काठमाडौं । चलचित्र घोषणा कार्यक्रमहरुमध्ये अहिलेसम्मकै भब्य कार्यक्रम गरी चलचित्र ‘मारुनी’को घोषणा गरिएको छ । चलचित्रका मुख्य कलाकार पुष्प खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह र रेबिका गुरुङले मंगलबार ¥याम्पमा हिँड्दै चलचित्रको औपचारिक घोषणा गरेका थिए । चलचित्रका बाँकी कलाकार तथा प्राविधकले पनि ¥याम्पमै क्याटवाक गर्दै आफ्नो परिचय दिएका थिए ।
अन्तर्राष्ट्रिय फेसन डिजाइनरको पहिचान बनाएकी पुनम गौतमले निर्माण गर्न लागेको चलचित्रलाई नवल नेपालले निर्देशन गर्नेछन् । निर्माता गौतमले लेखकसमेत रहेका नेपालले सुनाएको कथाले मन छोएपछि ५ वर्षपछि निर्माणमा फर्किएको बताइन् ।
‘लगभग तीन वर्षदेखि राम्रो कथाको खोजीमा थिएँ । नवल सरले यो कथा लिएर आएपछि आफूले खोजिरहेको कथा यही हो जस्तो लाग्यो,’गौतमले भनिन्, ‘ त्यसयता काम गर्दै जाँदा अन्ततः हामी यो अवस्थामा आइपुगेका छौं । एक महिनापछि हामी फ्लोरमा जाँदैछौं ।’
निर्माण टिमले मंगलबार नै दिएको जानकारी अनुसार चलचित्र माघ दोस्रो साताबाट फ्लोरमा जानेछ । घोषणा कार्यक्रममा बोल्दै निर्देशक नवल नेपालले चलचित्रले दुई सुन्दरीको कथा प्रस्तुत गर्ने बताए । कवितात्मक शैलीमा बोलेका निर्देशक नेपालले चलचित्र राम्रो बन्नलाई कथा नै राम्रो हुनुपर्ने र मारुनीको कथा सशक्त रहेको दाबी गरे । ‘जबसम्म कथाले मुटु छुदैन, मुटु दुख्दैन या मुटु हाँस्दैन भने तपाई ब्रह्माण्डबाट जे सुकै ल्याउनुस् त्यो चलचित्र सफल हुँदैन’, चलचित्र राम्रो हुन कथा महत्वपूर्ण हुने उल्लेख गर्दै निर्देशक नेपालले भने, ‘मारुनी’ लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राख्ने छैनौं ।’
अभिनेत्री साम्राज्ञीले पनि चलचित्रलाई लिएर उत्साहित भएको प्रतिक्रिया दिएकी थिइन् । उनको भनाइ थियो, ‘यो चलचित्रको कथा साँच्चिकै युनिक छ । चलचित्रको कथा नै थियो जसले मलाई यो चलचित्र गर्न बाध्य बनायो । यो चलचित्रलाई लिएर एकदमै उत्साहित छु ।’चलचित्रमा सबैभन्दा पहिले अनुबन्ध भएका पुष्पले यही चलचित्रका लागि लामो समयदेखि मेहनत गरिरहेका छन् । रेबिकाको भने यो डेब्यु चलचित्र हो ।
पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा निर्माता पुनमलाई अजय पोखरेल र राजा प्रधानले लगानीमा सघाएका छन् । हरि सिलवाल चलचित्रको लाइन प्रोड्युसरको रुपमा रहेका छन् । चलचित्रमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारको रुपमा रहेका छन् । सञ्जय लामाको छायांकन रहने चलचित्रमा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ ।