स्वतन्त्रता दिइनु प¥यो । हाम्रो पार्टीको वामपन्थीकरण शुरु हुनु प¥यो । हाम्रो शिक्षा, स्वास्थ्य, विदेश नीतिसम्बन्धी विषय पार्टीको एजेन्डा हुनुपर्छ । हरेक कमिटीमा यस्ता विषय एजेण्डा बन्नुपर्छ । अहिले कमिटीमा कस्ता एजेण्डा बन्छन् ? कहाँ कसलाई टिकट दिने । गुटकरण कसरी गर्ने । आफ्नो गुट कसरी बलियो बनाउने ? कुन ठेक्का कसलाई दिलाउने ? हाम्रा कमिटीहरु कतिले क्रान्तिको काम गर्छन्, कति स्वस्थानीको काम गर्छन् ? यस्ता सिद्धान्त र विचारबाट अलग्गिएका कुराबाट कमिटीहरु मुक्त हुनुपर्छ । विधिले काम गर्नु पर्छ । चाकरीले काम गर्ने पदति बन्द हुनुपर्छ । राजनीतिक वैचारिक काममा कमिटीहरुले ध्यान दिनुपर्छ ।
हामी यतिबेला लोकतान्त्रिक स्थिरतासहित राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्नेतर्फ लाग्नुपर्नेछ । लोकतन्त्र, स्थिरता, राष्ट्रिय पुँजीको विकास र समाजवाद यी चारवटै कुरा हामीले छाड्नुहुँदैन । यसका लागि हामीलाई सैद्धान्तिक वैचारिक स्पष्टता चाहिन्छ । होइन भने त हाम्रो ‘वामपन्थकरण वा समाजवाद’ नाटक, गीत, साहित्यमा भेटिएला । राजनीतिमा, जनताका खेत खलियानमा, मान्छेको समग्र जीवनमा समाजवाद र लोकतन्त्र जीवित नरहन सक्छ ।