जोसेफ शाही
काठमाडौं । एक समय थियो, नेपाली संगीतको सुनौलो युग अर्थात् नातीकाजी, गोपाल योञ्जन, अम्बर गुरुङ, नारायण गोपाल, प्रेमध्वज प्रधान, तारा देवी, अरुणा लामा, फत्तेमान राजभण्डारी, भक्तराज आचार्य, दीपक जंगम, धर्मराज थापा, कुमार बस्नेत, दीप श्रेष्ठ, मीरा राणा, उदितनारायण झा, शम्भुजीत बाँस्कोटा, नन्दकृष्ण जोशी, कुन्ति मोक्तानजस्ता बहुप्रतिभाशाली स्रष्टा थिए ।
त्यसयता नेपाली संगीत क्षेत्र हेर्दा सुरेश अधिकारी, न्हू बज्राचार्य, रामकृष्ण ढकाल, यम बराल, आनन्द कार्की, राजेश पायल राई, एड्रियन प्रधान, रीमा गुरुङ होडा, हेमन्त शर्मा, सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुगम पोखरेल, महेश खड्का, कालिप्रसाद बास्कोटा, अन्जु पन्त, शिव परियार, प्रमोद खरेललगायतका सर्जकले कला र गलाको उपस्थिति देखाए । त्यस्तै, खेमराज गुरुङ, कोमल ओली, राजु परियार, विमाकुमारी दुरा, बिमलराज क्षेत्री, लक्ष्मी न्यौपाने, भगवान भण्डारी, घमेश दुलाल, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनीजस्ता गायकगायिकाको आगमनले लोककला संस्कृति जर्गेनामा इँटा थपियो ।
पछिल्लोसमय, नेपाली सांगीतिक उद्योग नियाल्दा आशालाग्दा स्रष्टाको उदय नै नभएको होइन तर रहर गर्नेको भिड बढ्दै जानुले प्रश्न चिन्ह पनि खडा भएको छ । यद्यपि दीपक लिम्बु, निशा देशार, हरी लम्साल, अर्जुन पाखरेल, राज सिग्देल, मिलन अमात्य, सन्तोष लामा, कोशिष क्षेत्री, ताराप्रकाश लिम्वु, मेलिना राई, विश्व नेपाली, कमल खत्री, पुष्पन प्रधान जस्ता साधनाले खारिएका गायकगायिका र संगितकारको आगमनले नेपाली संगीतले दर्जनौँ मर्मस्पर्शी गीतसंगीत पाएको छ । लोकगीतमा विष्णु माझी, राधिका हमाल, रामजी खाण, कुलेन्द्र बिश्वकर्मा, मुना थापा मगर, खुमन अधिकारी, टीका पुन, भागिरथ चलाउने, प्रकाश सपुत र शान्तिश्री परियारजस्ता गायकगायिकाको नेपाली गीतसंगीतमा आशा जगाइरहेको छ ।
पहिला गीत रेकर्डअघि रेडियो नेपालबाट स्वर परीक्षा पास गर्नुपर्ने अनिवार्य प्रावधान थियो भने अधिकांश गीतहरु रेडियो नेपालको स्टुडियोमै रेकर्ड हुन्थे । तर पछिल्लो समय निजीक्षेत्रबाट खुलेका प्रशस्त स्टुडियो र प्रविधिको सहज उपलब्धताले रहर गर्नेको बिगबिगी बढ्दै गएको छ । लोकगीतलाई आधुनिकताको जलप लगाइँदैछ त आधुनिक गीतमा लोकगीतका लय मिसाएर ‘ऐँजेरु संगीत’ उत्पादन गरिँदैछ । तर वास्तवमै शब्द, संगीत र गायकीका हिसाबले तारिफ गर्न लायक सिर्जना भने औँलामा सहजै गन्न सकिन्छ ।
पछिल्लो समय शुरुवात भएका केही फ्रेञ्चाइज गायन प्रतिस्पर्धा (नेपाल आइडल र भ्वाइस अफ नेपाल)ले नेपाली संगीतमा केही आशालाग्दा अनुहारको आगमन त भएको छ तर आम रुपमा संगीत सिकेर–बुझेर गीत गाउनुपर्छ भन्ने चेतना विकास हुनसकेको छैन । गीत गाएर भोलि हिट भइहाल्ने अनि मेला–महोत्सव र देश–विदेशमा गीत गाएर पैसा कमाइहाल्ने अल्पकालीन सोचले पछिल्लो पुस्ता संगीत र कलाकारितामा समर्पणमा कमी देखिन्छ । संगीत सिकेर–बुझेर गाउने सर्जकले एउटा स्तरीय गीत बजारमा ल्याउँदा खर्च हुने रकमले रहर गर्नेले ४–५ वटा गीत बजारमा ल्याइदिन्छन् । फलस्वरुप, महिनामा ५ वटा स्तरीय गीत बजारमा आउदा रहर गर्नेको ५० वटा गीत युट्युबमा आइसकेका हुन्छन् । ‘टिपनटापन’ पाराका गीतको बाढीमा कालजयी गीत हराउँदै जाँदा स्रोता–दर्शक नै अन्योलमा परिरहेका छन् । समयानुकुल दर्शक–स्रोताको गीतसंगीतप्रति रोजाई फरक हुनसक्छ । तर, फरक भन्दैमा लोकगीतमा र्याप र सरगम अनि आधुनिक गीतमा लोक गीतका टुक्का जबर्जस्त घुसाउँदैमा त्यो पृथक सिर्जना भइहाल्छ भन्ने भ्रमबाट स्रष्टा माथि उठ्नु जरुरी छ ।
पछिल्लो समय, अराजक मनोवृत्तिका गायकगायिकाको आगमनले धरातल बिर्सेर गायक संगीतकार बनिहाल्छु भन्नेको भिड बढ्दै गएको अनुमान लगाउन गाह्रो पर्दैन । ज्योति मगर र दुर्गेश थापा जस्ता गायकगायिकाबाट लोकगीतमा भविष्य खोज्ने भावी पुस्ताले के अपेक्षा गर्ने ? जुन गायकगायिकाले आफ्नो कलाकारिताको ऊर्जाशील समय अश्लीलता र आत्मरतिमै व्यतीत गरेका छन्, त्यस्ता सर्जक भनिनेबाट नेपाली लोकसंस्कृतिमा के योगदान भयो ? अब यो प्रश्न समीक्षाको बिषय बन्नुपर्छ । कला, साहित्यसँग जोडिएर कखरा जानेकै भरमा उपन्यास लेख्न सक्छु भन्ने अपरिपक्व सोचबाट पहिला त स्रष्टा नै माथि उठ्न जरुरी छ ।