राजकुमार जैन ‘राजन’
एउटा जङ्गल थियो । त्यो जङ्गलमा सबै जनावरहरु खुसीसाथ रमाइलो मानेर बस्दथे । सबै एकअर्कालाई धेरै माया गर्दथे । पुन्टे खरायो धेरै बुद्धिमान् थियो । सबैले उसलाई माया गर्दथे ।
जङ्गलको एकतर्फ दलदल थियो । दलदलको चारैतिर फलका रुखहरु थिए । दलदलको नजिकै कोही पनि जाँदैनथ्यो । एक दिन स्कुल बिदा थियो । माने बाँदर, चम्पा स्याल, गोफ्ले लोखर्के र पुन्टे खरायो खेल्दाखेल्दै दलदलतिर गए । दलदलको चारैतिर भएका फलका रुखमा लटरम्म फल फलेका थिए तर दलदलका कारण ती फल टिप्न त्यहाँ कोही पनि जाँदैनथ्यो । पाकेका फल देखेर मानेको मुखमा पानी आयो । उसलाई फल खान मन लाग्यो । ऊ हत्तपत्त रुखमा चढ्यो । पुन्टे, चम्पा र गोफ्लेले उसलाई त्यहाँ नजाऊ, खतरा छ भनेर कति सम्झाए तर उसले कसैको पनि कुरा मानेन ।
रुखमा चढेर ऊ फल टिप्दै तल फाल्न थाल्यो । ऊ चढेको रुखको हाँगोभन्दा केही तलको हाँगोमा मौरीको घार थियो । उसले फल फाल्दा अचानक एउटा फल मौरीको घारमा लाग्यो । फलले लाग्नासाथ मौरीहरु घारबाट निस्किएर उसलाई चिल्न थाले । मौरीहरुले चिल्दा मानेलाई असाध्यै दुख्यो । ऊ छट्पटाउँदै यता उता गर्दै उफ्रिन थाल्यो । यसो गर्दा रुखको हाँगा समातेको उसको हात फुत्कियो र ऊ तल दलदलमा खस्यो । उसको कम्मरसम्म दलदलमा भासियो । ऊ आफ्नो हालत देखेर रुँदै ‘बचाऊ ... बचाऊ’ भन्दै चिच्याउन थाल्यो ।
मानेलाई दलदलमा खसेर भासिँदै गएको देखेपछि पुन्टे, गोफ्ले र चम्पा स्तब्ध भए । गोफ्ले र चम्पा त आत्तिएर रुन थाले । मानेले दलदलबाट निस्किनलाई हातखुट्टा चलाउन थालेको देखेपछि पुन्टे चिच्यायो–‘माने ! हात खुट्टा नचलाऊ । त्यसो ग¥यौ भने दलदलमा झनै भासिने छौ ।’
पुन्टेको कुरा मानेर मानेले हात खुट्टा चलाउन छोड्यो । यो आपतबाट बाहिर कसरी निस्किने भनेर चम्पा र गोफ्लेले त केही सोच्नै सकेनन् । तर पुन्टेको दिमागले काम गरिरहेको थियो । एकाएक पुन्टेको दिमागमा एउटा विचार आयो अनि उसले चम्पा र गोफ्लेलाई मानेका बाँदर साथीहरुलाई बोलाउन पठायो ।
केही समयमा नै धेरै बाँदरहरु आएर दलदलको नजिकै उभिए । पुन्टेले उनीहरुलाई मानेलाई दलदलबाट बाहिर निकाल्ने आफ्नो योजना बतायो । पुन्टेको योजनाअनुसार दलदलको किनारको लचिलो हाँगा भएको अग्लो रुखलाई छानियो । सबै बाँदरहरु एक एक गरेर त्यो रुखमा चढे । बाँदरहरुको बोझले रुखको हाँगो लच्कियो । लच्किएको हाँगाको टुप्पो दलदलमा भासिएको मानेको टाउकोमाथि पुग्यो । हाँगो लचिलो भएकाले यसरी लच्किँदा पनि भाँचिएन ।
पुन्टेले मानेलाई रुखको हाँगो समाउन भन्यो । मानेले दुई हात उठाएर आफ्नो टाउकोमाथि लच्किएर आइपुगेको रुखको हाँगोलाई बलियोसँग समायो । मानेले हाँगो समाएपछि बाँदरहरु एक एक गर्दै रुखबाट ओर्लिए । बाँदरहरुको भारले नुहेको रुखको हाँगो बाँदरहरु ओर्लिएपछि हलुका भएर सिधा भयो । रुखको हाँगोसँगै माने पनि दलदलबाट बाहिर आयो र रुखबाट तल ओर्लियो । रुखबाट ओर्लिनासाथ मानेले दौडिदै गएर पुन्टेलाई अँगालो हाल्यो ।
केही बाँदरहरुले पुन्टेलाई आफ्नो काँधमा बोके अनि सबैले ‘पुन्टे जिन्दाबाद !’ भन्दै नारा लगाए । यसरी पुन्टे खरायोको जुक्ती र बुद्धिले गर्दा माने बाँदरको ज्यान बच्यो ।
अनुवादः सुमी लोहनीभाटभटेनी, काठमाडौं