इतिहासमै दुई तिहाइको शक्तिशाली सरकारले सत्ता सम्हालेको १० महिना पुगेको छ । अर्थतन्त्र मजबुत छैन । विकास र परिवर्तन उतिसारो हुनसकेको छैन । तर पनि यसबीच सरकारले थालेका केही नयाँ प्रयासलाई वर्षको उपलब्धीको सूचीमा राख्दा दुई मत नहोला ।
धेरै अपेक्षाकाबीच भएका थोरै उपलब्धीलाई सकारात्मक कदमका रुपमा लिन सकिन्छ । अस्थिर राजनीतिले मुलुकको विकास उतिसारो हुन नसक्दा स्थिर सरकारबाट विकास र समृद्धिको अपेक्षा गर्नु स्वाभाविक हो । समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनामा रुमल्लिएको सरकारको ठूलै आँट जुटाएर चालेको सकारात्मक कदम अर्थात् योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम । वर्षको अन्त्यतिर ल्याइएकोे योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणापछि श्रमिक वर्गमा आशाको दीप बलेको छ । वर्षौँसम्म अरुको सेवामा जीवन खर्चिएका श्रमिकका लागि यो कार्यक्रमले धेरै तवरबाट सुरक्षा प्रत्याभूति गराउने आशा पाएको छ ।
यही अपेक्षाअनुरुप उत्पादन र सेवामा प्रत्यक्ष वा अप्रत्यक्षरुपले संलग्न श्रमिक वर्गमा उत्साह थपिएको छ । अधिकांश जनसंख्या श्रममा आधारित नेपालका लागि यो कार्यक्रम वरदान झैँ नहुने कुरै भएन । त्यसैले श्रमिक वर्ग मात्रै होइन, आमनागरिकमा कार्यक्रमको घोषणाले ऊर्जा थपेको छ । यसरी लामो समय अरुकै सेवामा समय खर्चिएका श्रमिक वर्गका लागि सरकारको यो कार्यक्रमले समृद्ध मुलुकको नागरिक हुनुको परिचय बटुल्न सहयोग गर्ने अपेक्षा आमजनताको छ ।
शहरकेन्द्रित जनसंख्या वृद्धि, सार्वजनिक सवारी धनीको मनोमानी र सडकको दुरावस्थाको शिकार बनेका जनतामा सिन्डिकेट अन्त्य गर्ने घोषणाले अर्को उत्साह थप्यो । पटकपटकको सरकारी आश्वासन जनतामाझ विश्वसनीय नै बन्यो । कतिपय स्थानमा जनताले प्रत्यक्ष लाभ पाउने गरी नै परिवर्तन देखिए । सबैखाले सवारी व्यावसायलाई कम्पनीमार्फत् करको दायरामा ल्याउने सरकारी घोषणा र प्रयास सकारात्मक पक्ष हो । यद्यपि यसको पूर्ण कार्यान्वयनको पाटो हात्ती छि¥यो पुच्छर अड्कियो भनेझैँ भएको छ ।
[caption id="attachment_45605" align="alignright" width="150"]
–अस्मिता रिजाल[/caption]
पर्यटन प्रवद्र्धनका लागि सरकारले चालेको अभियानको प्रशंसा गर्न सकिन्छ । सरकारले सम्भावना बोकेको कतिपय स्थानको प्रवद्र्धन गर्न पर्यटकीय गन्तव्य छुटाए पनि त्यसको आवश्यक प्रचारप्रसारमा सरकार लागि परेको देखिन्छ । सांस्कृतिक र धार्मिक सम्पदा पुनर्निर्माणमा यसवर्ष देखिएको तदारुकता हौसलाको पाटो हो । सन् २०१८ मा भक्तपुर क्षेत्रका अधिकांश सम्पदा पुनर्निर्माण भइसक्नु, काष्ठमाण्डप, धरहरा र रानीपोखरीजस्ता सम्पदा पुनर्निर्माणको टुंगो लाग्नु उपलब्धी मान्न सकिन्छ । ऐतिहासिक नगरी ललितपुरको पाटन क्षेत्र यसै वर्ष विश्वकला शहरमा सूचीकृत हुनु अर्को एउटा गौरवको विषय हो । त्यसैगरी, यसैवर्ष नेपालमा चिनियाँ पर्यटक अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भित्रिएको पर्यटन बोर्डको तथ्यांक छ । यसले सरकारको दिगो विकास लक्ष्यमा पर्यटनको योगदानलाई बढावा दिने विश्वास गर्न सकिन्छ ।
नयाँ संविधानले गरेको स्थानीय तहमा न्यायिक समितिको व्यवस्थाले यही वर्षदेखि मूर्तरुप पायो । प्रत्येक नगरपालिकामा महिला उपमेयरको नेतृत्वमा रहने यो समितिले महिलावर्गलाई विशेष राहत आभाष गरायो । यसले हिनताबोधका कारण समाजमा लुकेका घटना उजागर हुने मौका जुरायो । अधिकांस स्थानीय तहमा न्यायिक समितिको काम कारबाही प्रभावकारी देखिन थालिसकेको छ । यद्यपि महिला हिंसाका घटनामा न्याय दिलाउन सरकार पटकपटक चुकेको प्रस्टै छ ।
नेपाल र नेपालीले पाएको राजनीतिक र सामाजिक परिवर्तन वास्तवमै उल्लेखनीय छन् । सरकारी र सामाजिक क्षेत्रबाट थालिएका प्रयासमा चुनौती पनि छ । तर असम्भव केही छैन । सबै क्षेत्र आआफ्नो तवरबाट घोषणा कार्यान्वयनमा जिम्मेवार र इमानदार ढंगले अघि बढ्ने ढोका पक्कै खुल्नेछ । चाहे त्यो राज्यको तवरबाट होस् या अन्य तवरबाट ।
समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न सबै पक्षको उत्तिकै दायित्व हुन्छ ।