सन् २०१८ हामीबाट बिदा हुँदैछ । विगत बन्दै गरेको र इतिहासमा घुस्दै गएको यस वर्षले सम्झनयोग्य के छोडेर गयो त ? यो सिंहावलोकन ।सन् २०१८ को शुरुमा प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि दुनियाका आँखामा आशाका मुना पलाए । देशमा तरक्की गर्छु भन्नेहरु सत्तामा आए । अब यिनीहरुले कताबाट विकासको बाटो थाल्छन् होला भनेर जनता नवीन क्षितिजको प्रतीक्षामा रहेका थिए । सत्तासीन दल नेकपाका नेताहरुले सत्तारोहण गरेपछि यातायातको सिण्डिकेट हटाउने योजना अघि सारे, जनताले स्वागत गरे ।
भ्रष्टाचारीलाई कारवाही गर्ने प्रतिबद्धता आयो जनता रमाए । साथै काठमाडौमा छिटै मेलम्चीको पानी ल्याउने,द्रूतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने, निजगढमा अन्तरर्राष्ट्रिय विमानस्थल बनाउने,भैरहवामा चाँडै अन्तरर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने,पोखरामा पनि यो सेवा यथाशीघ्र शुरु गर्ने सरकारी घोषणाले नेपाली मन उल्लसित भयो ।
यही उत्साहमा सरकारले दूरगामी योजना पनि अघि सा¥यो । देशमै रोजगारीका अवसर जुटाई युवाशक्ति विदेश पस्ने प्रवृत्तिमा कमी ल्याउने,सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने गरी नेपाल भ्रमण वर्ष सन् २०२० मनाउने, देशमा नयाँ सय गन्तव्य चयन गरी पर्यटक लैजाने, रेल ल्याउने पाइप लाइनबाट तेल आपूर्ति गर्नेलगायतका सरकारी घोषणा सार्वजनिक भए । यसले देशवासीलाई आशावादी बनायो । अरुण तेस्रो, बूढीगण्डकी तामाकोशीलगायतका ठूला जलविद्युत आयोजना सञ्चालनका समाचारले पनि जनतालाई जागृत बनाएकै हो ।
[caption id="attachment_86346" align="alignright" width="150"]
-नारायण भण्डारी[/caption]
जब कार्यान्वयनका दिन आए सरकारी प्रतिबद्धता कमजोर देखियो । यातायात सिण्डिकेटका समर्थकहरु दशैंको मौका छोपी च्यापमा पारेर विगत कारवाही फुकवा गर्ने मात्र होइन भाडा नै बढाउने कठोर कार्य गर्न पनि सफल भए तर सरकार निरीह भयो । आफ्नै कदमबाट पछि हट्यो । लामो समयदेखि ठूला विमान नभएको राष्ट्रियध्वजावाहक नेपाल वायुसेवा निगमले केही विमान र वाइड बडी ल्याएको उत्साह फेरि यसको खरिद प्रक्रियाको विवादले चिसो थपिदिएको छ । यति मात्र होइन संघीयता कार्यान्वनका क्रममा गर्नुपर्ने कर्मचारी समन्वयको सवाल झन जटिल बन्दै छ । यसले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रबीच दूरी बढाउँदै छ । राज्यको स्थायी सरकार भनिने राष्ट्रसेवकहरुको संगठन नै विरोध प्रदर्शनमा उत्रिए पछि सरकारको कार्ययोजना कहाँ पुग्ला ?
बेथितीको लहर जताततै फैलिंदा मुलुकवासीले अनुशासन,आत्मसंयम राष्ट्रिय आदर्श नै ओझेलमा पर्नथालेको धारणा व्यक्त गर्दैछन् । कतै नक्कली उद्धार वा फेक रेस्क्यु,गाइड नलिई पदयात्रामा जाने पर्यटक, तिनले हिमाली क्षेत्रमा नाङ्गो भई फोटो खिच्ने लगायतका अमर्यादित कार्यहरुले नेपाली पर्यटन बजार दुष्प्रचारित हुनपुगेको छ । हिमाल, पहाड र तराईको त्रिखण्डीय भूभागमा बनेका त्रिवलीले विश्वलाई विमोहित पारे पनि गुणस्तरीय पर्यटकको आगमन नहुँदा र व्यवस्थापन विश्वस्तरको नहुँदा पर्यटनको योगदान ३ प्रतिशत पनि पुग्न सकेको छैन । तर देशमा पर्यटनको ठूलो योगदान महान् छ भन्ने रटान भने उस्तै छ । लागेको बानी कसले छाड्ने ? भाषणमा भनिदियो भइगयो । अध्ययन अनुसन्धानको रिपोर्ट आँकडा हेरेर चल्ने कहिले ?
