इलाम। माइजोगमाइ गाउँपालिका र सोही ठाउँको विद्यालयबीच उच्च अदालत इलाममा एउटा मुद्दा विचाराधिन अवस्थामा रहेको छ । माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई र गाउँ कार्यपालिकालाई विपक्षी बनाएर माईजोगमाई ३ स्थित नामसालिङ माविको विद्यालय व्यवस्थापन समितिले उच्च अदालतमा मुद्दा दायर गरेको हो ।
समितिको कार्यकाल नसकिँदै अर्को व्यवस्थापन समिति गठन गर्नका लागि गाउँ कार्यपालिकाले आपैmँ अभिभावक भेला गराउन पत्राचार गरेको भन्दै व्यवस्थापन समितिले मुद्दा हालेको हो । समितिले अदालतमा मुद्दा दायर गरेपछि अदालतबाट तत्काललाई अर्को ब्यवस्थापन समिति गठन कार्य रोक्ने आशयसहितको अन्तरिम आदेश भएकाले अभिभावक भेला भएपनि व्यवस्थापन समिति गठन कार्य स्थगित गरेको छ ।
यसअघि गाउँपालिका अध्यक्ष जीतबहादुर राईले हस्ताक्षर गरेर पुष १७ गते विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागि अभिभावक भेला बोलाउनु भएको थियो । उक्त पत्र अभिभावकका घरघरमा पुग्न थालेपछि समितिका अध्यक्ष योगेन्द्र पौडेलले उच्च अदालतमा आप्mनो कार्यकाल नसकिँदै अर्को समिति गठन गर्न लागिएको भन्दै मुद्दा दायर गर्नुभएको हो । अदालतले १७ गते नै पेशी तोकेर दुवै पक्षलाई बोलाएपछि अभिभावक भेला सम्पन्न हुन सकेन । पौडेल अध्यक्ष रहेको व्यवस्थापन समितिको यो दोस्रो कार्यकाल हो । पछिल्लोपटक २०७३ फागुनमा समिति गठन गरिएको समितिका पूर्व अध्यक्षसमेत रहेका सदस्य रमेश सुबेदीले बताए । हालको शिक्षासम्बन्धी ऐनकानुनमा समितिको कार्यकाल तीन वर्षको रहने ब्यवस्था भएकाले समितिले उक्त दाबी गर्न पाउने उनले बताएका छन् । अध्यक्ष पौडेल र विद्यालयका प्रधानाध्यापक प्रदिप देवसँग फोन सम्पर्क हुन सकेन ।
सदस्य सुवेदीले अहिलेको व्यवस्थापन समितिका आपूmहरु र प्रधानाध्यापक देवसमेत अन्य नामसालिङबासी मिलेर विद्यालयलाई नमुना विद्यालय बनाउन सफल भएको र त्यसवापत् चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ विद्यालयलाई मन्त्रालयले उपलब्ध गराएको बताउनुभयो । उनले यसअघिकै सरकारको पालामा ब्यवस्थापन समितिले प्रस्ताव तयार गरेर मन्त्रालयमा पेश गरेर नमुना विद्यालयको पहल गरेको सुनाए । उहाँले भन्नुभयो, ‘मसहितको टोली गएर केबी सर (कांग्रेस नेता कुलबहादुर गुरूङमार्पmत) तत्कालिन शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई भनेपछि र अन्य साथीहरुले पनि आ–आप्mनो ठाउँबाट लागेपछि विद्यालय नमुना बनेको छ ।’
शिक्षा मन्त्रालयले इलामका चारवटा विद्यालय नमुना घोषित गरेमध्ये नामसालिङ एक हो । योबाहेक सूर्योदय नगरपालिकास्थित फिक्कल मावि, देऊमाई नपास्थित जीतपुर मावि र माईजोगमाई गापाकै अमरकल्याण मावि पनि नमुना विद्यालय बनेका छन् । सबै विद्यालयलाई तीस लाखका दरले उपलब्ध गराइएको छ । गाउँपालिकाका प्रमुख जीतबहादुर राईले भन्नुभयो– स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्थाअनुसार गाउँपालिकाभरका अन्य सबै विद्यालयमा गएको साउनमा नयाँ व्यवस्थापन समिति गठन गरिए पनि त्यस विद्यालयमा अर्को समिति गठन गर्न अटेर गरियो । उहाँले समितिले विद्यालय चलाउन नसकिरहेको गुनासो आएको, सबै अभिभावकको मर्मअनुसार समिति गठन गर्न आवश्यक देखिएको, विद्यालयको पढाई खस्किँदै गएको, गाउँपालिकाबाट विद्यालय अनुगमनका क्रममा समितिको लापरबाही देखिएको कारण अर्को गठन गर्न खोजिएको बताउनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ मा गाउँपालिकालाई विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन र नियमन गर्ने देखि विद्यालय व्यवस्थापन समिति गठन तथा ब्यवस्थापन, विद्यालयको गुणस्तर अभिबृद्धि, शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान, शैक्षिक कार्यक्रमको समन्वय र नियमन जस्ता अधिकारको व्यवस्था गरिएको छ । व्यवस्थापन समितिले भने तत्कालका लागि आपूmहरुले विद्यालयको हितमा काम गरिरहेको, कार्यकाल नसकिएको र हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि विद्यालयको मुद्दा रहेको कारण तत्काल अर्को समिति गठन नहुने जनाएको छ । यता प्रमुख राईले भन्नुभयो तत्काललाई अर्को समिति गठन कार्य रोकिएपनि विद्यालयको बैङ्क खाता रोकिएको र समिति सकृय नरहेको बताउनुभयो ।