नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केन्द्रीय मुख्यालय धुम्बाराहीमा शनिबारदेखि चलिरहेको छ । यो बैठकमा अध्यक्षद्वयको प्रतिवेदनप्रति अधिकांश सदस्यहरुले चर्को आलोचना गरेका छन् । त्यसमध्येका एक, रघुजी पन्तसँग सहकर्मी सइन्द्र राईले कुराकानी गरेका छन् । प्रस्तुत छ, अन्तरवार्तामा पन्तले दिएको जवाफको सम्पादित अंश ।
–पार्टी जीवनका लागि निर्णायक र महत्वपूर्ण छ । वामपन्थीको झण्डै दुई तिहाइको सरकार बनेको छ । सरकारले राम्रो काम गरे, आगामी निर्वाचनमा पार्टी अझ बलियो हुन्छ र नराम्रो गरे कमजोर । त्यसैले पार्टीलाइ बलियो बनाउनेगरी सरकारले राम्रो काम गरोस् भन्ने चिन्ताले सरकारलाई आलोचना गरिरहेका हौँ ।
–अर्को, पार्टी एकीकरणमा ढिलाई भइरहेको छ । नेताहरुमा स्वेच्छाचारी प्रवृत्ति देखिएको छ । कम्युनिस्ट पार्टी यसरी चल्दैन । त्यसैले हामीले बैठक नियमित होओस् भनिरहेका छौँ । पाँच महिनापछि स्थायी कमिटी बैठक बल्ल बसेको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन हुन सकेको छैन । प्रदेश कमिटीमा पनि समस्या देखिएको छ । यस्तो ढंगले संगठन चल्दैन । त्यसैले संगठन सुदृढ बन्नुपर्छ र सरकारको लोकप्रियता बढ्नुपर्छ । कमजोरी सच्याउनुपर्छ ।
–यसका लागि गुटबन्दी अन्त्य गर्नुपर्छ । माथि नेतृत्वबाटै गुटबन्दी देखिने गरी सन्देश जनतामा गयो भने यसले पार्टीमा हित गर्दैन । अहिले यो पार्टीमा राणाहरुले बनाएजस्तो कोही ‘ए’ क्लास र कोही ‘सी’क्लासका छैनन् । पार्टीमा सबैको योगदान र भूमिका छ । त्यसैले क्षमताअनुसार जिम्मेवारी दिइनुपर्छ ।
–अहिलेकै अवस्थामा सरकार अब अगाडि बढ्न सक्दैन । अहिलेको संविधानले प्रधानमन्त्रीलाई शक्तिशाली बनाएको छ । तर, प्रधानमन्त्रीले गृहमन्त्रालयले गर्नुपर्ने काम पनि प्रधानमन्त्री कार्यालयमा तान्नुभएको छ । यसले गृह मन्त्रालयले आवश्यक काम गर्न सकेको छैन । हुनुपर्ने चाँही, शक्तिको विकेन्द्रीकरण हो ।
–गलत काम गर्ने, भ्रष्टाचारमा मुछिने र जनचाहनाअनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई फेर्नुपर्छ । त्यो शक्ति र अधिकार प्रधानमन्त्रीसँग छ ।
–प्रधानमन्त्रीले जे बोल्दै हुनुहुन्छ । आत्मअवलोकन गर्नुपर्छ । त्यो आवश्यक छ । प्रधानमन्त्री भ्रष्टाचारको विरोध गर्नुहुन्छ । मलाई लाग्छ, प्रधानमन्त्रीको भावनाअनुसार मन्त्रीहरुले काम गर्नुभएको छैन । प्रधानमन्त्रीले नै सबै काम गर्नुपर्छ भन्ने छैन । मन्त्रीले काम गर्नुपर्छ र प्रधानमन्त्रीले मन्त्री चलाउनुपर्छ । अहिले मन्त्रीहरुलाई काम भन्दा पनि फाइलको चिन्ता छ । यो कुरा प्रधानमन्त्रीलाई धेरै थाहा होला । त्यसैले अहिलेको मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्छ । अहिलेको बस्तुगत अवस्था यही हो ।
–सरकारलाई शक्तिशाली छ भन्ने भन्दा पनि महत्वपूर्ण के काम गरेको छ भन्नेले अर्थ राख्छ । सन् १९८४ मा राजीव गान्धीले झण्डै दुई तिहाई ल्याएका थिए । जुन शक्ति उनका बाजे जवाहरलाल नेहरुले पनि ल्याउन सकेका थिएनन् । तर, त्यो दुई तिहाई शक्ति चार वर्ष नपुग्दै दुर्घटनामा टुंगियो । बीपी सिंह प्रधानमन्त्री बने, पार्टी फुट्यो । त्यसैले, तपाईंसँग दुई तिहाइको शक्ति छ भन्दैमा बसिरहनु अर्थ हुँदैन । यदि, त्यो दुई तिहाइले जनताको काम गर्न सकेन भने त्यसको अर्थ हुँदैन ।
–प्रधानमन्त्रीलाई कमजोर बनाउने गरी अभिव्यक्ति दिदै हिँड्नु हुँदैन । अहिले प्रधानमन्त्रीलाई बलियो बनाउने हो । प्रधानमन्त्री र अध्यक्ष छोड भन्ने बेला भएको छैन । तर, कामको मूल्याङ्कन गर्ने बेला चाँही भयो ।
–गुटबन्दी नहुने भन्ने हुँदैन । तर, फरक धारमा लाग्यो भनेर पक्षपात गर्नुहुँदैन । योग्यता र क्षमताअनुसार काम दिइनुपर्छ ।
–नेकपामा हामी चिठ्ठा तानेर, कसैले टीका लगाइदिएर यहाँसम्म आएको होइन । लडेर, संघर्ष गरेर । आन्दोलनको मैदानमा, जेलमा भन्यो जेलमा, शासन सञ्चालनमा भन्यो शासन सञ्चालनमा आफ्नो योग्यता देखाएर यहाँसम्म आइपुगेको हो । कसैको कृपाले आएको होइन । त्यसैले केही पाउनुपर्छ भन्ने आशा छैन, जनताले प्रतिफल पाउनुपर्छ ।
–माधव नेपाल र केपी ओलीको मैले आलोचना गरेको छु । पिस फेडेरेसनको कार्यक्रममा किन गएको ? भट्टराई, गिरिजाले तक्मा लगाए भन्दैमा केपी ओलीले पनि तक्मा लगाउनुपर्छ भन्ने छैन ।
पूरा अन्तर्वार्ता हेर्नुहोस्ः
https://www.youtube.com/watch?v=WmIWV4p9zhs