काठमाडौं । डा. युवराज संग्रौलाको पुस्तक ‘साउथ एसिया चाइना जिओ इकोनोमिक्स’ चार भाषामा प्रकाशन हुने भएको छ । अंग्रेजी भाषामा प्रकाशित पुस्तक चिनियाँ, उर्दू र नेपाली भाषामा पनि प्रकाशन हुन लागेको छ ।
संग्रौलाको पुस्तक नेपाली भाषामा भने जनता प्रसारण तथा प्रकाशन लिमिटेडबाट प्रकाशन हुने भएको छ । पुस्तक छिट्टै प्रकाशन हुने बताइएको छ । यसअघि जनता प्रसारण तथा प्रकाशन लिमिटेडबाटै संग्रौलाको चर्चित पुस्तक ‘निसंकोच अभिव्यिक्ति’ प्रकाशन भएको थियो ।
चार आरोपको ६ जवाफलेखक संग्रौलाले पुस्तक प्रकाशन भएपछिका केही अनुभव र प्रतिक्रिया सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ । उहाँले लेख्नु भएको छ, ‘पुस्तक प्रकाशित भएपछि खुशी लाग्यो । पाकिस्तानबाट उर्दूमा अनुवाद भएर मार्चमा इस्लामावादमा विमोचन हुँदैछ। चिनियाँ कम्पनीलाई चिनियाँ भाषामा निकाल्ने स्वीकृति दिएँ । एउटा शिक्षक जस्ले जिवनमा अध्यापनलाई मिसन बनाएको छ, उसलाई किताबले पाठक पाउनु नै जीवनको सफलता हो । जसले किताब पढिदिन्छ ऊ लेखकको विचारसँग सहमत होस् वा नहोस् उ लेखकको मलामी हो । उसले मर्दा मलामी नगए पनि मलामी गएको ठहर्छ।’
संग्रौलाले अंग्रेजीमा पुस्तक प्रकाशनपछि मेसेन्जरबाट थुप्रै प्रतिक्रिया आएको बताउँदै फेसबुकमा ४ आरोप उल्लेख गर्नु भएको छ ।
१. कुनै विदेशबाट एकजना नेपाली महिलाले भाइबरमा फोन गरेर थर्काइन् । भनिन् तँ एमालेको मानिस होस्, केपी ओलीको दास होस् ।२. एक जनाले फेसबुकमा कमेन्ट लेख्यो, यो सिआइए को सन्दिग्ध हो ।३. एकजनाले लेख्यो, यो क्रिस्चियनको विरोधी हिन्दू अतिवादी रहेछ।४. केही मान्छेले एकजना मन्त्रीज्यूलाई त्यो त विप्लवको मान्छे हो भनेछ्न् ।
आरोपहरुमा संग्रौलाले जवाफ दिनु भएको यसरीःम को हूँ ? तपाईंलाई जे लागोस् । लेख्ने मेरो आधिकार हो । बोल्ने मेरो अधिकार हो।
सुन्नुहोस्, म को हूँ१. म यो देशलाई आमा ठान्ने मानिस हूँ । मेरो पहिचान मेरो मातृभूमिसँग जोडिएको छ । मेरो नेपाली अस्तित्व मेरो देशको अस्तित्वसँग जोडिएको छ । यो देशले आफ्नो रक्षाका लागि मेरो बलिदान माग्छ भने हासिहासी दिन्छु । म देशभक्त हूँ । मागेर खान्छु तर यो देशमै बस्छु। म आफूलाई हिन्दू हूँ भनेर गीत गाएर हिँड्दिनँ, तर म हिन्दु ग्रन्थमा ज्ञानको भण्डार पाउँछु र सिक्छु ।
२. म समाजवादमा विस्वास गर्छु । म गरिबका पक्षमा बोल्छु । म अन्यायमा परेकाको पक्षमा बोल्छु । म भेदभावविरुद्ध बोल्छु । म समाज र सभ्यताले निर्माण गरेका मानवीय संस्कृति र मान्यताका पक्षमा बोल्छु । म मानवीय सद्भभावमा विश्वास गर्छु । पूर्वीय दर्शनमा यस्ता मूल्य छन्, छाति ठोकेर भन्छु, ‘म पस्चिमीकरणलाई आधुनिकता मानी पूर्वीय सभ्यतालाई परम्परावाद मान्दिनँ । खराबी दुवैतिर होलान । तर म पूर्वीय दर्शनमा मानवताका सिद्धान्तहरु भेट्छु । कसैले त्यसको अपभंश गर्छ भने त्यो दर्शनको समस्या होइन । म बुद्धको मध्यमार्गको विद्यार्थी हूँ । म मुन्धूम किराँत धर्मको प्रकृतिवादको विद्यार्थी हूँ । म जातले बाहुन हूँ सभ्यताले किराँत हूँ ।