मुलुकमा उत्पादनमुखी कार्य कमजोर हुँदै छ । उखु किसान र उखु खेती हुँदा हुँदै बन्द हुने चिनी मिल,कपडा उद्योग, औषधि उत्पादन, कागत कारखानाले उत्पादन थाल्ने भनिए पनि सबल हुन सकेका छैनन् । थला परेका उद्योगहरुको पुनरोत्थान हुने आशा पनि सार्थक हुन सकेको छैन । भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण पनि छेपाराको उखान जस्तो भएको छ । राजधानीको केन्द्रमा रहेको रानीपोखरी खण्डहरझै खङग्रङ सुकेको छ । सबैले सजिलै देख्ने सम्पदाको यो दशाले देशको अवस्था आफै बोलेको छ ।
हिउँद लागेपछि देशका विभिन्न शहरमा औद्योगिक मेलाको आयोजना गरेको भए पनि यस्ता मेलामा स्वदेशी उत्पादनभन्दा बाह्य वस्तुकै प्रदर्शन र क्रयविक्रय हुँदैआएको छ । देशको औद्योगिक मेला विदेशको रोटे पिङ खेल्ने र दाम उतै पठाउने व्यवसाय चलेको छ । औद्योगिक प्रदर्शन त दोहोरी गाउने मेलामा परिणत भएको छ । यहाँको उत्पादन के त ?
लाखौं युवा विदेश पठाएर उनीहरुले पठाएको विप्रेषणबाट देश चलाउन बानी परेको नेतृत्वले त्यसमा सुधार गर्ने प्रयास पनि गरेन । जनशक्ति बाहिर पठाएर मुलुक समृद्ध भएको उदाहरण विश्वमा कतै नभए पनि राज्यरथिहरुले त्यसको लाभ लिन भने छाडेनन् । उचित अनुचितको समेत ख्यालै नगरी राज्यखर्च खान बानी परेकाहरुले किन छाड्थे र सञ्चारमाध्यममा तिनका बारेमा यथार्थ जानकारी आएपछि जनताले बल्ल चिन्न पाए ।
जनता नै राज्यको सार्वभौमसत्ता सम्पन्नशक्ति र अन्तिम निर्णायक भएकाले जनदृष्टिमा परिन्छ कि भनेर कतिले सच्याउने चेष्टा गरेका छन् । क्षेत्रीय सम्बन्ध र आर्थिक गतिविधि सुदृढ तुल्याउन सगरमाथाको काख काठमाडौमा बिमेस्टेकको शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर सरकारले नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा प्रज्ज्वल बनाएको भन्दै जनताले सन्तोष मानेका थिए । तर त्यही ढाँचामा एशिया प्यासिफिक सम्मेलन गर्न खोज्दा आर्जित जनविश्वास धर्मराउन पुगेको पनि देखियो ।
आज भ्रष्टाचार घटेको छैन भ्रष्टाचार केवल आर्थिकक्षेत्रमा मात्र होइन,भाषा संस्कृति, राज्यकला, प्राज्ञिकक्षेत्र,कृषिकर्म पर्यटनसंहिता, निर्माण, पुनर्निमाणका क्षेत्रमा पनि छाइसकेको छ । मुलुकको भविष्य भूमिव्यवस्थापन अस्तव्यस्त छ । कृषिभूमिको विनाश हुँदैछ । मुलुकलाई जैविक विविधताको देश भने पनि यहाँका वनस्पतिको संरक्षण हुनसकेको छैन विदेशी हावापानीका बिरुवा देशमा भित्र्याइँदै छ । खेतीका रैथाने जाति विलुप्त पारिंदैछ । नेपाली प्रविधि पाखा पारिंदैछ । पशुपालनमा पनि विदेशी वर्णसंकरकै दबदवा छ । यो पनि आफ्नोपन हराउने हटाउने र भोलि अरुको भरमा पु¥याउने योजनासहितको भ्रष्टाचार हो । यसै वर्ष काठमाडौमा आयोजित एशिया प्यासिफिक सम्मेलनमा सरकारी सम्लग्नताले यहाँको शिखरी सभ्यतालाई प्रभावित पारेको टिप्पणी पनि गरिएको छ ।
देशमा मानवीय व्यवहार कमजोर हुँदैछ । आशा गरिएका ठाउँमा निराशाका बादल पस्दैछ । पत्याउनै गाह्रो पर्ने गतिविधि भएका छन् । सामाजिक अपराध बढ्दो छ । बलात्कार, हत्या बोक्सी आरोप,ठगीका घटनामा कमी आउन सकेको छैन ।
