जापान । अप्रिल २०१९ सालदेखि लागू हुने गरी जापानमा नयाँ ‘स्पेसिफाइड स्किल्स’ भिसा दिने भनिएको छ । नेपाली कामदारले पनि जापानमा काम गर्न पाउने भएका छन् । जापान सरकारको विदेशी कामदार लिने विषय महत्वकांक्षी मानिएको छ । सन् २०२५ सम्ममा जापानमा ५ लाख विदेशी कामदारले काम पाउने छन् ।
कसरी गर्ने भिसा आवेदन ?
जापान सरकारले घरेलु राष्ट्रमा कुनै आपराधिक गतिविधिमा संलग्न भएको र डिपोर्ट गरिएका कामदारलाई पुनःजापान ल्याउने सम्झौता नभएका राष्ट्रका नागरिकको भिसा आवेदन स्वीकार नगर्ने निर्णय गरेको छ । जस्तै इरानसँग जापानको यो सम्झौता छ र इरानी नागरिक यस कार्यक्रममा सहभागी हुन पाउँने छैनन् ।
कहाँ चाहिएको हो कामदार ?
जापान सरकारले विदेशी श्रम सहयोग आवश्यकता भएका १४ विभिन्न उद्योग पहिचान गरेको छ । अप्रिलदेखि ल्याइने कामदार यिनै १४ क्षेत्रमा काम गर्न मगाइएको हो । उनीहरुले तल उल्लेखित विधामा काम गर्नु पर्नेछ ।
१.कृषि२.उडड्यन३.भवन सरसफाइ४.निर्माण५.एलेक्ट्रोनिक्स र एलेक्ट्रिकल उपकरण६.फिसिङ७.खाद्य तथा बैङक्वेट८.खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी९.हस्पिट्यालिटि१०.औद्योगिक मेशिनरी११.भौतिक उद्योग१२.नर्सिङ१३.जहाज निर्माण१४.भेहिकुलर व्यवस्थापन
कस्ता कामदार योग्य हुनेछन् ?यो योजनामा जापान सरकारले दुई प्रकारका भिसा कार्यक्रम ल्याएको छ । स्पेसिफाइड स्किल्स १ र स्पेसिफाइड स्किल्स २ । दुईमध्ये पहिलो प्रकारको अर्थात स्पेसिफाइड स्किल्स १ मा प्रक्रिया सहज छ ।
के हो स्पेसिफाइड स्किल्स १ ?
यो भिसाका लागि युनिभर्सिटी डिग्री जरुरी छैन । यसमा आवेदन दिन वा छानिन जापानी भाषामा केही ज्ञान हुन आवश्यक छ तर यो कुरा कुन उद्योगमा काम गर्ने आवेदन दिन लागेको हो, त्यसमा निर्भर छ । हालसम्म सरकारको तयारी र सम्भाव्यता हेर्दा जेएलपिटी को लेभल ४ (एन फोर) बराबरको भाषा परीक्षा उत्तीर्ण हुनुपर्ने छ ।
जापान सरकारका पुराना कार्यव्यवस्था हेर्दा आवेदन दिन लागेको उद्योगसँग सम्बन्धित कम्तीमा एक वर्ष वा दुई वर्ष काम गरेको अनुभव भएको प्रमाणपत्र उपलब्ध गराउनुपर्ने हुनसक्छ । यो भिसामा जापान आउने व्यक्ति बढीमा ५ वर्षसम्म काम गर्न र बस्न पाउनेछन् भने साथमा परिवार राख्न वा ल्याउन पाउनेछैनन् ।
के हो स्पेसिफाइड स्किल्स २ ?
यो भिसामा उच्च कौशल र दक्षता भएका कामदार चाहिन्छ । यसमा तपाइलाई निरन्तर काम गर्न पाउने अनुमति, कर भुक्तानी, भिसाको नवीकरण, कतिसम्म जापान बस्न पाउने भन्नेमा कुनै सीमितता नहुने, १० वर्ष जापान बसेपछि स्थायी रेसिडेन्सका लागि आवेदन दिन सकिने सुविधा छन् ।
आफ्नो स्तर कसरी बढाउने ?
