काठमाडौं । पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको आज अन्त्येष्टि गरिँदैछ । उहाँको हिजो ९३ वर्षको उमेरमा आफ्नै निवास बुढानिलकण्ठमा निधन भयो । राजा महेन्द्रको शासनकालमा उहाँ मन्त्रिपरिषद्को उपाध्यक्ष बन्नुभएको थियो । राजाले उहाँलाई आफ्नो अनुयायीका रुपमा लिनुभएको थियो । विभिन्न कार्यकालमा उहाँले नेपालको राजनीतिक आन्दोलनमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयो । गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
९३ वर्षअघि सिराहा जिल्लाको बस्तीपुरमा जन्मनुभएका गिरी पेशाले चिकित्सक हुनुहन्थ्यो । गिरी नेपाली कांग्रेसको पहिलो पुस्ता नेतामध्यका एक हुनुहन्छ। वीपी कोइराला सभापति हुँदा उहाँ पार्टीका महामन्त्री पदमा आशिन हुनुहुन्थ्यो । ०१५ सालको आम निर्वाचनमा सिराहाबाट सांसद निर्वाचित भएपछि वीपी कोइरालाको क्याबिनेटमा गिरी परराष्ट्रमन्त्री बन्नुभयो । त्यहीबीचमा २०१७ साल भदौ ३० गते डाक्टर गिरीले परराष्ट्रमन्त्रीबाट राजीनामा पनि दिनुभएको थियो ।
दुई तिहाई बहुमतको सरकारले जति काम गर्नुपथ्र्यो, त्यो गर्न नसकेको भन्दै उहाँले राजीनामा दिएपछि खैलाबैला मच्चिएको थियो । त्यसको तीन महिनापछि त राजाले वीपी कोइरालालाई बर्खास्तसमेत गरेका थिए । तर, सोही बेला राजाको मन्त्रिपरिषदका उपाध्यक्ष तुलसी गिरीले पत्रकार सम्मेलन गरेरै राजतन्त्र र बहुदलीय प्रजातन्त्रसँगै जान नसक्ने आफ्नो अडान दोर्होयाउनु भएको थियो ।
वास्तवमा डा.तुलसी गिरी राजा महेन्द्रका सच्चा अनुयायीमात्र नभएर, निर्दलीय पञ्चायती शासन व्यवस्थाका आर्किटेक्ट पनि मानिनुहुन्छ । राजा महेन्द्रले पञ्चायत व्यवस्था लागु गरेपछि गिरीले राजालाई साथ दिनुभएको थियो । राजा महेन्द्रको सरकारमा गिरी पहिलो नम्बरको वरियतामा रक्षा र परराष्ट्रमन्त्री बन्नुभएको थियो । त्यसको २ वर्षपछि ०१९ सालमा उहाँ मन्त्रिपरिषदको अध्यक्ष बन्नुभयो । २ वर्ष मन्त्रिपरिषद अध्यक्ष बन्नुभएका गिरी त्यसपछि एकैचोटि ०३२ सालमा प्रधानमन्त्री बनेर ०३४ सालसम्म देशको कार्यकारी पदमा रहनुभयो ।
नेपालको इतिहासमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने मौका गिरीलाई मिलेको थियो । गिरी मन्त्रिपरिषदको अध्यक्ष हुँदा जम्मा ३५ वर्ष उमेरको हुनुहन्थ्यो । नेपालको तेइसौं प्रधानमन्त्री गिरीलाई उहाँका समकक्षी राजा महेन्द्रका अनुयायी मान्दछन ।
‘राजतन्त्र र बहुदलीय व्यवस्थासँगै जान सक्दैनन’ ०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि मन्त्रिपरिषदको उपाध्यक्ष बन्नुभएका डा. गिरी त्यसपछि पनि पटक पटक विवादमा तानिनुभयो । गिरीको परिवारका भतिजा प्रदीप गिरी अहिले पनि कांग्रेसका नेता हुनुहुन्छ ।
भिडियाे
https://www.youtube.com/watch?v=I36D4wPdlYs