नम्रता बानियाँकाठमाडौं । गृष्मा ब्रोडकाष्टिङले सातै प्रदेशमा ‘सिएमसी सप्तरंगी, अ म्युजिकल जर्नी–२०१९’ सांगीतिक कार्यक्रम गर्ने भएको छ । कम्पनीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सातै प्रदेशमा विभिन्न कलाकार र खेलाडीको सहभागितामा सप्तरंग सांगीतिक कार्यक्रमको गर्ने जनाएको हो । माघ १८ देखि फागुन २ गतेसम्म हुने संगीतिक कार्यक्रमले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको दाबी छ । देशका सातै प्रदेशमा आयोजना हुने कार्यक्रममा सात कलाकरले प्रस्तुति दिनेछन् । ‘सात प्रदेश र सात हामी’ नाराका साथमा शुरु हुने यस कार्यक्रमको मुख्य उद्देश्य सद्भाव र ऐक्यवद्दताका लागि भन्ने राखिएको छ ।
कार्यक्रम प्रदेश १ अन्तर्गत झापाको दमक, प्रदेश २ अन्तर्गत जनकपुर, प्रदेश ३ अन्तर्गत नारायणघाट, गण्डकी प्रदेशको पोखरामा प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा हुने बताइएको छ । कार्यक्रममा रामकृष्ण ढकाल, प्रमोद खरेल, इन्दिरा जोशी, पशुपति शर्मा, कलाकार सन्दीप क्षेत्री, अञ्जली अधिकारी र खेलाडी दीपक विष्ट सहभागी हुनेछन् । सांगीतिक यात्राको अफिसियल मिडिया पार्टनर जनता टेलिभिजन रहेको छ ।
कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्माले गीत गाउनेछन् भने मोडल अन्जली अधिकारीले नृत्य प्रस्तुत गर्नेछिन् । कमेडियन सन्दीप क्षेत्रीले उपस्थित दर्शकलाई हसाउँदा खेलाडी दीपक विष्टले आफ्नो खेल दर्शकलाई देखाउनेछन् ।
यो कार्यक्रम माघ १८ गते झापाको दमकबाट सुरु हुनेछ । यसपछि, माघ २० गते जनकपुर, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरामा हुनेछ । कार्यक्रममा उपस्थित हुन दर्शकले कुनै शुल्क तिर्नु नपर्ने आयोजकले जनाएको छ ।
‘सात प्रदेशलाई चिनाउन र त्यहाँका पर्यटकीय स्थान प्रचार गर्न कार्यक्रम आयोजना गरिएको हो’, आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले भन्नुभयो, ‘हामीले आर्थिक लाभका लागि कार्यक्रम गर्न लागेका होइनौँ । हामीले सातै प्रदेशका जनताबीच आपसी सद्भाव र सामिप्यता बढाउन र पर्यटकीय हिसाबमा पनि सातै प्रदेशको प्रचार गर्न कार्यक्रम गर्न लागेका हौँ ।’
त्यस्तै, कार्यक्रममा उपस्थित कलाकारले पनि यस्तो कार्यक्रममा जोडिन पाउँदा खुशी लागेको बताए । उनीहरुले आआफ्ना तर्फबाट कार्यक्रम राम्रो गर्न लागिपर्ने प्रतिबद्धता जनाए ।