स्पेसिफाइड स्किल्स १ बाट स्पेसिफाइड स्किल्स २ मा कसरी फड्को मार्ने यकिन छैन । यसबारे सरकारले एकिन तथ्य सार्वजनिक गरिसकेको छैन तर हरेक उद्योगसँग सम्बन्धित मन्त्रालयलाई जिम्मा दिएर कामदारको थप परीक्षा लिने र स्किल अप अर्थात कौशल बढेको प्रमाणित भएमा स्पेसिफाइड स्किल्स १ बाट स्पेसिफाइड स्किल्स २ मा भिसाा अपग्रेड हुन सक्नेछ ।
दुरुपयोग रोक्न जापानको तयारी
यो योजना दुरुपयोग हुने सम्भावना उत्तिकै छ । महत्वकांक्षाका साथ सुरु गरिएको प्रशिक्षार्थी कामदार दिने व्यवस्थामा धेरै समस्या देखिएका छन् । ती समस्या यो योजनामा पनि देखिन सक्ने भएकाले त्यसतर्फ पनि जापान सरकार थप सचेत बनेको छ । आशाही सिन्बुनले प्रकाशन गरेको रिपोर्टमा सन् २०१८ को पहिलो अर्धवार्षिक अवधिमा ४ हजार २ सय ७९ जना इन्टर्नस प्रायोजकको हातबाट फुस्किसकेका छन् ।
जापान सरकारले एउटै काम गर्दा विदेशी र जापानी दुवै कामदारले समान तलब पाउनु पर्ने व्यवस्था गरेको छ । प्रशिक्षार्थी कामदार लिएका तर तलब सुविधामा विभेद गरेका कम्पनीले नयाँ व्यवस्था अन्तर्गतका कामदार लिन पाउने छैनन ।
सरकारको तयारी के छ ?
बढी भन्दा बढी विदेशी कामदार जापान ल्याउँदा त्यसले पेन्सन र राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीमा बोझ पार्ने निश्चित छ । हालको व्यवस्था अनुसार कुनै पनि कामदारले राष्ट्रिय पेन्सन प्रणालीमा रहेर कम्तीमा पनि १० वर्ष त भुक्तानी गर्नैपर्छ । यदि स्पेसिफाइड स्किल्स १ का उम्मेदवारले आफ्नो भिसा परिवर्तन नगरेको खण्डमा ३ वर्षपछि मात्रै उनीहरुले रिफण्ड पाउँछन् । यसको अर्थ हो ५ वर्ष पूरा गरेका कामदारले केही पनि पाउँदैनन् । हाल १८ राष्ट्रसँग जापानले पेन्सन सम्झौता गरेको छ । यी राष्ट्रका नागरिकलाई यो प्रणालीले प्रभाव पार्दैन ।
नेपालको सम्भावना के हो ?
जापानका अधिकांश उद्योगमा भएको चरम श्रमिक अभावका कारण ठूलो परिमाणमा विदेशी कामदार ल्याउनुको विकल्प अब जापानसँग छैन । यसले अर्थतन्त्र तथा समाजमा कस्तो असर गर्छ र नयाँ आउने कामदार तथा हाल जापानमै रहेका विदेशी कामदारहरुप्रति जापान सरकारले कत्तिको लचकता देखाउँछ भन्ने हेर्न बाँकी नै छ ।
जापान सरकारले विदेशी कामदार ल्याउन लागेको सत्य हो, त्यसका लागि जापान आफैँ आन्तरिक तयारीमा छ । धेरै कुरा अझै तयार हुँदैछन् नियम बन्दैछन् । सरकारी अधिकारीहरुलाई उद्यृत गर्दै केही जापानी सञ्चारमाध्यमहरुले पहिलो वर्ष ४० हजार विदेशी कामदार नयाँ योजनाअन्तर्गत भित्रनसक्ने भनेका भए पनि सबैले ध्यान दिनुपर्ने मुख्य कुरा त के हो भने हालसम्म कुन देशबाट कति कामदार ल्याउने भन्नेबारे सरकारीस्तरको आधिकारिक जानकारी आइसकेको छैन । नेपालबाट कामदार ल्याउने हो कि होइन भन्ने ठेगान नै भएको छैन् ।
जापानले नेपाललाई हेर्ने दृष्टिकोण, देखाएको सदासयता, नेपालीले जापानमा देखाएको व्यवहार सबै संयोजन मिल्यो र नेपाल सरकारले पनि त्यही किसिमको तदारुकता देखायो भने कम दक्षता भएका नेपाली कामदारका लागि जापान सरकारको नयाँ योजना फलदायी हुनसक्छ । कामका हिसाबले हेर्ने हो भने सुख पाइने काम अन्तर्गत कुनै पनि उद्योगमा कामदार आवश्यक छैन तर त्यही श्रम कम दाममा बेच्न बाध्य नेपालीका लागि यो राम्रो अवसर बन्न सक्छ । (विभिन्न एजेन्सीहरुको सहयोगमा)
https://www.facebook.com/janatasamachar/videos/602347030198399/