भारत । सुशासन, प्रगति र विकासको गफ दिएर नथाक्ने भारतमा अनेक घटना भइरहन्छन् । सरकारी अस्पतालमा कतिसम्म लापरबाही हुन्छ भन्ने पनि बेलाबेला पटाक्षेप भइरहेको हुन्छ ।
यस्तै एउटा घटना बाहिर आएको छ, तमिलनाडुमा १९ वर्षीय युवकले रगत दिए । कसैको ज्यान बचाउन रगत दिनु पुण्य हो । तर यहाँ त यस्तो भयो कि, रगत दिने युवकले आत्महत्या गरिसकेका छन् । रगत लिनेलाई पनि जीवनभर जिउनु न मर्नु भएको छ ।
रगत दिने युवा एचआइभी संक्रमित थिए । उनले दिएको रगत भने गर्भवती महिलालाई परेको छ । युवकलाई यो घटनामा गल्ती महसुस हुनेबित्तिकै २७ डिसेम्बरमा आत्महत्या प्रयास गरे । रामनाथपुरम सरकारी अस्पतालमा उनलाई बचाउन खोजिए पनि सकिएन ।
उनले पासपोर्ट बनाउने बेला रगत परीक्षण गर्दा एचआइभी भएको पत्ता लागेको थियो । उनले त्यसअघि गाउँमै रगत दिएका थिए । उनले दिएको रगत २३ वर्षीया गर्भवती महिलालाई चढाइएको थियो । उनी गर्भवती थिइन् । भारतीय सरकारी अस्पतालको कतिसम्म लापरबाही भने, रगत दिने युवाको रक्तपरीक्षणसमेत नहुँदोरहेछ । यो घटनामा तीन कर्मचारी निलम्बन भएका छन् । एकको ज्यान गएको छ । मद्रास उच्च अदालतले ३ जनवरीमा थप रिपोर्ट दिन आदेश दिएको छ ।
खासमा ती युवाले आफन्त बिरामी पर्दा हतारमा रगत दिएका थिए । तर त्यो रगत प्रयोगमा आएन । पछि अस्पताल पुगेकी गर्भवती महिलामा रगतको कमी देखियो, समूह मिल्यो । उनले त्यो रगत लिइन् । तर दुर्भाग्य, अस्पतालले एक पछि अर्को लापरबाही गर्दा उनको शरीरमा ज्यानमारा संक्रमण प्रवेश गरेको छ ।
स्थानीय सरकारले भनेको छ, ‘महिला र बच्चाको स्वास्थ्यमा ख्याल राख्नू । अझ बच्चामा संक्रमण नहोस् भनेर सतर्कता अपनाइएको छ । र, ती महिला र जन्मिने बच्चाको जीवनभर स्वास्थ्य उपचार सरकारको जिम्मा भयो ।’ विना परीक्षण रगत लिने सरकारी अस्पतालका कारण एउटा ज्यान गएको छ । अरु दुई ज्यान जोखिममा छन् ।