भद्रपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं १ मा वाम गठबन्धन र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की र कांग्रेसबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका हुन् । अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिँदै जाँदा दुवै उम्मेदवारले जनताका घर दैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।पाँच निर्वाचन क्षेत्र रहेको झापामा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रले एक र नेकपा एमालेले तीनवटा क्षेत्रमा उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।
कार्की किन आए झापा-१ मावाम गठबन्धनका उम्मेदवार कार्कीले पार्टीको निर्देशनमा नभइ आफैले रोजेर झापा-१ बाट उठेको बताएका छन् । झापा-१ सँग पार्टीगत र पारिवारिक लगाव भएकाले यहाँबाट उठेको दाबी कार्कीले गरेका छन् ।कार्कीले ४० वर्षदेखि वाम राजनीति गरिरहेका छन् । तत्कालीन राजा वीरेन्द्रले जनमत संग्रह गरेको समय २०३६ सालमा बहुदलको पक्षमा प्रचार अभियान लिएर कार्की चर्चित नेता रामराजाप्रसाद सिंहसँग यहीँ खटिएका थिए । पञ्चायतमा खटिएकाले यो क्षेत्रमा आफ्नो पुरानो माया जीवन्त रहेको कार्कीको भनाइ छ । आफूले घर बनाउने र सम्पत्ति जोड्ने राजनीतितर्फ चासो नदिएकाले यो क्षेत्रको बासिन्दा हुन नसकेको कार्कीको भनाइ छ ।कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा यो क्षेत्रमा लोकप्रिय छन् । तर यहाँ कांग्रेसको भन्दा वाम गठबन्धनको मत धेरै छ । चुनाव प्रचारमा जुटिरहेका बेला कार्कीमाथि 'टुरिष्ट' उम्मेदवारको आरोप पनि लागिरहेको छ । तर, उनले घरबार गुमाएर राजनीति गरेको व्यक्तिलार्इ यस्तो आरोप लगाएकोमा दु:ख व्यक्त गरे ।
जिल्लामा लोकप्रिय विश्वप्रकाशकांग्रेसका चर्चित नेता विश्वप्रकाश शर्मा झापामा लोकप्रिय नेता हुन् । उनी केन्द्रीय राजनीतिमा पनि चर्चित छन् । २०७० सालको निर्वाचनमा उनी यही क्षेत्रबाट एमालेका रवीन कोइरालासँग पराजित भएका थिए ।बालककालमै राजनीति थालेका उनी १४ वर्षको किशोर उमेरमै लोकतन्त्रका लागि लड्दा पुलिसको हिरासमा पुगेका थिए । उनको राजनीतिक यात्रा झापामै हुर्कियो र त्यहीँबाट राष्ट्रियस्तरमा फैलियो । वि.सं. २०४० सालमा धुलाबारी माध्यमिक विद्यालयमा नेविसंघको इकाइ सभापति बनेका उनी २०४३ सालमा मेची बहुमुखी क्याम्पसका सभापति हुन पुगे ।त्यसपछि निरन्तर राजनीतिक यात्रामा रहेका विश्वप्रकाश २०५७ सालमा कांग्रेसको विद्यार्थी संगठन नेविसंघको केन्द्रीय सभापति भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनलार्इ कांग्रेसले झापा क्षेत्र नम्बर १ बाट टिकट दियो । तर स्थानीय स्तरमा लोकप्रिय हुँदा हुँदै पनि एमालेका रवीन कोइरालासँग ६ सय ८९ मतले हार भोग्न बाध्य भए ।
कस्तो छ अंकगणित ?२०७० सालमा भएको संविधानसभा चुनावमा कांग्रेस नेता शर्मा एमालेका रवीन कोइरालासंग पराजित भएका थिए । कोइरालाले १७ हजार १ सय २९ भोट पाउँदा कांग्रेसका विश्वप्रकाशले १६ हजार ५ सय ४० भोट पाएका थिए ।स्थानीय तहको चुनावमा झापा क्षेत्र नम्बर १ मा पर्ने झापाको मेचीनगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको थियो । मेचीनगर विश्वप्रकाशको गृहनगर पनि हो ।
पहिलो संविधानसभाको नतिजायो क्षेत्रमा पहिलो संविधानसभा चुनावमा माओवादीका धर्मप्रसाद घिमिरे १५ हजार २ सय ७६ मत पाएर विजयी भएका थिए । कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङ १४ हजार २ सय ८३ मत पाएर पराजित भएका थिए ।
यो निर्वाचन क्षेत्रको भूगोलमेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकको वडा नं ४,५,६ र ७ तथा भद्रपुर नगरपालिकाको वडा नं ९ र १० रहेको निर्वाचन क्षेत्र नं १ मा एक लाख पाँच हजार ४७५ मतदाता रहेका छन् । जसमा ५२ हजार ८४६ जना महिला रहेका छन् ।यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सात जना र प्रदेशसभा सदस्यका लागि ‘क’ र ‘ख’ मा आठ-आठ गरी १६ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश सभामा नेपाली कांग्रेसबाट ‘क’ मा केशव पाण्डे र ‘ख’ मा अशोक पोखरेलले उम्मेदवारी दिएका छन् ।वाम गठबन्धनबाट ‘क’ मा नेकपा एमालेका श्रीप्रसाद मैनाली र ‘ख’ मा नेकपा एमालेकै गोपालचन्द्र बुढाथोकीले उम्मेदवारी दिएका छन् । अहिले उनीहरु जनतासँग मत मागिरहेका छन् ।
यस्ता छन् एजेन्डाखुल्ला सीमाका कारण भारतबाट प्रवेश गर्ने जंगली हात्तीबाट हुने जनधनको क्षति प्रमुख समस्याका रुपमा रहेको यो क्षेत्रमा आम मतदाताले स्वास्थ्य, सडकबाटो, बिजुली, सिँचाइ, शिक्षा, रोजगारजस्ता समस्या समाधान गर्न उम्मेदवारहरुलाई आग्रह गर्ने गरेका छन् ।शान्ति सुरक्षा कायम भई मानिसले अमनचयन तरिकाले आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने जस्ता माग पनि उनीहरुले अगाडि सारेका छन् ।यस क्षेत्रमा अहिले वाम गठबन्धन बलियो देखिए पनि वाम गठबन्धनका उम्मेदवार गैरझापाली र नेपाली कांग्रेसका उम्मेदवार स्थानीय भएकोले निर्वाचन परिणाम फरक ढंगले आउनसक्ने काँकडभिट्टाका विजय सुवेदीले बताउनुभयो ।