प्रकृतिप्रदत्त पक्ष भने सबलै छ । खेतीपातीका लागि यस वर्ष अनुकूल हावापानी रहँदा कृषि उत्पादन बढेको हो । धानको उत्पादन ८.८९ प्रतिशत पुग्नु हर्षको विषय हो । तर त्यही धान मुलुकमा भण्डारण हुन नसक्नु अर्को समस्या भएको छ । कृषि उत्पादनको राम्रो सम्भावना भए पनि व्यवस्थित गरेर आयात कम गर्ने रणनीति बनाएर देशलाई समृद्धि बनाउँन बाँकी नै छ । देशमा उत्पादित अलैंची,अदुवा,सुपारी कफी, मह विश्वमै गुणस्तरीय भए पनि नेपाली ब्राण्डमै विश्वबजार लाने प्रबन्ध गर्न सकिएको छैन । यही मुलुकका मौलिक विधिप्रविधिलाई नेपाली उत्पत्तिको अधिकार कायम गर्न बाँकी नै छ ।
वनसम्पदा, जलसम्पदा,मानवसंसाधन र ज्ञानमार्फत विश्वलाई नै सहयोग गरेको र गुन लगाएको देशले विश्व समाज र अन्तर्राष्ट्रिय बजारबाट लाभ लिन सकेको छैन । सामुदायिक वनको विकासले मुलुकको ४५ प्रतिशत भूमि ढाकेको भए पनि जनताले वनको प्रतिफल पाएको छैन । बरु उल्टै विदेशबाट आयातित काठ किन्न बाध्य छ । स्रोतसाधन थुनेर राख्ने परको साधनलाई देशको बजार दिने यो कस्तो आर्थिक नीति ? यसबाट मुलुक समृद्ध हुने कसरी ? कृषि,वन जलस्रोत,पर्यटन,उद्योग,नेपाली कला र प्रविधिका क्षेत्रमा प्राथमिकता तोकी उन्नतिको गति भर्ने प्रगतिको पथ बन्ने कहिले होला ?
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा वर्षेनि धेरै खेलाडी बाहिर जान्छन् भाग लिन्छन् । घरका पाठापाठी बेचेर जमिनको राजश्व तिरेका जनताको कर संकलन गरी राज्यले कतिलाई खेल्न पठाएको छ । आशा पनि गरिएको छ । तर उपलब्धी उति सारो उच्च हुन सकेको छैन । बरु हल्लै नगरी खेल्न गएका बडीबिल्डर महेश्वर महर्जनले नाक राखेर आए । मौलिक खेल कलामा नेपाली सपुत सफल हुन्छन् र प्रतिष्ठा भित्रयाउँछन् भन्ने मनन गरेर खेलकुदको आयोजना गर्ने, स्वदेशी कलासंस्कृतिमाआधारित चलचित्र बनाउने त्यसकै आधारमा प्रतिष्पर्धा गर्ने गर्दा देशको चिनारी विश्वमा पुग्छ । अर्काको पछि लागेर हिड्दा हाम्रो भन्दा उसकै हित प्रतिध्वनित हुन्छ । स्वदेशको शैलीमा युगसापेक्ष विकासको खाका कोर्नु आजको आवश्यकता हो । यसको परिपूर्तिमा आगामी वर्ष सबैको ध्यान जान सकोस् यी नै विगत वर्षको बिदाई र आगतको स्वागतमा बोलिने शुभकामनाका शब्द हुनसक्छन् ।
यसमा दूरगामी दृष्टि राखेर राष्ट्रको सत्व जोगाउने कसले ? जानेर पनि सत्तारथिहरुले यसमा लत्त छाड्दै गएकोमा जनता चिन्तित छ । विश्वमा आएको नयाँ परिवेशमुताबिक मुलुकको मौलिकता जोगाएर उन्नति गर्ने र संसारमा आफ्नो हित र स्थान जोगाउने अझ माथि उठाउने क्षमता भएको राज्यनेतृत्व र राष्ट्रियहाँक हेर्न नेपाली नागरिकले भोलि नयाँ क्षितिज उघ्रिने आशा गर्दैछन् । ठूला ठूला प्राकृतिक परिवर्तनले यस्ता उघार ल्याउँछन् । वार्षिक कालखण्डले पनि त्यो दिनको झल्को ल्याउन सक्छ । आउँदै गरेको नयाँ वर्ष सन् २०१९ ले त्यसतर्फको उज्यालो दिन्छ कि भनेर देशदुनिया बाटो हेरी बसेको छ ।
(नारायण, जनता टेलिभिजनमा तीर्थ पर्यटन कार्यक्रमका प्रस्तोता निर्माता हुनुहुन्छ)