काठमाडौं । वर्षासँगै भएको हिमपातले पूर्वी पहाडी तथा उच्च हिमाली जिल्लाहरुमा अत्यधिक चिसो बढेको छ । शुक्रबार दिउँसोबाट हिमपात शुुरु भएपछि ताप्लेजुङ, संखुवासभालगायतका जिल्लामा अत्यधिक चिसो बढेको हो ।
लामो समयपछि एकसाथ वर्षा र हिमपातका कारण बढेको चिसोले जनजीवन कष्टकर बनेको छ । दशकपछि ताप्लेजुङ, भोजपुर, संखुवासभालगायतका तल्लो क्षेत्रसम्म पनि हिमपात भएको छ । तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्केलगायत क्षेत्र हिउँले ढाकेको छ । यी क्षेत्रमा अघिल्ला वर्षहरुमा यो भन्दा ढिलो मात्रै हिमपात हुने गरेको थियो ।
पछिल्लो दशकसम्म हिमपात नभएका तेह्रथुमका वसन्तपुर, जिरिखिम्ती, लसुने, घुर्मिसे, सिमिनाक्सी लगायत क्षेत्रमा पनि हिमपात भएको छ । चौकीदेखि माथिको क्षेत्रमा दिउँसोबाट दुई फिट हिमपात भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिनुभयो ।
मनाङ र मुस्ताङमा पनि अत्यधिक चिसो बढेको छ । हिमपात भएसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । भारी हिमपातका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन पनि सकेका छैनन् । त्यहाँको तापक्रम पनि माइनस २० डिग्रीमा पुगेको मनाङका डिएसपी खडकबहादुर खत्री जानकारी दिनुभयो ।
डोल्पामा पनि भारी हिमपात भएको छ । विगत वर्षहरुमा जस्तै यसवर्ष पनि डोल्पामा पुसको दोस्रो सातामै हिमपात भएको हो । हिमपात भएसँगै हिउँदे बाली सप्रने भन्दै डोल्पावासी खुशी भएका छन् । तर, अत्यधिक चिसो भएसँगै सर्वसाधारणको जनजीवन कष्टकर भएको डिएसपी अवदेशकुमार विष्टले जानकारी दिनुभएको छ ।
यसैबीच, काठमाडौं उपत्यकामा पनि अत्यधिक चिसो बढेकाे छ । चिसो बढेका कारण काठमाडौं उपत्यकामा रुघाखोकीका बिरामी पनि केही दिनयता बढेको अस्पतालहरुको तथ्यांकले देखाएको छ । चिसो बढेसँगै बिहान तथा बेलुका सडकमा सवारी साधन तथा पैदल यात्रुको चाप कम हुन थालेको छ ।
मौसमविद् सुवास रिमालका अनुसार उपत्यकाको तापक्रम बिहान ६ बजे १.६ डिग्री सेल्सियसमा पुगेको छ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा पश्चिमी न्यूनचापीय प्रणालीका अनुसार हिमपात भएको र त्यो प्रणाली अहिले पूर्व सिक्किमतर्फ सरेकाले अब ठूलो हिमपातको सम्भावना नरहेको उहाँले जानकारी दिनुभयो ।