काठमाडौं ।नेपाली सेनाका कर्णेल गौरव गुरुङको रचना र संगितमा तयार भएको तमू ल्होछार गीत आजबाटै बजारमा आउने भएको छ ।ल्होछारको पूर्वसन्ध्यामा कर्णेल गौरवले लेखेको गीतमा म्युजिक भिडियोको छायाङ्कन समेत गरिएको छ । विहीबार काठमाडौंमा गरिएको छायाङ्कनमा तमू समुदायका प्रतिष्ठित व्यक्तित्वहरुले अभिनय गरेका छन् ।
निर्वाचन आयोगका पूर्वप्रमुख दोलखबहादुर गुरुङ, पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ, वीर अस्पतालका उपकुलपति प्रा.डा. गणेश गुरुङ, वरिष्ठ पत्रकार डण्ड गुरुङ, नायक राजु गुरुङ, गायिका शर्मिला गुरुङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका पूर्वअध्यक्ष चन्द्रकला गुरुङले समेत ल्होछार गीतमा अभिनय गर्नुभएको छ ।
त्यसैगरी, तमू ह्युल छोंजधिँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङ, उपाध्यक्ष सीआई टेकबहादुर गुरुङ, तमूस्यो ह्यला छोंजधिँका पूर्वअध्यक्ष भगवती गुरुङ, सगरमाथा आरोही भूमिका गुरुङ, राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ, तमू ल्होछार मूल आयोजक समितिका संयोजक श्री गुरुङ, महासचिव लोक गुरुङ लगायतले अभिनय गर्नुभएको छ ।
तमू ल्होछार मूल आयोजक समितिले तयार पारेको सो म्युजिक भिडियो ल्होछारको अवसरमा पुस १५ गते आयोजित समारोहमा विमोचन गरिने छ । पृतम गुरुङले निर्देशन गरेको सो म्युजिक भिडियोमा चर्चित तमू कलाकारहरुले समेत अभिनय गरेका छन् ।
गौरव गुरुङको रचना रहेको सो गीतमा गणेश गुरुङ (पाँचथर)ले संगीत दिनुभएको छ । त्यसैगरी, गौरव, गणेश गुरुङ (गोर्खा), पवित्रा गुरुङ र कुसुम गुरुङको स्वर रहेको छ ।