३. म समाजवादी लोकतन्त्रमा विश्वास गर्छु । म हरेक समाजले आफ्नो लोकतान्त्रिक प्रणाली विस्वास गर्न पाउनु पर्छ भन्ने मान्यता राख्छु । लोकतन्त्रको एउटै मान्यता छैन भन्ने मान्छु । संसारमा अमेरिकी, बेलायती, फ्रेन्च, स्केन्डेनेभिएन, चिनियाँ, भारतीय, कोरियाली स्टाइलका लोकतन्त्र छ्न् । नेपालले पनि आफ्नो लोकतन्त्र निर्माण गर्नु पर्छ, यो मान्छु । त्यो लोकतन्त्र समाजवादी लोकतन्त्र हो, जनताको लोकतन्त्र हो हो भन्ने ठान्छु । राज्य जनताको मालिक होइन, जनता राज्यका मालिक हुन् । चाणक्यको यो भनाइ भन्दा अर्को राजनीतिक सत्य छैन ।
४. नेपालमा ८० प्रतिशत जनता गरिब छ्न् । विश्व बैंकका तथ्यांकको जादु र चटक देखाएर १८ प्रतिशत मात्र गरिब छन् भनी मदारीको भाषण गर्ने र गरिबलाई सुंगुरका पाठा बाँड्ने नवउदारवादी र बन्दुकले दुनियाँ बदल्छ र गरिबलाई धनी बनाउँछ भन्ने गफाडी म होइन। मसँग के ठीक र के बेठीक छुट्याउन सक्ने सोच, सिद्धान्त र दर्शन छ । त्यसैले कपाल रंग्याएर पस्चिमी हुने र अमेरिका युरोपको नक्कल गर्ने उपनिवेसी मानसिकता भएकाका आलोचना र मन्त्रीलाई कुरा लगाउने टिकेहरुसँग मेरो कुनै सरोकार छैन ।
५. अन्तरवार्ता हेरेर सरकारको दास रहेछ भन्नेहरुलाई पनि जवाफ छ । मैले प्रधानमन्त्रीका कतिपय कुरामा समर्थन गरेकै हो । नेपालमा राजनीतिक क्रान्तिको युग सकियो । ८० प्रतिशत गरिबको समृद्धि अबको अभियान हो । अब विकासको अभियान मात्र सरोकार हो । तर देशमा अनेकन खेल भइरहेका छन् । नेपाल अनेक स्वार्थको क्रीडास्थल बनेको छ । वामपन्थी अन्य सबै पन्थीलाई राजनीति गर्न पाउने अधिकार छ । यो सरकारले काम गरे पनि विरोध हुने छ, नगरे पनि विरोध हुने छ । यो सरकार लडाउनुको लक्ष अर्को अशल सरकार बनाउन होइन, देशमा अराजकता निर्माण गर्नु हो ? यो सरकार लडाएर शासन गर्न आउने को हो ? त्यसैले एउटा सचेत नागरिकको हैसियतले देशलाई अराजकतामा जान रोक्नु मजस्ताको कर्तव्य हो । त्यसकारण म सरकारले काम गर्न पाउनु पर्छ र अलोकतान्त्रिक ढङ्गले घेराबन्दी गर्नु अलोकतान्त्रिक हो भन्ने हो मान्यता राख्छु । तर म बालुवाटार छिर्न पाउनेमध्यको होइन ।
६. सत्तालाई घिनलाग्दो सत्ताको वरिपरी बस्नेले पार्छन् । जनताप्रति उत्तरदायी पनि नहुने र आफ्नो क्षमता पनि नभएकाले जागीर खान राजनीतिलाई दिग्भ्रमित पार्छन् । तर जहिले पनि शिक्षक इमानदार हुन्छन् । अहिले नेपालमा देशको पक्षमा बोल्ने र आफ्नो दुनो सोझ्याउनेबीच तिब्र अन्तरविरोध छ । आफ्नो दुनो सोझ्याउने देशका पक्षमा उभिनेलाई पछाडि धकेलेको अवस्था हो । तर पनि गरिबका पक्षमा काम गर्न सहयोग गर्नु नागरिकको कर्तव्य हो । सरकारको आलोचना गर्नु पनि नागरिकको कर्तव्य हो ।
संग्रौलाले भन्नु भएको छः हामीले काम गर्न जानेनौँ भने देशले दुर्भाग्य भोग्ने छ । अचम्मको कुरा त के छ भने एउटै कुवाको पानी पिउने मानिस नेपालमा कोही बन्दुक बोक्ने छ्न्, कोही भगवानको पूजा गर्ने छ्न्, कोही के कोही के अनेक छ्न् । रुप फरक छ्न्, अभिस्ट एउटै छ्न् । उनीहरु देश भांडमा गए पनि आफ्नो फाइदा हेर्छन् । राजनीतिक माफिया, व्यापारी, माफिया, भ्रष्टाचारी, बिखन्डनवादी र रोमान्टिक क्रान्तिबाट देशलाई कसरी जोगाउने होला ? यी सबैलाई आशीर्वाद दिने प्रभुहरु छ्न् । म एउटा नागरिक हूँ । मलाइ मेरो देशको चिन्ता छ । मेरो पहिचान यति नै हो ।