जोसेफ शाही/नारायण थापा
काठमाडौं । शीर्षकमा भनिएको वाक्य उहाँका छोराछोरीले अब फेरि सुन्न पाउने छैनन् । उहाँका ती सिर्जना जगेर्ना गर्न सके उहाँप्रति साँचो सम्मान र श्रद्धाञ्जली हुनेछ । लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र मूत्रप्रणालीसम्बन्धी समस्यासँगै टाउकोमा रगत जमेका कारण थला परेका वरिष्ठ लोकगायक तथा लय संकलक बुद्धिकृष्ण लामिछाने महाप्रस्थान गर्नु भएको छ । उहाँ आफ्ना छोराछोरीलाई भनिरहनुहुन्थ्यो, ‘मेरा गीतहहरु जसरी भए पनि जतनका साथ राखिदेऊ है’ । यो अनुरोधले पुष्टि गरिदिएको छ कि, आफूले जन्माएका सिर्जना आफ्ना सन्तानजत्तिकै प्रिय लाग्छन ।
विसं २०१२ साउन १ गते भक्तपुरको बागेश्वरी–३ मा जन्मिएका लामिछानेले जीवनका तीन दशक नेपाली लोकसंगीत र कला संस्कृति उत्थानमा व्यतीत गर्नुभयो । तर, देशको लोककला संस्कृतिमा यति ठूलो योगदान दिने एक स्रष्टा रोगको भारीले थिचिँदा राज्यले भने सिन्को भाँचेन । हृदयघातका कारण प्यारालाइसिस भएपछि सात वर्षसम्म रोगसँग लड्दालड्दै शुक्रबार उहाँ हार्नुभयो । भूकम्पले जीर्ण घरको पिँढीमा श्रीमती दुर्गादेवी र छोराछोरीको रुवाबासी चलिरहँदा लामिछानेको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न न कोही नेता पुगे न त कुनै सरकारी प्रतिनिधि नै । घाटमा उहाँको देह जलिरहँदा पनि कोही कलाकर्मी र गायकगायिका श्रद्धाञ्जलि अर्पण गर्न नआएको देख्दा गाउँका मलामी एक सम्मानित स्रष्टाप्रति बेवास्ता भएको गुनासो गरिरहेका थिए ।
२०३६ मा रेडियो नेपालमा रेकर्ड गरिएको ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’ बोलको गीत सर्वाधिक रुचाइएपछि लामिछानेको सांगीतिक यात्राले गति लिएको हो । टीकाराम लामिछाने र पद्मकुमारीको कान्छो सन्तानका रूपमा जन्मिएका लामिछानेले सानैमा बुबा गुमाउँदाको पीडा र छोराले गीत गाएको हेर्ने आमाको चाहना पूरा गर्न गीत रेकर्ड गर्नुभएको थियो ।
‘तिम्रो र मेरो मायाको डोरो बेरौँ कि फनफनी, फाटेको दौरा लाएर, खोले सिस्नो खाएर, हात र खुट्टा टेक्दै छु भारी बोक्दैछु, गाई त बाँध्ने पाटको दाम्लो, बाखरी बाध्ने डोरीले मैले के गर्नु, पिँढीमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुँदिहुन् मलाइ सम्झेर’ जस्ता मानवीय दुःख र समाजको परिवेश बोकेका गीत उहाँले गाउनुभयो । उहाँका यी गीतहरु लाखौँले सुने होलान र सुन्नेछन् पनि तर राज्यका एक दुई जनाले मात्रै उहाँको समस्या र पीडा बुझिदिएको भए सायद आज उहाँको निधन समाचार बन्ने थिएन । हो, कलाकारलाई राष्ट्रको गहनामात्रै बनाइयो, चम्किउञ्जेलसम्म लगाइयो तर खुइलिएपछि चम्काउने प्रयत्न कहिल्यै भएन । यो विडम्बनाले कहिलेसम्म निरन्तरता पाउने ? भावपूर्ण श्रद्धाञ्जलि बुद्धिकृष्ण लामिछानेमा ।